घाम नडुब्दै भेट्नु है सखी!!

घाम नडुब्दै भेट्नु सखी!
अन्धकारको के भरोसा
जहाँ छाँया समेत मेटिन्छ
त्यहाँ मायाको कती ग्यारेन्टी होला??
घामको बैजनी किरण
तिम्रो मुहारमा पोतिँदाको आभा
दुइआँखा भरि भरि नियालेर
म त्यही आक्रिती मनको क्यानभासमा कोर्न सकुँ
ताकी जिन्दगीका भयानक अन्धकारमा पनि देखिरहुँ
तिमीलाई झल्मल सम्झनाको नियास्रो नेपथ्यमा,
याचनै सम्झ बरु तर बिन्ती!
घाम नडुब्दै भेट्नु सखी!
अन्धकारको के भरोसा??

आजका लालिगुराँसे पलहरुले
भोली विगत बनेर अवस्य चिमोट्नेछ
चाउरिएका खुजुमुज्जे हृदयका भित्ताहरुमा,
उसबेला सम्झनाका भर्र्याङ्गमा
खुट्किला टेक्तै टेक्तै
यिनै सिम्रिके घटनालाई वैशाखी बनाउँला
उसोर वैशाखीले अंधेरोमा पनि हिँड्न सघाउला
तर वैशाखी बनाउने त उज्यालो मै हो नि !
त्यसैले बिन्ती !
घाम नडुब्दै भेट्नु सखी!
दिनकै उज्यालोमा वैशाखी बनाइसक्नुपर्छ
अन्धकारको के भरोसा?!

नजानेको भोली
नदेखेको उज्यालो
नभोगेको आनन्द
भैगो उही अनिश्चित आगतका पोल्टामा राख भो,
जिन्दगीको भर्भराउँदो पलहरु
कोपिलाका याम जस्तै न हुन्
अनी हुन यि ताजा मौसमी झोँका
कि त उडन्ते चराका बथान जस्तै
रुखका लच्किने हाँगा बुढीएपछी छाडेर
हरियाली मौसमका आयाम भेट्न भुर्र्रत उडेर पारी लागेझैँ
सपनाहरुले रहरको झोलुङ्गे तरेपछी
जिन्दगीको तारेभिर खङ्ग्रङ्ग पर्छ नै
त्यो सुष्क अंध्यारो कहरमा
कुन मायाको बिरुवा रोप्नु!
त्यसैले,
घाम नडुब्दै भेट्नु सखी!
मलाई भोलिको पटक्कै भर लाग्दैन
सखी! अन्धकारको के भरोसा?!
घाम नडुब्दै भेट्नु है सखी!!

सिकायत

Tuesday, October 5, 2010 at 10:22pm

आउ सुन सिकायतहरु
मेरो सिकायत
उस्को सिकायत
हाम्रो सिकायत
आउ सुन,आउ!
आउ मशाल बालेर
औलाका टुप्पाहरुमा!!

कसैको झुपडी दहनमा
खेरफाल्ने आगाका लप्काहरुले
आफ्नै अध्यारो खोपामा
दियालो किन सल्काउँदैनौ??
उज्यालो युगमा
अन्धकार मगज बोकेको मान्छे तिमी!!
खोपडिको अध्यारोले आँखाको ज्योति ढाकिरहेछ
तिमी देख्नै सक्दैनौ ,,

मानविय सम्बेदनाभरि
एक जोडी ओठ तन्किंदा
हृदयको घडा छचल्किएर
जिन्दगीको मुस्कान छरिनुपर्ने हो
तर,
तर तिमी जलन हाँस्छौ
तिमी इर्ष्या र क्षोभ हाँस्छौ
तिमी षड्यन्त्र हाँस्छौ
ओठका कलेटीहरुमा
सहानुभूतिको लिउन लेपेर,
अनमोल खुशीहरु तिम्रै छातीमा डढिरहेछ
तिमी हाँस्नै सक्दैनौ,,

सभ्यताको फराक फाँटमा
गर्हा,सुर्का र डिलैभरि
अनी यताउताका कान्लाकुन्लिमा
मानव विश्वासको बेर्ना रोपेपछी
आत्मियताको लालिगुराँस फक्रिनुपर्ने हो
तर तिमी स्वार्थ सिँच्छौ
तिमी द्वेषको झरी बर्षाउँछौ
प्रतिशोधको पानी बोट बोटमा पुर्याउँछौ
भरोसाको हजारीमा भरेर,
दौँतरी भावनाहरु तिम्रै करेसामा कुहिरहेछ
तिमी फक्रिनै सक्दैनौ,,

अनी सम्झ ,,अझ
सिकायतमाथि सिकायत हुनेछ
भैरहनेछ
अझै धेरै सिकायत ।।

समयको बुइँ नउम्किँदै

Tuesday, October 12, 2010 at 11:39pm


बैँशालु तिप्लिङ्ग डाँडाको माथि टुप्पोबाट
जीवन-अध्यायको
सर्बाधिक
मग्मगाउँदो
जग्मगाउँदो
सिङ्गमर्मरे ढुङ्गो टेकेर
'म'
बताससंगै बत्तिँदै
'तिम्रो'
सुरम्य
सुक्सुकाउँदो
जिन्दगीको फाँटमा
झ्वाम्म हाम् फालुँ?!


त्यहाँ कोमल पाउ
दर्फर्याउने तिखा ढुङ्गा छन् कि!
कतै फिर्फिरे निर्दोष आँचल
कोतर्ने घोप्टे काँडा छन् कि!
या भुइँ टेकिनै आँट्दा हावामै अल्झाउने
आकाशबेलिका लहरा जेलिएका छन् कि!!

छैनन् भनेर सुसेली मा खबर पठाउ त!
नत्र यतै चुल्बुले शिरिषको हाँगो टेकेर
खुत्रुक्क झर्छु,
झरुँ??!
एकपोल्टो उमङ्ग
उकुसमुकुसको फेरोमा पोकोपारेर
'म' समयको बुइँ बाट
कौतुहलको बादल टेकिसकेको छु,
यो समयको बुइँ नउम्किँदै,
यो कौतुहलको बादल नफाट्दै
मैले तिमीलाई भेट्नुछ
जीवनको सुरम्यतामा ,,,
भन न!!
हाम् फालुँ?!
भन ल!



को बुइँ नउम्किँदै ल!!

शायद भोलि पनि"

Monday, October 18, 2010 at 1:41pm
मेरो बागको (मैले मानेको)चुल्बुले लहरो
आकाशिँदै
बहकिँदै
पल्लो डिलको थांक्रोमा टेक्न खोज्दा
म टुलुटुलु मूकदर्शक थिएँ,
बिरोध थिएन मेरो
तर सम्मती पनि थिएन
त्यसबेला
पारी लम्केको आँकुरालाई
अंकुसे लाउन नसक्दा
खपिनसक्नु जलेको थिएँ,
जल्नु बल्नु र आँफैँ सकिनु
नियतिको यही कठघरामा
म उँघिरहेछु
उस दिन देखी
आज सम्म ..
शायद भोलि पनि.....!!।

मेरो हृदयको (मैले मानेको)एकल शप्तकोशी
उछालिँदै
इत्रिँदै
खोल्सी तिर सुटुक्क भंगालो फाट्दा
म लाचारि बिवश तटबन्ध थिएँ,
गुनासो थिएन मेरो
तर शुभेच्छा पनि थिएन
त्यसबेला
घुम्ती नाघेर उम्केको बेगलाई
बाँध हाल्न नसक्दा
हजार टुक्रामा बिभक्त थिएँ,
टुक्रिनु चोइटिनु र धुलिनु
नियतिको आरा-रेतिमा
म चिरीइरहेछु
उस दिनदेखि
आज सम्म..
शायद भोलि पनि..... !!।

बलिदानिको पराकाष्ठा
हो यो शायद
त्यागको अन्तिम घेरो
हो यो शायद
भाग्यको अम्लीसो ठिंगुरिएर दोब्रिँदा
मैले सहर्ष जीवनको झिक्रा झिक्रि बटुली
कुचोको मुठो कहिल्यै बाँध्न सकिन
फेरी पनि,
स्वनाम धन्य हुँ शायद,,
म घिस्रिँदै छु उही सुकेको बगरैबगर
म घिस्रिँदै छु ,,घिस्रिरहेकै छु ।।

//मुस्कानी फूलहरु//

जून पोखिएको शितल रात
भुइँझारको सतरञ्जामा पल्टिएर
चन्द्रज्योत्सनाले पखाल्न सकुँ
बेदनाका दागहरु,
तर नमागुँ हात फैलाएर कसैसङ्ग
दयाको पानी र उपकारका साबुनहरु।

चुक पोखिएको निस्पट्ट रात
आत्मबिश्वासको गोरेटोमा
चेतनमनको दियालो बालेर गन्तब्य खोज्न सकुँ
तर नपर्खुँ अनजान भोलिको उज्यालो,
लुटाएर आजको अमुल्य प्रहरहरु।

अवशरहरु कहिले आउन्नन् बाजा बजाउँदै
न त समयले पाइला चाल्छ बिगुल फुक्दै
जिन्दगीको छातीमा यदाकदा उम्रने सुनाखरी चुम्न
म पहिल्याउन सकुँ केवल यिनले दिने संकेतहरु
म धारण गर्नसकुँ ति सक्षम र सार्थक ज्ञानेन्द्रियहरु ।

कल्पनाको फूलबारी भन्दा
यथार्थको काँढघारी मन्जूर छ
रक्ताम्य सही
यात्राको निरन्तरतामा

हजार बार पछारिँदै फेरी उठेर,
धूलो मैलो टक्टक्याएर
अनन्त अनन्त लम्किरहन सकुँ
तर नसुस्ताउँ कतै लालचको चौतारीमा
पर्खिने समयको धर्सो तानेर,
समयका समानान्तर रेखाहरु खोइ कहाँ मिल्छन्!

स्वजीवन स्वानुभूतीमा स्वबिवेकले बाँच्नेहरु,
मानवताको करेसाबारी
हार्दिकताले सिँचेर सहभाबमा हाँस्नेहरु,
समयकै अज्ञात शिलामा युगको अक्षर खोपेर जान्छन्,

बाँच्नुको अधुरो रङञ्चमा
तिनै युगाक्षर चिनेर एक अर्को वर्णमाला थप्न सकुँ
तिम्रो मेरो र उसको हृदयको खस्रो भित्ता
सह-अस्तित्वको लेपले लिप्न सकुँ
अनगिन्ती टुक्रामा बिभक्त मनहरु
एउटै सुत्रमा खिप्न सकुँ
हाय!

प्रसन्न मान्छे मान्छेको ओठबाट बर्षिने
मुस्कानी फूलहरु
अञ्जुलीभरि टिप्न सकुँ!!!

माफ गर एन्ना!

Thursday, November 18, 2010 at 9:33pm
माफ गर एन्ना!
धेरै आफ्नै गन्थन लेखेँ,
सपनाका बिपनाका कुरा लेखेँ
तर तिम्रो रहरको कुरै लेखिन
तिम्रो आग्रह पुरा गरिन
तिमीले चाहेजस्तो
हरियो प्रक्रिती
निलो आकाश
सङ्ग्लो पानी
सेतो हिमाल
निर्दोश फूलहरु
केही लेख्दै लेखिन'
प्रकृतिले त दियो
तर स्याहार बिना हराइसकेको
अ/सुन्दर छटाको के बर्णन लेखुँ?!
म त तिमीलाई पठाउने
एक झुप्पा लालिगुराँस खोजिरहेछु।

एन्ना!
यसपाली त झन मैले केही लेख्नै सकिन
मैले हरियो लेखिन
फूल लेखिन
पात लेखिन
उत्ताउलो झरनाको छङ् छङ् लेखिन
बागमतीकै कल्कल लेखिन
बिष्णुमतीलाई त सम्झिँदै सम्झिन
एसो भन मैले लेख्ने साहस नै गरिन,
अब भो नभन मलाई
प्रकृतिको वर्णन गर्न
नगर अब इकोराइटिङका कुरा
र नगर आग्रह इकोक्रीटिसिजम बारे,
मेरो शहरले हरदिन पर्यावरण निल्दैछ
तिम्रो रहरको हरियो भूखण्डको कथा
सायदै म बाट लेखिएला,
अनुहारमा सिमेन्ट पोतेर मेरो शहर
बन्जर हाँसिरहेछ
अब भन प्रदुषित शहरमा उभिएर
म कुन मनले पर्यावरणका कुरा लेखुँ!
म त तिमीलाई उपहार दिन
एउटा हरियो पिपलको पात खोज्दैछु।


मेरो शहरले दिन रात प्रक्रिती निलिरहेको छ
अचेल मेरो सडकको किनारामा
पहिले झैँ निला शिरिष बुरुरुरु झर्दैनन्,
बटुवाको निधार छुँदै
कुनै हरिया पात खस्दैनन्
तिमी पत्याउँछौ?
एउटा बुढो लहरे पिपल ढलेर
दुर्घटना भएको सप्पै दोष
शहरका हरेक रुखमाथि लादियो
उसै दिनदेखि किनाराका
हरिया भएभरका बिरुवा आरा घोटेर काटिँदा
मलाई मुटु उखलेर फालेझैँ भएको थियो
तर,, शहरलाई भएन ,,
उसले त एक एक हरियो निल्दै रह्यो ,,,

छातीमा कङ्क्रिटको जङ्गल बोकेर
खडेरी हाँसिरहेछ मेरो शहर
अब भन ढुङ्गाको छातीमा उभिएर
म कुन शब्दको इकोराइटिङ्ग गरुँ?
म त पत्थरी जङ्गलमा कतै हराइरहेको छु।

यहाँ धुवाँले चोखो हावा निलिरहेको छ
अचेल यता कपाल हल्लाउँदै
सिर्सिरे हावा बत्तिँदैन
पिपलका पात खसाल्दै
बतास डुल्दै डुल्दैन
पर मन्दिरका दियोबाट
पवित्र धूपदीपका सुगन्ध ल्याउँदैन
बतासलाई उछिन्दै धूलाका कणले
नरम गाला खस्र्याउँछ
तिमी पत्याउँछौ??
बर्षमा आधा समय
यही धुलोले मलाई बिमारी उपहार दिन्छ
सारा शहरबासी थलिँदा
मलाई क्वाँ क्वाँ रुनुझैँ हुन्छ
तर यो शहरलाई क्यै हुँदैन
यसलाई कहिल्यै रुन आउँदैन
यसले हरदिन
हिमालबाट आउने पवित्र हावा धुलोसंग साटिरह्यो
र कालो मुस्लो छारो निल्दै ओकल्दै
प्रदुषण मुस्कुराइ रहेछ मेरो शहर
अब भन दुर्गन्ध हावा निलेर
म कुन शब्दले स्वच्छ बतासको गीत लेखुँ?
म त फोहोरको थुप्रो भित्र कतै हराइरहेको छु
माफ गर एन्ना!!
मैले यो पाली पनि
तिम्रो रहरको केही हरियोको कथा लेखिन
तिम्रो अनुरोधको प्रकृतिको केही लेखिन
मलाई माफ गर एन्ना!
मलाई माफ गर!!

मान्छे

मान्छे
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन

क्षणभङ्गुर हुन्छ फूलको याम
भन्ने जाँदाजान्दै पनि
मान्छे फूलै ओढेर निदाउन चाहन्छ
यहाँ कोही छ काँढालाई सहर्ष चुम्बन गर्ने?
व्यबहारिक जीवनमा ओठ
तन्काउनसम्म नजान्ने/नसक्ने 'हंसमुख'
दर्शनमा खित्का छोड्छ
कुरुपदर्शनको "अभाङ्गार्ड"
सुटुक्क लुकेर
सुरासुन्दरीको तस्बिरमा च्वाँक्क म्वाइ खान्छ
यहाँ कोही छ चपाइएका अनुहारमा सहृदय चुम्बन गर्ने?

मान्छेले नजानेको के होला!
थाहा छ, विश्वाशको अर्को किनारा हुँदैन
भरोसाको पुल बदली हुँदैन
जीवनको सिमसारमा हरदम संकित मान्छे
बारबार सत्यबिदुषको सपथ लिन्छ
यहाँ कोही छ आत्माको आवाज पच्छ्याउँदै
ढुक्ढुकिको निष्कपट चालमा नाच्ने?
सफलताको सिँढिबाट हरबार गुल्टिएपछी
जीतको दौडमा सयबाजी हारेपछी
पराजित आत्मा बिक्षिप्त भै चिच्याउँछ
चोकमा निस्केर घोषणा गर्छ
"मलाई जित्नु छैन!!"
यहाँ कोही छ सत्य स्विकारोक्तिमा
आत्माको इमान्दारिता ब्यक्तिँदै
पराजयको अनुभूती सविस्तार बोल्ने?

हंसिलो तस्बिरमा बर्षिने चुम्बनले
ओइलाएको हृदय स्पर्श गर्ला!!?
आँखाको दृष्यरसबै वासन्ती हुन्नन्
तैपनी मान्छे
आधा डढेको कुरुप 'कोइला जिन्दगीको'दुहाइ दिँदै
लुकिलुकी कोपिलाको रङ्ग
चोर्ने दुस्साहस गरिरहन्छ
मान्छे
कुरुप दर्शनको वकालतमा जिन्दगी लतार्दै
सुरुप अनुहारहरुको उपासना गरिरहन्छ
भुलभुलैयाको सागरमा यतै कतै
सत्य बोल्छ ,,झुट ओकल्छ
रहस्यको आकाशगंगामा रहस्यै भएर
टिल्पिल टिल्पिल गर्छ
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन
जिन्दगीको रङमञ्चमा यस्तै यस्तै गरिरहन्छ
मान्छे ,,,।।।

म सपना देख्छु जरुर


सपना देख्छु जरुर
तर सपनामै हराउँदिन
'देख्नु'र 'हराउनु'दुइका गड्तिरमा
म भित्रको "म"
हरदम चनाखो पहरा दिइरहेको हुन्छ
उडनतस्तरिको सपना नदेख्नु र नदेखाउनु!
मलाई धर्तिको चौडा छातीमा
हिलाम्य हुन मञ्जुर छ
धुलाम्य हुन मञ्जुर छ
यहिँका दर्शिन ढुङ्गामा
दर्फरिँदै रक्ताम्य हुन मञ्जुर छ
तर,
'कृपा' स्वरुपका पुष्पार्पणबाट
निलाम्य हुनुछैन ....

सपना देख्छु जरुर
तर सपनामा बग्ने गर्दिन
'देख्नु' र 'बग्नु' का भुल्काभुल्की नियाल्दै
म भित्रको "म" हरदम किनारा पच्छ्याइरहेको हुन्छ
कल्पनाको डुङ्गा खियाउँदै
स्वप्निल शयरको आश नगर्नु र नगराउनु
मलाई छेउभित्ताका
चट्टानसँग बज्रन मञ्जुर छ
खोंच र गल्छेडो हुँदै अनन्त पछ्याउन मञ्जुर छ
तर,
लालसाको त्यान्द्रोमा झुण्डिएर
मझधारमा बिलिन हुनुछैन...

सपना देख्छु जरुर
तर सपनाकै महल बनाउँदिन
सपनातित बिलास
र भोगाइका सत्य बिच
म भित्रको "म" हरदम जागै रहेको हुन्छ
ननीदाइकन चिरनीन्द्राको ढोँग नगर्नु र गर्न नभन्नु!
आँखा च्यातेरै
हृदयबिदारक दृष्यर हेर्न मञ्जुर छ
कान खोलेरै
करुण चित्कार सुन्ने धैर्य छ
तर'अनुग्रहका' मल्हमपट्टीमा
'एउटै' चोट पुर्नुछैन...

रहर गर्छु जरुर
तर रहरका बजारमा बिक्ने गर्दिन
पराधिनताको ओतमुनी
मेरा बेदना कहिल्यै नामेट हुन्नन्
यि त आफ्नै पटाङ्गीनिमा
यसै चन्द्रज्योत्सनाले पखालिन्छन्
जहाँ आमाको दुधको मुण्टो

बाबाको कर्मठ पाखुरीको सम्झना अझै ताजै छ
जसको मोलमोलाई
समयको हाटबजारमा परिस्थितीको चपेटा सँग
कहिल्यै हुनैसक्दैन..

सपना देख्छु जरुर
तर..
सपनाकै सामलतुमलका खातिर
'रगत'को सौदा गर्दिन

सपना देख्छु जरुर ...

म त देशकी छोरी हुँ

एकधरो च्यातिएको स्वाभिमान
टाल्न नसक्ने
एकपाखो उध्रिएको मन
सिउन नसक्ने
हृदयका बन्जर बगरहरुमा
सँधै जिंग्रिङ्गग क्याक्टस उमारेर
कुन मुखले माग्छौ तिमी
म संग मेरा मोतिजडित मायाका लहरीहरु??
म त देशकी छोरी हुँ
माटो छोएर तिमीलाई वचन दिन्छु
कि,,आउ!
यो एक फोक्टा कलेजो
तिम्रै नाममा नामसारी गरिदिन्छु
तर भन्न सक्छौ
तिमी भित्र देश दुख्ने छाती छ भनेर?

जिन्दगीको उकालो टेक्दाटेक्दै
पाइलाहरु बिचैमा तर्सिने
श्रमको कठिन् यात्राहरुमा चुकेर
आधिबाटै बाट फर्किने
काँतर मनको त्रसित पाखोमा
सँधै सम्भाबित दुर्घटनाको चिसो डर च्यापेर
कुन शब्दले माग्छौ तिमी
म सँग मेरा अटल विश्वासका भकारीहरु??
म त देशकी छोरी हुँ
हिमालको पानी छोएर तिमीलाई वचन दिन्छु
कि,,आउ!
यो पवित्र हृदयनै
हाँसी हाँसी सुम्पिदिन्छु
तर भन्न सक्छौ
तिमी भित्र देश धड्कने मुटु छ भनेर?

करेसामै पराइले आची गर्दो छ
सुँघेर हत्केलाले नाक पुछ्ने
गुन्युको धाँजाबाट
आमाको लाज चिहाउंदो छ
चुपचाप तर्केर
नदेखेझैँ गर्ने
बाबाको कछाड कमिजको टुक्रो
निर्लज्ज हाटमा लीलाम तोकेर
कुन हैसियतले माग्छौ
म संग कुर्मिको छाँगो झैँ निर्झर जवानी?
म त देशकी छोरी हुँ
लालिगुराँश चुमेर तिमीलाई वचन दिन्छु
कि,,आउ!
यो जिन्दगीको बहिखातामा
तिम्रै नाम लेख्छु
तर भन्न सक्छौ
तिमी संग देश बोक्ने काँध छ भनेर?

नत्र...
तिमी हेरेरै बस्नु
यो लालिगुरांशे जवानी
यो माया भरिएको मुटु
यो तराइको फाँट झैँ
सुरम्य हृदय
हिमालको पानी झैँ
कञ्चन पवित्र मनहरु
आकाश छुने गिरीझैं अटल विश्वाश
यो अंगंगमा मग्मगाएको बेलिचमेली
सिम्रिकझैँ राताम्य ओठका लालीहरु
यसै सुकिजाउन् मैले टेकेको माटोमा
तर तिमीले झैँ
स्वाभिमानी बैँश
दासतामा म कदापी लीलाम गर्ने छैन

म त देशकी छोरी हुँ
सुन्यौ??
म त देशकी छोरी हुँ।

भिड

Friday, November 12, 2010 at 7:28pm
त्यो साँघुरो रोडको धुलौटे छातीले
थेग्नै नसक्ने गन्जागोल भिडभाडमा
अंचेटिँदै घचेटिँदै
बेपर्बाह गन्तब्य भेट्न हतारिँदा
अस्तै मात्रै त हो मेरो सारीको सप्को
कुन बदमासले तानिदिएको,
भिड दर्शकमा बदलिनु अगावै
बलपूर्बक सम्हालिएर पल्लो पेटिमा पुगेपछी
नरपशुको अनुहार त चिनिन
घ्रिणा भरि दृष्टिच फ्याँके सम्पूर्ण भिडमाथि
र बाटो लागेँ मुन्टो घोस्याएर घोर अपराधी झैँ,

पन्ध्र सिटको जिर्ण माइक्रो बसमा
पैँतिस यात्रु कोचिएर
मुलाको सिन्की बिर्सँदै सम्झिँदै
भगवानको दर्शन गर्न जाँदा
हिजै मात्र त हो बाबाको कोटको खल्ती
एक असत्तीले काटिदिएको,
भिडको चेपमा देखेर पनि नदेखे झैँ गरी
माइक्रोबाट झरेपछी
असत्तीमाथि त जाइलागेनौँ
बाँकी एकसाताको सामलतुमल सम्झियौँ
र बाटो लाग्यौँ बाढि पैर्होमा सर्वस्व गुमाएको पीडित झैँ,

हाय! को यहाँ असहाय!
बाटो नाप्दै म चिच्याएँ तर मनमनै,
उफ्फ! यो भिडभाड वाहनको?
मान्छेको या अशिक्षाको??
गलत राजनीतिको या अर्थनीतिको??
गलत मान्यताको या ज्ञानको आडम्बरको??
समस्याको जड् भिड,
भिडको उपज अराजकता
अराजकताको जड् के?? मेरै -हाम्रै मौनता??

परदेशी झरी ।

भीषण हावा हूण्डरि सहितको बर्षा
अलिक थामिएको बेला
म झ्यालको फक्लेटाबाट
धुम्मिएको आकाश चिहाउँदै छु ,,,
धुमिल केही आकृतिहरु
मनमा हो
या,
बादलमा !!
ठम्म्याउन खोज्छु…
घरी घरी हुत्तिँदै 'त्यहीँ' पुग्छ यो मन
फेरी फर्केर 'यहीँ' आइपुग्छ
भाबनाको सम्बेगी लहर,
लाग्छ फेरी तुरुन्तै बादल बर्सिनेछ
फेरी आकाश दर्किनेछ
मेरै परेलिको डिल नाघेर
ओइरिने झरी जस्तो
बेसुरा र बेठेगानको !!
उफ्फ्फ्फ!
यो झरी उसैगरी बर्सिन्छ
जसरी 'त्यहाँ'असार-सावन रुन्छ
तर यहाँ 'अर्कैको' आकाशबाट झर्छ
'अर्कैको' धर्तिमा खस्छ ,,,
त्यसैले त अर्कै अर्कै लाग्छ ,,
यो परदेशी झरी ।

तिमी स्वाभिमान बुझ्दैनौ--दीप्स शाह

जून हराएका ति रात

चिसो आकाशमुनीकाखिमा

दुई मुट्ठीसिरेटो च्यापेर

म कक्रिरहेको बर्फिलो क्षण

नित्तान्त मेरै थियो

,त्यो पल ,,,मैले

तिमीसँग एक स्पर्श तातोको भिख मागिन ,,,

अनुनय गरिन

याचनाको हात फैलाइन

शायद त्यसै दिनदेखीतिमी मलाई अभिमानीभन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ ।



अहँ!

तिमीले त दयाको एक टुक्रो बर्को

मायाको जरी बेरेरदिनखोजेका थियौ ,,

मलाई छुने सप्पै सिरेटो

आँफैँ लिन खोजेकाथियौ ,,

ग्रहण गर्नु र नगर्नु

मनको दोभानमा

तिम्रो अनुदानको हात उछिनेर

एक जोर आँखा चिहाउँदा

त्यहाँ

एक भोको कपटी अजिङ्गर

दारा धस्तै थियो ,,

शायद उस क्षण मैलेतिम्रो बर्को नकारेदेखी

तिमी मलाई अभिमानीभन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ।



भोको पेट बोकेर

एकतमासले गल्ली गल्ली नाप्दै

दिन र रात फेरो मारेर

छट्पटिएको भयानक क्षण

नित्तान्त मेरै थियो

त्यो पल,मैले

तिमी सँग एक दान चारो मागिन

तिमीलाई भोक देखाइन

लाचार बनिन

शायद त्यसै बेलादेखी तिमी मलाई अभिमानी भन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ ।



मैले माया चिनिन,

मैले सत्कार चिनिन

मैले सहयोग स्विकारीन

मैले साथ मागिन

मागिन मैले कुनै याचना तिमीसँग

यस्तै यस्तै आरोप थियो तिम्रो,

मैले चुपचाप सुनिदिएँ

साँच्चै त्यसै बेलादेखी तिमी मलाई अभिमानी भन्छौ,



हो मैले लत्याएँ तिम्रा सारा प्रयासहरु

मैले नकारीदिएँ प्रस्ताबहरु

थुकिदिएँ तिम्रा अनुदानहरु

र ,,रोएँ पिडाका आँशु

तर हार मानिन,



म बाटो खोज्थेँ

तिमी गन्तब्य दिन्थ्यौ

म हिँड्न खोज्थेँ

तिमी काँधमा बोक्न खोज्थ्यौ

तिम्रो बुइँ चढ्न मैले नमानेको उसबेला देखी

तिमी मलाई अभिमानी भन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ ।



के थाहा तिमीलाई शीत ओढ्नुको मजा!

भोक सहनु अनी परीश्रममा श्वासफेर्नु!

पुर्ख्यौली पाल्किमा कुँजो बाँच्ने तिमी

के थाहा तिमीलाई

पैतालाले धर्ती नाप्नुको स्फुर्ती!



परीस्थितिको हिमपातमा

म काँपिरहेको त्यो ठिहिरो पल

मैले कुनै सम्झौता गरिन

उसै दिनदेखी तिमी मलाई अभिमानी भन्छौ,

मलाई लाग्छ तिमी स्वाभिमान बुझ्दैनौ,

तिमी त आँफैँलाई चिन्दैनौ

आफ्नो खुट्टामा टेक्दैनौ

आफ्नो आखाले हेर्दैनौ

आफ्नो प्रयासमा एकझोँका श्वास फेर्दैनौ

तर मलाई अभिमानी भन्छौ



म जाँन्दछु तिमी आँफैलाई बुझ्दैनौ

तिमी स्वाभिमान बुझ्दैनौ ।।।।

म चिहान खन्दैछु

जल्नेहरुको निमित्त
म गहिरो चिहान खन्दैछु
हिजो देखि जलिरहेका
र आज झन् झन् दन्किरहेका
भित्रभित्रै धुँवामा गुम्सिरहेका
जलिजलि आकृति हराउनैलागेका
ति बिचाराहरुको निमित्त
म गहिरो चिहान खन्दैछु l
बिना अर्थमा जलिरहेका
अकारण बलिरहेका
संतापमा होइन!
सन्त्रासमा जलिरहेका
खोलाको कुल्कुल देखि जल्नेहरु
बतासको सिरसिर देखि भत्भती पोलिनेहरु
आकाशको फैलावट देखि अत्तालिनेहरु
अनेक बहानामा आत्मैदेखि जलिरहेकाहरुक निमित्त
म गहिरो चिहान खन्दैछु,
आफ्नो बारीमा सिस्नु उमारेर
छिमेकी करेसाका बिरुवा लछार्न उध्यत
उपद्री हातधारी मान्छेको आकृति
जो पिंढीमा पिंध टेकाएर
हेर्दै हेर्दै जलिरहेछ
उसैका निमित्त म गहिरो चिहान खन्दैछु
हिजैदेखि हिँडेर बाटैमा लथ्र्याक लथ्र्याक
कहिले रात छिचोलिनसक्दा
आजैको मिर्मिरेमा लम्केर
क्षितिज भेट्ने तम्सेका पाइलाहरु देखि
आहारिसको सिंगान चुहाउँदै
मुट्ठी बजारेर
आफुलाई आदियात्री दाबिगर्दै
अरुको अस्तित्व स्वीकार्नबाट
लगलगी कॉप्दै
भुसको आगोझैं जलिरहेकाहरुको निमित्त
म गहिरो चिहान खन्दैछु
सुन्दा अचम्म लाग्ने कुरा!?
जलिरहेका,बलिरहेका
अवस्यम्भाबी खाकहरुका लागि किन चिहान!?
किनकि ति जलेर कहिल्यै खरानी हुननसक्ने
अधकल्चा बिचाराहरु !
अतृप्त आत्माजस्तो स्वयं पोलिंदै
अन्यलाई सल्काउन ,पिडा दिन तम्सिरहने
ति दुष्टात्माहरुकै लागि
म यो चिहान खन्दैछु
थाहा छ?
जलनको आगोमा पोलिंदै
इर्ष्याको धुवाँमा ढुनमुनिदै
बाटो बिराएर एकबखत
गर्ल्याम्म खस्नेछन यो चिहानमा
त्यो दिन अरुभन्दा बेसी
तिनै अतृप्त आत्माको कल्याण हुनेछ
हो त्यहिँ दिनको नजिक पुग्नैलाग्दा
जल्नेहरुका लागि
खासगरी, खास प्रकारको,खास उधेस्यले
म गहिरो चिहान खन्दैछु lll

ओ! यादहरु हो!!

Tuesday, February 15, 2011 at 8:03pm
ओ! यादहरु हो!
आओ! छातीको छेउ दु:खाएर जाओ!
भो सक्दिन सुक्न अझै अरु
यि सुष्क परेली भिजाएर जाओ।

छोडिएको समयको डोब
घाऊहरुमा कैद रहन्छ
पलपलको चहर्याइमा
'हिजो'संधै ताजा बन्छ
दुख्नुमै जीवन मिठो छ!!!

ओ!यादहरु हो!
आओ!एक मिठो घाऊ दिएर जाओ!
यि सुष्क परेली भिजाएर जाओ!
ओ!यादहरु हो!

लोलाएका आँखाभित्र
टोलाएको कल्पना हुन्छ
अनिदो रातहरुमा
उस्तै अब्यक्त कष्ट हुन्छ
अनिदो कष्टमै रातको एकान्त मिठो छ!!!

ओ! यादहरु हो!
आओ! हररातको निन्द्रा बिथोलेर जाओ!
यि सुष्क परेली भिजाएर जाओ!
ओ! यादहरु हो!

ओ! चटके जिन्दगी!!

तिमी
कहिले चाटिरहुँ जस्तो बेहिसाब मिठो
कहिले बेपत्तै तितो टर्रो
ह्वाल्लै छाद्नु जस्तो !!
अरुलाई नटेरे'नी तिम्लाई त मैले टेर्नै परेकोछ ,
त्यही भएर होइन?
तिमी गमक्क फुल्दै
मलाई "बंचाइको" छातीबिच
घ्यार्रैरररर घिसारिरहेको ??
चिसो जून ओढेर नीरव आकाशको छानो मुनी
म के के गरीबस्दा
तिमी म सँग टिपिक्कै टाँसिएर बसिरहेका हुन्छौ
तर
धेरै जसो मलाई तिमीले खिस्याइरहेको भान हुन्छ ,
अभाबका भंड्खाराभित्र
म हतासीइरहेको बेला
तिमी मेरै ढाडमा सवार भैरहेका हुन्छौ
तर
धेरै जसो मलाई तिमीले थपडि बजाइरहेको अनुभब हुन्छ।
त्यतिखेर त तिम्रो मुखै कोपरेर बिरुप पारीदिउँ जस्तो !!
अरुसँग नझुके'नी तिमीसँग त मैले झुक्नै परेकोछ,
त्यही भएर होइन?
तिमी घमण्डले मत्त भएर
मलाई "यो अस्थिर रंगमञ्चमा" छम्छमी नचाइरहेको??
फेरी कहिले त
आँखाको भित्री पटाङ्गिनिमा
सुटुक्क हेरफेर गर्दै 'भोली' को सपना देखाइदिन्छौ ,
मिठा गुलिया सपना!
सुनका सपना
धूनका सपना
चाँदी पोख्ने सेता जूनका सपना ,
त्यतिबेला त तिमीलाई
श्वासै नरोकी लप्लपी चाटिरहुँ पो लाग्छ!
अरुलाई थुकेपनी
तिम्लाई त मैले चुम्बन गर्नै परेकोछ,
त्यही भएर होइन?
तिमी
जानिजानी आवारणभरि मह दलेर
मलाई "अन्तिम ओढार तिर बिसाउन"
पछीपछी तानिरहेको??
मेरा असन्ख्य
आँशुका भेलको पहिलो साक्षात्कार तिमीसङै हुन्छ ,
अनी
बेपर्वाह
उन्मुक्त
हाँसोका फोहराहरुको पहिलो
सानीन्ध्यता पनि तिमी सँगै हुन्छ ,
हेर मलाई तिमीसँग इर्श्या लाग्छ इर्श्या !!
मेरो आफ्नो कुनै निजत्व नहुने तिम्रो सामु??
भन मलाई कहाँ बाट यहाँ ल्यायौ र किन?
अनी कहिले सम्म यहाँ म तिम्रो औँलिमा नाच्नुपर्ने हो??
उफ्फ्फ्फ्फ!!
तिमी बोलिबोली केहो बोल्दैनौ
अनी नबोलेरै के के फत्फताइरहन्छौ ,
घरिघरी
उल्काको इन्द्रेणी ल्याइदिने तिमी
कहिले
आँखाको चौकोस फट्ट्याएर हेरिरहुँजस्तो
अनी
बेलानकुबेला खग्रास ग्रहण निम्त्याइदिने तिमी
स्वात्तै सोहोरेर ब्ल्याकहोलमा बिसर्जन गर्नुजस्तो ,,
आह!
तिमी कहिले चाटिरहुँ जस्तो बेहिसाब मिठो
कहिले बेपत्तै तितो टर्रो ह्वाल्ह्वाली छाद्नु जस्तो
ओ! चटके जिन्दगी!!

अभ्यन्तरको प्रार्थना

Tuesday, September 14, 2010 at 4:09pm

निर्दोश स्वच्छन्द छालहरुले
छुँदै र भाग्दै गरेको,
छपक्क चिसो बालुवामा पिँध बिसाएर
पानीको आवत्-जावतमा
आफ्नै आकृती खोजिरहेछु
मनमनै संकल्प गर्दै
अभ्यन्तरको प्रार्थना ओठहरुको कम्पनसंगै

पलकहरुको बन्द संघारभित्र
हठात् म पुग्छु उहीँ
जीवन बाँच्नुको सारस्थलमा,
म कती उल्टो!
या सुल्टो?
सबै तृप्तिो माग्छन्
म तृष्णाको कामना गर्छु
रित्तो मनहरु संधै भरिने चाह गर्छन्,
कृयाशिलता जिउनुको सूचक!
भरिपूर्णतामा सुष्कता अनी पट्ट्यारहरु
उफ!
म आधाआधी मनको तरेली खोजिरहेछु
अभ्यन्तरको प्रार्थना तृष्णाको पूकारसंगै

हृदयमा उठ्ने हाहाकारसबै..
समेटेर शब्दमाला उनुँ,
वर्चस्वता भन्नु खोजिहरुको समाप्ती!
अल्पतामै चाहनाको बाटैबाटो
जिन्दगीको बहुमुल्य दस्ताबेज खोजुँ
म कती उल्टो!
या सुल्टो?
सबै सग्लो प्राप्ती माग्छन्
म भग्न आकाँक्षा खोज्छु
टुक्रे अभिलाषा चलायमान रहन्छन्
त्यही रहरैरहरको अनवरत यात्रा कती आनन्दी!
म अबिराम बाटाहरु नापिरहेछु
अभ्यन्तरको प्रार्थना द्रबिभूत तृष्णासंगै

अधूरा रहरहरुको लम्पसार बिस्कुनमा
एउटा सिँगो युग बांचुँ,
कौतुकी मनोबेगको उद्देलनमा
म सर्बदृष्टिग स्थापन गरुँ
म जिन्दगी लेखुँ लामो सेतु,
संगोल भावकमनहरु छुन
म कती उल्टो!
या सुल्टो ?
सबै आँखाले हेर्छन्
म आँखामा हेर्छु
आँखाको खोपिल्टोमा सम्पूर्ण रहस्य हुन्छ
म दृष्‍य चिहाइरहेछु अनन्त गहिराइ भित्र भित्र ..
यही सागरको निलो कालो गहिराइ जस्तै

सृष्टीको सुत्रधार
तृष्णा ब्यग्रता र कौतूहलता नै त हो।।।

अझै त केही बितिसकेको छैन !!

निस्सासिँदै फोहोरको थुप्रोबाट उम्केर
एक 'ठुलो' मान्छे,
सुकिलो मान्छे,
गर्बिलो मुस्कानकासाथ
डिटरजेन्ट साबुनफ्याक्ट्रीको उदघाटनमा
घाँटीको नसा फुलाउँछ
बिडम्बना! ऊ दुङ्दुङी गन्हाउन छोड्दैन
के गर्नु! नियतको मयल पखाल्ने साबुन बनेकै छैन!!

बिज्ञानको चमत्कारमा खुम्चिएको,
प्रबिधीको कब्जामा निस्सासिएको
एक पसर ब्रम्हाण्ड
खोकिलामा च्यापेर,
दुनियाँ दुरीबिहिन बाँचेको छ आज
बिडम्बना! आत्मा र भाबना मात्र दूर दूर भाग्दोछ
हृदय जोड्ने कुनै आबिस्कार भएकै छैन!!

सत्यको सपथमा
ज्ञानी गुरुहरु
ध्यानी धुरन्धरहरु
पारदर्शी लोकोपदेश प्राङ्गणमा उभिएर

ढाँट्नु र छल्नुको परिणति व्याख्या गर्छन्,
बिडम्बना! हृदयको नेपथ्यमा
आँफैँलाई ढाँट्नुको मनोदशामा च्याँ च्याँ रुन्छन्
स्वस्पन्दन नियाल्ने सुक्ष्मदर्शक यन्त्र बनेकै छैन!!

हो यहाँ केही छैन
मनदेखी मन जोड्ने पुलपुलेसा,
सम्बन्धका चिरा पुर्ने मल्हम्पट्टी,
ब्यक्त वाणी साकार पार्ने
आत्माको धङ्धङी नाप्ने मिटर फित्ता
केही बनेकै त छैन
देखिएकै छैन
सुनिएकै छैन
अनी छैन खुशीका बिराट आकाशगंगा,
क्षमाशिल मनका उष्मापूर्ण झंकार,
झुटका सेता पर्दा बाहेक
केही छ त केवल एकलकाँटे महत्वाकाँक्षाको ओरालो यात्रा!
हृदयको स्पन्दन सुन्दै
युगको उज्यालो थुम्को टेक्ने अभियान चालिएकै छैन ।

आउ! मान्छेहरु!
हृदयको न्यानोपनमा लुट्पुटिँदै,
आँफैँसङ्ग आफुलाई साक्षी राखेर,
मान्छे-मान्छे बिचको दुरि मेटेर
जिन्दगीको गीत गाउँ,
बाँच्नुको घनघस्यामा बिसाउँदै र बत्तिँदै
भाईचाराको रङ्गले ब्रम्हाण्ड रङ्गाउने कसम खाऔँ
अझै त केही बितिसकेको छैन !!

//आँखा र लाज दुबै छोप//

आलस्यको चौकोशभित्र लामो बसाइ पछी
दैलो उघारेको बेला
करेसाबाट फूलको बेर्ना बेपत्ता!
सुनाखरिको बखान फलाक्दा फलाक्दै
आँखाले घुम ओढ्ला,
ध्राणशक्तीबिहीन् ठेउके नाकहरु!!!
आऊ एउटा स्वजिवी पलाँस रोप ।

भोकको लामो चित्कारपछी
सिस्नु फूलेकोबेला
फलामे चिम्टा बेपत्ता!
आस्वासनको कचौरो नियाल्दा नियाल्दै
सिस्नेफूल ओइलाउलान्,
आऊ साहसको अंकुसेले
मनको डालिमा विश्वाशको फूल टिप ।

फूलका बेर्ना चोरहरु,
फलामे चिम्टाचोरहरु
पैतालामा पत्थरी टाप ठोकेर
तिम्रो आगनमा शयर गर्न आउँदैछन्
साधुको परिधानमा
अब
तिम्रो कछाड च्यात्न
हे अलमस्तिहरु!!
सक्छौभने हत्केलाले
आँखा र लाज दुबै छोप!!!!

"आगो"

आगो बर्बादी
आगो ध्वँस
आगो कलह
आगो बिनाश
आगो उत्पिडन
मात्र मात्र,,संहार!!

आमा!! म आगो सुलुत्त निलिदिन चाहन्छु
ताकी अब उप्रान्त यसको उग्रतामा
तिम्रो पच्छ्यौरी नजलोस,
तिम्रो,, झुपडी नडढोस् ।

आगो चेतना
आगो सभ्यता
आगो शक्ती
आगो सिर्जना
आगो साहस
आगो! आगो!,,जीउँदो सुचक !!
आमा!! म आगो ह्वालह्वाल्ती ओकल्न चाहन्छु
ताकी अब उप्रान्त तिम्रा मेरा सन्तान
नयाँ क्षितिज कोर्न सकुन्
झिल्सिँदो रातो कोइला जस्तो जीउँदो बाँचुन् ।

"आगो" र "आगो" को रुप
समानता
बिबिधता
प्रक्रिती
प्रतिक्रिती
आगै नजानी ओकल्ल्नु
आगै नजानी निल्नु
आगै नजानी चलाइनु
आगै नबुझी "परिभाषा" गरिनु
आमा!! यही त बिडम्बना थियो! छ!

तिमी निर्धक्क होउ आमा!
अब ,,
आगो मै निल्छु ,,मै ओकल्छु
'उद्दार' 'संहार'
आगो म आफ्नै हातले खेलाउँछु
ताकी अब उप्रान्त तिम्रा मेरा सन्तानले
"आगो" चिनुन् ,,,जानुन् !!!!!

//उस्तै उस्तै लाग्छ //

रामापिथेकस अंकल
आदिमतामा रौं ले ढाकिएर हिंड्थे,
म ,,
आधुनिकतामा सभ्यताको
एक्सरो टेरिलिन बेरेर हिंड्दैछु
उस्तै उस्तै लाग्छ ...,

देख्दैछु जीबहरुमा
जडत्व बढ्दैछ
खोइ किन किन
एकपटक फेरि
मिश्र र मेसोपोटामिया
उधिन्न मन् लाग्छ,
हेर्दैछु सभ्यहरुको भिड्मा
सभ्यता हराउंदैछ
खोइ किन किन
एकपटक फेरि
नाइल नदीको किनारैकिनार
डुल्न मन् लाग्छ...,

बनाउने 'एक्लै' सुसेल्छ
बिगार्ने 'जमात' चिच्याउंछ
कतै ..
पिरामिड र ग्रेटवाल
नभत्कियोस ..!
समयले बांकटे हान्यो
चेतना सुतिरहेछ,
दृष्य छ दृष्टि छैन
छाम्छुम गर्दैछु
'हिजो'र'आज'केही त फरक छैन
उस्तै उस्तै लाग्छ ।।।

कबिताबृत्तान्त - //म कतै जाँदैछु//

यो बिचित्रको शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
यो मेरै स्वनिर्णय हो,
म जानै पर्छ ,अहिलेलाई छुट्टीनै पर्छ \
छातीमा मुट्ठी ठोकेर ।
आकर्षण बाहेक अरु केही छैन,
सोचमा कतै समानता छैन,
अलग अलग आँखाका हेराइ..
तिमी रङ्गमा रम्न मात्रै खोज्छौ
रङ्गिन अवयव बुझ्दै बुझ्दैनौ,
उफ् !!!!!!!!
तिम्रो आकर्षण मेरो गालाको लाली मात्र हो,
डराउँदा म निली हुन्छु,
अत्तालिँदा पहेंली हुन्छु,
रिसाउँदा राताम्य हुन्छु,
,,,यी सबै रङ्गै त हुन् ...
तिम्रो सरोकार बजारे लाली पोत्नु संग हो,
कलेटी ओठ को प्राक्रित निल्डाम संग होइन\
त्यसैले ,
यो रमझम को रित्तो शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
तिमी उदार देखिन्छौ तर होइन,
म पुलकित हुन खोज्छु तर सक्दिन,
तिमी भन्छौ"तिमिलाई सम्पूर्ण स्वतन्त्रता दिन्छु"
मानौँ मान्छे हुनुको मेरो हक तिम्रो खल्तिमा बन्धक छ,
अहँ म मान्दिन ,मान्नै सक्दिन
यो अघोषित निरंकुसता,
यो कालो पर्दाले मेरो दृष्टि छेक्छ,
उफ् !!!!!!!!!!
त्यसैले,
यो खोक्रो आडम्बर को शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
माया गर्नु बाहेक अरु सबै फरक
तिमी धर्सो टेकेर बिस्तारै,, छल्दै
घुमाउदै बृत्त बनाउछौ जहाँ फेरी म अघोषित बन्दी हुन्छु,
निकास बिनाको कालो मुस्लो ले मलाई अझै पोल्छ,
त्यही धर्सो तानेर पर ,,,पर क्षितिज छुन तिमी रोक्छौ \
उफ्!!!!!!!
त्यसैले ,
सुन् को पहेँलो छानो तिमीलाई छोडि,
यो सम्भ्रान्त शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
बिछोड को भयानक काल्खण्ड पछी ,,,
तिमी आउने छौ मलाई भेट्न
एउटा नयाँ सोच बोकी ,पुरै बद्लिएर ..
त्यहा, जहाँ म पर्खिरहेको हुनेछु
एैतिहासिक पुनर्मिलन ,,
जहाँ तिमी अली तल झर्नेछौ,
म अली माथी उक्लिनेछु,
अनि एउटै धरातल टेकेर बराबरि उचाइमा
आकाश को निलो रङ्ग छोएर
प्रकृतिको हरियो छामेर,
माटोको रङ्गमा लाप्पा खेलेर
मुटुको रातो रङ्ग अनी तातो सामिप्यतामा हराउनेछौँ ,,
त्यतिबेला सम्मको लागि ,
मुटुमा ढुङ्गा राखी,
यो बिचित्र को शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर ।।।।

//कामना डायस्पोरिक महाकाब्यको//

हर बिहान म आँखा खोल्छु
एउटा न्यास्रो ओच्छ्यानमा
बैराग्यको च्यादर भित्रबाट
हाइ काढ्छु अनी..
श्रीगणेश गर्छु अभ्यस्त दैनिकिहरु
नमिठो उच्छ्वासमा ,,

दिन उम्केर जवान हुँदा,
पाताले थुम्को हेर्दै
सगरमाथाको न्यास्रो मेटाउन खोज्छु र
मृतसागरको सतहमा
आफ्नै आकृतिहरु खोज्नेगर्छु
सहसा ,,आँखाहरु चिसिन्छन्
परदेशको नमिठो अनुभूतीमा..

शनै शनै ,
आत्मियता बढेझैँ लाग्छ दुरिमा
प्रगाढता बाक्लिँदै
हृदयका घडा छचल्किन्छन्
मातृभूमीको न्यानो उष्मा मनको पुलेसोमा
म लेख्न बस्छु 'देश प्रेम' काब्यकथा
लमतन्न... भूमध्यसागरको किनारमा,

खेस्रा कागज संगको प्रेमालाप
पस्छु साहित्यको शयनकक्ष
अनी ,
उस्तै लाग्छन् 'ती' हिमाल 'यी' थुम्का
बिस्तारै धमिलिंदै जान्छ
'परदेश' को धर्सो।
बाँकी,
एकाग्रता,आत्मियता,तन्मयता
आकार लिनथाल्छ स्नेह
प्रादुर्भाव हुनथाल्छ प्रेम
म बत्तिन्छु कलम सङ्गै
खररररर खर् खर् खर्
.........
ओह! म हराउंछु ,,
अन्तर्मन् को गहिराइमा
ब्यग्रित कामना गर्छु..
जन्मियोस एक "डायस्पोरिक" महाकाब्य
म चढाउंछु सगरमाथाको शिरमा ।।।

।।जिन्दगी।।

पटक पटक
उतार चढाव हरुमा जाँच् दिनुपर्ने,
रहरको मेरुदण्ड,
कतै जोड्दै त कहिले कतै भाँच्दिनुपर्ने,
गह मै आँशु छ,
तै पनि ओठ फैलाई हाँस्दिनुपर्ने,
नचाहेरै पनि,
बाध्यताको रंगमञ्चमा नाच्दिनुपर्ने,
थोरै आफ्नो लागि,
अनी धेरै अरुको लागि साँच्दिनुपर्ने,
फगत...
आशाको त्यान्द्रोमा झुन्डिएर बाँच्दिनुपर्ने,

जिन्दगी ...यही त हो जिन्दगी ।।।

जीवन पाहुना

Thursday, November 19, 2009
चिसो रात मा अन्धकार् को खास्टो भित्र ,
आफ्नै तातो खोज्ने हरु ,
नाक खुम्च्याउछन
स्वार्थ को हाट बजार मा
कपट को मण्डी ब्यापारी को हाउभाउ देखी ..

भोको पेट मा अभाव को भान्छा भित्र ,
सन्तोष को जाउलो पकाउने हरु
मौन रहन्छन
अहन्कार को थाली मा
सुन को भाग पस्किने को स्वाठ देखी ..

जीवन पाहुना ,अनिस्चित उकाली ओराली
हिंडेर सकिन्न ,हिंड्ने सकिन्छ
तह तह को आ आफ्नै बगाल मा
मान्छे बाडिएको छ
पुग्ने ठाउँ एउटै हो बाटो जहाँ हिंडे पनि
सुन ,कपट ,,चिसो रात ,,
जे देखे पनि ,,,जे भोगे पनि ,,,।।।

तिमी र म होइन

Friday, November 27, 2009
तिम्रो खुट्टा ढोगिन ,
बुढी औलो धोएर पानी खाइन
खुट्टा को जुत्ता उतार्दिइन
तर नभन सम्मान गरिन ।।

घुम्टोले टाउको छोपिन
बार्ह हाते फरिया को सप्को हालिन
चौबन्दी मा आफुलाई सजाइन
तर नभन संस्कार पछ्याइन ।।

कैलेकाही समय मा तिमीलाई खाना बनाइन
तिमी जादा बिदाइमा बाइ भन्न पाइन
तिमी आउंदा स्वागत मा रहिन
तर नभन कर्तब्य निभाइन ।।

ढोँग देखाइ खुट्टा नढोगे पनि
हार्दिकता भरी अँगालेको छु
खुट्टा को जल होइन तिम्रो
पसिनाको मोल बुझेको छु ,,,

स्विम्मिङ सुट मा पौडी खेलेर
ऐतीहासिक मेडल जितेको छु
छरिता पहिरन लगाएर
दैनिक जीवन सरल बनाएको छु ,,,

तिमी सँग हात बटाएर
हैंसेमा होस्टे गरेको छु
तिम्रो स्वागत मा नउभिएर
अन्य जिम्मेवारी निभाएको छु ,,

साकारात्मक परम्परा
मन भरी बोकेको छु
अभावका चोट हरु
सिर्जनाले छोपेको छु ,,,

परम्पराको रखवारी मात्र होइन
परिष्कार पनि त गर्नु पर्छ
पुरातन लाई पच्छ्याउने मात्रा होइन
नयाँ आबीष्कार पनि त गर्नु पर्छ ।।

मेरो परम्परा मेरो राष्ट्रियता
मेरो संस्कार मेरो सम्प्रभुता
म मा संधै सवार छन
संगै मेरो आत्मियता ।।

म बाडिन्छु कर्मशील भई
तिमीले हात दिनै पर्छ
समय सापेक्ष समुन्नत हुन
तिमीले साथ दिनै पर्छ ।।

साकारात्मक परिवर्तन को लागि
सोच फराकिलो बनाउनु पर्छ
प्रिय!! पहिले तिमीले मलाई विश्वाश गर्नु पर्छ
तिमी र म होइन ,,अब हामी बन्नु पर्छ

तिमीसँग एकरात माग्दैछु

9/july/2010
पहिले कहिल्यै नमागी
अनुनय र याचनै नगरि
एकसरो बँचाइको
लम्बेतन सडकमा
थप थप थप...
कल्पनातित
अतित
ब्यतित
कथितजस्ता इट्टाहरु थपिरह्यौ ,,थपिदियौ,
तर आज,
तिमीसँग एकरात माग्दैछु।

तिमीले दिएका पलहरु
तिमीले निम्त्याइदिएका अवस्थाहरु
भाग्यको छातीमा उम्रेको
निलो शिरिष सम्झी
अनवरत
चुपचाप
चु..प..चा..प...
हरतरहले
गोड्दै स्याहार्दै आएँ
तर आज,
तिमीसँग एकरात माग्दैछु।

कोलाहल बिहिन
थकान बिहिन
शितल जूनको शिताम्य पाटङ्गिनिमा
भित्रका यि
उकुसमुकुस भावनाका घडाहरु
गुम्सिएका तरङ्गहरु
भन्न नसकिरहेको
देखाउन नसकिरहेको
असन्ख्य उत्ताउला तरुणी भावना
छ्यालाब्यालती तिम्रो छातीमा पोखिदिउँ!!
यही रहरमा,
तिमीसँग एकरात माग्दैछु।

उफ्फ! अचाक्ली छट्पटिमा
मन र मष्तिस्कको
बेपर्बाह समभोगबाट
रातैभरी बग्रेल्ती..
चेतनाका बिज यत्रतत्र छरिदिउँ!
भोलिको बिहान
चेतोप्रद सर्बथा नौला लहराहरुले
तिमीलाई चिहाउन्!
म तिम्रो
हिजो,
आज,
भोली र
भोलिको पनि भोलीहरु
व्याख्यागर्ने सिङ्गो दर्शन लेखिदिन्छु,
जिन्दगी!!
ओ! जिन्दगी!!
यही सपथ सहित याचनामा
आज तिमीसँग
"एक वयष्क बिचारको रात" माग्दैछु,
तिमीसँग एकरात माग्दैछु ।।
***

/त्यो दिन.. सपना तुहिन्नन्/

अन्योलको सिरकभित्र
चकमन्न रात तन्किरहेछ,
आधा खुल्ला
आधा बन्द आँखाको बिचमा
इनर्सियाको धङ्धङी जस्तो
बुद्दको सपना प्रतिबिम्बित हुँदैछ,
सपना?!
बुद्दको सपना कि
सपनाको बुद्द??
बादल बोकाइएका आँखाहरु
सपनाको गर्भाधान् कसरी गरुन्!
यहाँ सम्भावित सुनौलो सपना समेत तुहिँदोछ\

त्रासदी ओतमुनी
चार भित्ता उदाङ्गिरहेछ,
थोरै ह्वाङ्गै
थोरै छोपछापको बिचमा
काल्पनिक आकृति जस्तो
टाउको ओतिन खोजिरहेछ,
ओत् ?!
टाउकोको ओत् कि
ओतको टाउको??
उडाइएको छानोमुनी
टाउकाहरु कसरी ओतिन्छन्!
यहाँ मनकै छानो समेत चुहिँदोछ \

संक्रमणको चपेटामा
सबैखाले खेती चौपट नाशिइरहेछ,
थोरै आशा
धेरै खतराको दोधारमा
नियतिले खेल्ने जूवाजस्तो
किसान बिउ छरिरहेछ,
बिउ?!
उम्रिने बिउ कि
कुहिने बिउ??
बिषादी मिसाइएको माटोमा
बिउ कसरी उम्रन्छन्!
यहाँ भरोसा कै बिउ कुहिँदोछ ।

के निर्दोष आँखाहरु
बबुरा टाउकाहरु
भ्वाङ्ग नपरेको छानोमुनी
ओत लागेर,
बुद्दशान्ती सपना देख्दै
मलिलो करेसामा
सकुशल बेर्ना उमार्न पाउन्नन्??

बर्बादिका प्रस्तरले
टेकेका पैतालामुनी
बिस्तारै ,,बिस्तारै
जमीनको टुक्रा खस्क्याइनुपर्छ
बिस्तारै ....
छातीमा दृढताको पर्खाल उभ्याइनुपर्छ
बिध्वँसको घाउ
बिध्वंसिलाई चर्क्याइनुपर्छ
त्यो एैतिहासिक सुरुवात
किसानहरुबाटै हुनुपर्छ
त्यो दिन...
बिचारका
सपनाका
सम्भावनाका
युगिन अक्षरका
बिउहरु हरएक
किसानका करेसामा
निर्धक्क उम्रेर टाउको उठाउँछन्
त्यो दिन...
आँखामा बादल हुँदैन
सपना तुहिन्नन्
त्यो दिन..
*****

निर्लज्ज अन्त्य हुनेछ

Monday, November 23, 2009

खन्डहर बिगत का,
भग्नावशेश खटिप्वाल बाट
अनन्त भबिस्य चिहाउने हरु
बर्तमान को लाम्बद्ध बस्ती बसाउदै छन्
बन्द गर तिम्रा बिनाश्कारी उर्जा हरु
किनकी ,,यो बस्ती को एकात्मक घनिस्ठता
तिम्रो ध्वन्स को सुनामी भन्दा
शक्तिशाली ,,,तेज घनत्व को हुनेछ ,,

बिलित खरानी का थुप्रो बाट
धुवाउदो झिल्का हरु मा
दुरगामी महत्वाकान्क्ष्या बोक्ने हरु
सौर्यात्मक ज्वाल बोकी उठ्दै छन
टाढा लैजाउ तिम्रा कुटिल काला बादल हरु
किनकी ज्वलित यि सम्भावना का बेग हरु
तिम्रो बेमौसमी झरी भन्दा
अनवरत द्रुतगामी हुनेछ ,,

आसु सकिएका ,निर्लिप्त ,,
तर सपना देख्ने आँखा हरु
सुदुर क्षितिज नियाल्दैछन
हटाउ तिम्रा झुट का सेता पर्दा हरु
किनकी यी आँखा बाट बग्ने भेल अब
नुनिलो आसु होइन अग्रगामी प्रबाह बोक्ने
रक्तिम बाढी हुनेछ ,,

रोक कुटिल खेल ,
आत्मघाती सपना हरु
भाग ,पलाएन होउ या गर आत्मसमर्पण
नत्र तिम्रा घातक एम्बुश मा
तिम्रै पुस्ता को महल ध्वस्त हुनेछ
ईतिहास का पाना पल्टाउने
आउँदा हरेक पिढी सामु
तिम्रो हार आँफैमा अप्नत्व हुनेछ
प्रलाप गर्जन एकैछिन बिनाशी आडम्बर को
तर ,,,निर्लज्ज अन्त्य हुनेछ ।।।।

पहिचान

21/6/10
छिमेकी सुगाको रटाइ
'अन्धोन्माद'मा
बाबाको उपदेश

आमाको लोरी,
चौकोशभित्रै चिहान खनेर
भूतलमा गाड्न उद्धतहरु
कुलको ईतिहास उपहास गर्दै
जमातमा डुक्रिँदैछन,
मैले
आफ्नी आमाको लाम्टोलाई
पूजा गर्दा मेरो प्रार्थनाको दोहोलो काढिन्छ
तर म जान्दछु सबै डुक्रिनेहरु
पवित्र मन्दिर रुङ्ने शिवका साँढे हुँदैनन्\

गिदिको मोहनभोग
'सतही स्वादमा'
खोपडिको घोटाइ

साधनाको उचाइ,
मझेरिमै धुनी बालेर
आगो ताप्न अभ्यस्तहरु
हूलका हूल अट्टहास गर्दै
चरुको नाममा डढाउँदैछन्,
मैले
आफ्नै ईतिहासको पानालाई
छातीमा टाँस्दा असह्य भिड चिच्याउँछन्
तर म जान्दछु सबै भिडको चिच्याहटमा
साधनाको अनवरत शिंहनाद् हुँदैन\

सबै अप्ठ्यारा गोरेटाहरुले
थोरै बटुवाको पैताला छुन्छन्
अग्ला पर्बतका चुचुराहरुले
थोरै साहसीलाई अङ्कमाल गर्छन्
दर्शनका घनघस्या उक्लिन
कठोर खुड्किला टेक्नुपरेझैँ
साँच्चै ,,
आमाको खास्टो जोगाउन पनि
सँधियारको पटुकी चोरेर कहाँ हुन्छ??

मलाई थाहा छ पराइको तानमा
पहिचानको रेशमी धर्सो हुँदैन।

पागल

पागल


पागल बस्ती
पागल आकाँक्षा
पागल उत्सुकता
पागल खोजी
पागल सौन्दर्य
पागलहरुको खोज
न्युन पागलहरुको रहर भित्रको म पागल !!

आवरणिय सुन्दरता भित्रको
बिक्रित रुपसँग
मेरो पागलपन असाध्य डराउँछ
अनी त,
अनिन्द्य सौन्दर्यको
सार्थक खोजिमा
अनुहारहरुका बथान नियाल्दै
पागलपनमा म
कुरुप अनुहारहरु खोजिरहेछु\

स्वरुपले राम्रा मैदानहरु
उपयोगीताले बन्जर पनि हुनसक्छ
र त ति फैलावटसँग
मेरो पागलपन असाध्य डराउँछ
अनी त,
सपना रोपी सम्भावना फुलाउन
समयको कान्ला उक्लिँदै
म मेरो पागलपनमा
अजङ्गको भिर खोजिरहेछु\

अधमरो सिर्जनाको छातीमा
अहँकारको भुल्कोहरु
बुढो सभ्यता बोकेर
पागलहरु भन्दा पृथक भनिन खोजिरहेछन्,
हरेक सिर्जनाको क्षण
पागल आकाँक्षाको प्रतीति न हो
म मान्छेहरुको
अनगिन्ती शहर डुल्दै
पागलहरुको बस्ती खोजिरहेछु\

पागलआँखाले चियाउने दृष्यनहरु ,,,

आखिर सभ्यता बुढै भएछ!!
सभ्यताकै चिहानघारिमा
सर्बथा नयाँ फूल फुलाउन
म पागलहरुको ऐक्यबद्द
हात र हाँसो खोजिरहेछु
पागलहरु नै आफ्नो बोली बोल्छन्!!
म अझै पागल भन्दा पनि पागल हुन खोजिरहेछु ***

**देश दुख्ने मुटु**

**देश दुख्ने मुटु**
दीप्स शाह
deepssanu@gmail.com

मिल्नेभए यो अढाइसय ग्रामको मुटु
अनगिन्ती टुक्रा पारेर
मनचिन्ते आकारहरुमा ढालेर
नाङ्लो र ढाकरहरुमा
खर्पन र पेरुङ्गोहरुमा
नभए पटुकीको भित्री गाँठोमा पोको पारेर
हिमालदेखी उँधो पठाइदिन्थेँ
तराइदेखी उँभो लगाइदिन्थेँ
मनैले मात्र के हुनेरहेछ र!
पेट भन्दा ठुलो बाध्यता जिन्दगीको अर्को नहुने रहेछ !

भोका सन्तानको आशातित अनुहारमा
म कुन दर्शनको बखान गरुँ?
बेदनाले खुम्चिएको मुटु
अलिकती हाडमासुले छोपेर
श्रम बेच्दै बालुवाको कणकणमा
प्रत्याशित भरे भोलीको चुल्हो बाल्न भौंतारीइरहेको 'म' लाई
पहिले त जाउलो चाहिन्छ
छानो चाहिन्छ
लाज ढाक्ने दुइटुक्रा बर्को चाहिन्छ ,,,,
उदाङ्गो तनले ढाकिएकोमनहरुको अभिनय गर्न नसकिने रहेछ!

झ्याङ्ग्प्वाल मजेत्रोमा छोपिने
असफल प्रयासमा जिन्दगीको कहर काट्ने
नङ्गाको बगालमा देशको कुन पाली छाउने कुरा गरुँ??
हरियो देशका सुनौला मनहरु
मरुभूमीको तातोमा क्याक्टस बाँच्नुछ
सम्झनाको जालिरुमाल
किन्ने
साट्ने

जिन्दगीको एक कुइनेटोमा
भरीएको पेट
अनी ढाकिएको जिउ
आफ्नै छानोमुनी लुकाएर
स्वाभिमानको बिस्तारामा लडिबुडी गर्ने
एक त्यान्द्रो सपनामा तुर्लुङ्ग झुण्डिदै
घरी उँभो सगरमाथा नियाल्नु छ
घरी सुस्केरामा तलबी सन्तोष साट्नुछ
आश्वासनले जीवनका खाँचा नटर्ने रहेछन !

पुर्खाको बाक्लो छालामा लुटुपुटिएर
हिजो खाँदै सपनाको भोली डकार्दै
आज देख्दै नदेखी
बुझ्दै नबुझी
सुन्दै नसुनी
नटिल्पिलाएका पसिना
चमरले हम्केर
अझै भन्छौ कि म निष्ठूर छु??
माटो भुलेर आफुमा केन्द्रित छु?
कि मलाई देश दुख्दैन?
कि देश हेर्ने ऐनामा म प्रतिबिम्बित हुँदिन?
हेर ! नियाल मेरा छातीका कोलाजहरु !
सुँघ मेरा ताजा पसिनाहरु!
बनिबुतोको एक एक हिस्साले रङ्गिएको मेरो रगत!!
त्यहीँ पाउनेछौ मेरो देशचिन्तन्
त्यहीँ देख्नेछौ देश दुख्ने मुटु र आफु देखिने ऐना ।।।
*************

ओ! यादहरु हो!

ओ! यादहरु हो!!
by Deeps Shah
ओ! यादहरु हो!
आओ! छातीको छेउ दु:खाएर जाओ!
भो सक्दिन सुक्न अझै अरु
यि सुष्क परेली भिजाएर जाओ।

छोडिएको समयको डोब
घाऊहरुमा कैद रहन्छ
पलपलको चहर्याइमा
'हिजो'संधै ताजा बन्छ
दुख्नुमै जीवन मिठो छ!!!

ओ!यादहरु हो!
आओ!एक मिठो घाऊ दिएर जाओ!
यि सुष्क परेली भिजाएर जाओ!
ओ!यादहरु हो!

लोलाएका आँखाभित्र
टोलाएको कल्पना हुन्छ
अनिदो रातहरुमा
उस्तै अब्यक्त कष्ट हुन्छ
अनिदो कष्टमै रातको एकान्त मिठो छ!!!

ओ! यादहरु हो!
आओ! हररातको निन्द्रा बिथोलेर जाओ!
यि सुष्क परेली भिजाएर जाओ!
ओ! यादहरु हो!

 
साहित्यसंसार