Tuesday, October 12, 2010 at 11:39pm
बैँशालु तिप्लिङ्ग डाँडाको माथि टुप्पोबाट
जीवन-अध्यायको
सर्बाधिक
मग्मगाउँदो
जग्मगाउँदो
सिङ्गमर्मरे ढुङ्गो टेकेर
'म'
बताससंगै बत्तिँदै
'तिम्रो'
सुरम्य
सुक्सुकाउँदो
जिन्दगीको फाँटमा
झ्वाम्म हाम् फालुँ?!
त्यहाँ कोमल पाउ
दर्फर्याउने तिखा ढुङ्गा छन् कि!
कतै फिर्फिरे निर्दोष आँचल
कोतर्ने घोप्टे काँडा छन् कि!
या भुइँ टेकिनै आँट्दा हावामै अल्झाउने
आकाशबेलिका लहरा जेलिएका छन् कि!!
छैनन् भनेर सुसेली मा खबर पठाउ त!
नत्र यतै चुल्बुले शिरिषको हाँगो टेकेर
खुत्रुक्क झर्छु,
झरुँ??!
एकपोल्टो उमङ्ग
उकुसमुकुसको फेरोमा पोकोपारेर
'म' समयको बुइँ बाट
कौतुहलको बादल टेकिसकेको छु,
यो समयको बुइँ नउम्किँदै,
यो कौतुहलको बादल नफाट्दै
मैले तिमीलाई भेट्नुछ
जीवनको सुरम्यतामा ,,,
भन न!!
हाम् फालुँ?!
भन ल!
स
म
य
को बुइँ नउम्किँदै ल!!
समयको बुइँ नउम्किँदै
दिप्स शाह on 10:13 AM