दशैँ-मेरो भोगाइ र अपील

दशैँ-मेरो भोगाइ र अपील
जमानामा मेरा हजुरबुवाहरुको बडो शान शौकात थियो रे। उबेलाका धनवान एक्ला छोरा डिल्लिरमण सुबेदीका छोरा मेरा हजुरबुवाहरु सात भाई। म बुझ्ने हुँदा सम्म पनि सतभैया सुबेदी भनेपछी परपरकाले समेत चिन्दथे। मैले पछी सम्म पनि कतै अलिक टाढा बिबेवारी या अन्यकुनै मेलोमेसोमा पुगेकोबेला उही सजिलो चिनारी 'सतभैया' सुबेदिको नातिनी भनेर आफुलाई चिनाउदा सजिलै अरुले चिनेको अनुभब छ। मेरा हजुरबुवा सात मध्ये साइँलो छोरा, हाम्रो मूलघर थाक्रेको अलिक कोल्टेपट्टी महत डाँडा र बितलब गाउँको दोभाने टुप्पोमा पर्छ । दिउँसो को खाना खाइसकेपछी चम्किलो ढलोटे अंखोरामा पानीलिएर बाहिर आँगनको डिलमा मुख चुठ्न उभिएर बेस्सरी डकार्दा पारी फोगटपुरे हरुले समेत् सुन्थे रे अनी मध्यान्नको सोझो घामको किरणमा हजुरबुवाको हातमा टलल टल्केको अंखोरा हेर्दै "उ !साहिँलो बाहुनले भात खायो!" भन्थे रे।
मेरा पुर्खाका ति दम्भभरी चर्या र यथार्थ मेरालागी भने कथा जस्तै थियो। म बुझ्ने भएदेखी नै हामीले सामान्य स्तरको जीवन बांच्दै आयौँ। सात मध्ये ५ भाई हजुरबुवाहरुलाई त मैले पनि देखेँ तर त्यसबेला सम्म उनिहरुसँग ति दन्त्यकथा झैँ लाग्ने शान शौकत केही थिएन सिवाय पुराना सम्भ्रान्तिय सम्झना र बाहिरी खोक्रे अभिमान बाहेक। तर दसैं जस्तो महान पर्बमा भने हामीले कहिल्यै खुम्चिन परेन जब सम्म मेरो आमा स्वस्थ हुनुहुन्थ्यो। बिस्तारै समयले शायद हामीलाई ओरालो खेद्दै गयो। आमाको बिबिध खाले अप्रेशन र उपचारमा बाबाले एकएकगरी बेच्नमिल्ने लग्भग सबैथोक बेच्दै जानुभयो। तिनै पुर्खाले दिएका दुइचार बित्ता जग्गा र घर बाहेक गोठका भैँसि र टाट्नाका खसी बाख्रा समेत् बेचिए। एकाएक नियतिले छली पासा खेल्यो,रोगग्रस्त आमालाई जीवनदान दियो तर हट्टाकट्टा बाबालाई एकदिनको टाउको दुखाइको बहानामा निस्ठूर बनी लग्यो। त्यतिखेर सम्म हाम्रो आर्थिक अवस्थाले दरिद्रताको पराकाष्ठा नाघ्नैलागेको थियो ,अब त बाबा सँगै हाम्रो जिन्दगीको भरोसाको पूल पनि 'अन्योल र अनाथ' को खोँचमा तल तल भासिएको थियो। त्यती हुँदाहुँदै पनि जीवनमा पहिलो पटक दरिद्र र निरिह दसैं भने मैले बाबा अस्ताउनुभएपछिको दोस्रो बर्षमा अनुभब गरेँ। अझ एसो भनुँ त्यसबेला मेरो किशोर मनले जिन्दगीको अहम पाठ सिक्यो। सँधैजसो उल्लसमय दशै ले गाउघर प्रफुल्ल थियो। तर त्यो देखिने प्रफूल्लता भित्र कती निरिहता कहाँ कहाँ ब्याप्त हुँदो रहेछ भन्ने मैले त्यतिबेला आफ्नै घरको मझेरिमा गजधम्म बसिरहेको डरलाग्दो गरीबी र त्यसबेला आमाको मुहारमा छाएको घोर निराशा र उच्छ्वासमा प्रस्टै देखेँ भलै जबर्जस्ती आमाका ओठ तन्किन खोज्थे हाम्रा सामु एउटा न्यानो आश्रय र ममताको छहारी बनेर।
त्यो बर्ष बजारमा खसी कुखुरा रांगा सबै मांस को मुल्य आकाशिएको थियो भने बिडम्बना हाम्रो घरमा न बाबा हुनुहुन्थ्यो न त खसिबोका नै। त्यो गाँठी समस्या सुल्झाउन आमालाई अपार पीडा भैरहेको रहेछ, म अली स्वाभावत: चक्चके थिएँ सुटुक्क आमाको मनको गरुङ्गो भारी भेट्टाइहालेँ । बेलुकी खाना खानेसमयमा हामी सबै भुराभुरी भान्छमा पिर्कामा बसिसकेपछी मैले घोषणा गरेँ ,"आमा हामी यो पाली दसैं मासु नखाइकनै मनाउँ!" आमाको मुहारमा संका र थोरै सन्तोषको झिल्को एकैसाथ झिलिक्क गरेको पाएँ उता दाईले अलिकती अध्यारो पोत्यो हेराइमा। अनी मैले सफा सफा भनेँ हामी सँग पुग्ने पैसा छैन, ऋण गरेर किन अर्काको ज्यान मार्ने?? बाब पनि हुनुहुन्न ,,हामी कम्सेकम यो बर्षको दसैं बाबाको नाममा शाकाहारी मनाउँ!" अनी अझै धेरै गल्फत्ती पछी दाई पनि सहमतिमा आयो। म मुनिका भन्टान्ङ भुन्टुन्ङले केही प्रतिरोध गरेनन् ,शायद मेरो त्यो घोषणाको बिजय र मूर्तता तिनै मसिनाहरुको स्विक्रिती थियो अहिले सम्झिँदा। हाम्रो दसैं शाकाहारिनै बित्यो ,आउनेजाने पाहुनालाई शाकाहारी भोजनले नै त्रिप्त गरायौँ । कसैले पनि मासु खान मागेनन्। कोहिकोही ले खादाखादै यताउता मुन्टो घुमाएभने म अगी सरेर भन्थेँ "हामीले यो पाली बिना मासुको दसैं मनाउने बिचार गर्यौँ"। त्यसबेला कस्ले के बुझे तर मैले केही मत्लब राखिन, त्यो हाम्रो समस्या थियो ,हाम्रै समाधान। तर आमाको मुहारमा पस्चाताप र लाचारी बोझ ओहोरदोहोर गरिरह्यो दसैंभरिनै। यि थिए जिन्दगीको गोरेटोमा मैले मेरो परिवारले टेक्नुपरेको एउटा उसबेलाको भयानक खुड्किलो र तिनैका प्रसंग दसैं सन्दर्भमा ।
दसैं फेरो पनि आऊनै लागेको छ। यसको पूर्वछेको पारेर शुभकामना ,सम्झना बाँड्ने काम संगै दसैंलाई बिभिन्न बहानामा अझै साहित्यको माध्यमबाट सेमत भद्दा गालीगलोज गर्दै घ्रिणा गरिएको गरीईरहेको पनि देख्दैछु, पढ्दै छु।'दसैं सामन्ती भयो रे, दसैंले गरीबी बढायो रे, दसैंले हत्या हिंसालाई प्रशय दियो रे' आदी आदी। हामी आफ्नो सोचमा सामन्ती सोचको गुंडुल्को पाल्ने अनी दोष चाँहीँ बिचरो दशैँलाइ?? के दसैं भन्ने चिज बिनानीम्तो टुप्लुक्क आकाशबाट हाम्रा पोल्टामा बज्रिएको हो र?? हामी मान्छेलेनै आफ्नै सुखसुबिधा र मनोरञ्जनको लागि यस्ताखाले बिबिध चाडपर्बको थालनी गरेका होइनौ र?? आफ्नै स्वादको लागि अरुलाई मारेर भोजन गर्न एउटा बहाना 'बली' निकालेका होइनौंर?? फेरी कसैले भन्नुहोला यो ता धर्मले निर्दिष्ट गरेको हो। धर्म पनि हामीले नै सुझाएका होइनौ र?? सम्पत्तिको दम्भमा तडकभडक गर भनेर दसैंले अनुरोध गर्छ ?? घरखेत् जानेगरी जुवाको खालमा बस भनेर दसैंले आदेश दिन्छ ??
फेरी चाडपर्ब पनि कसैका बाबुको बिर्ता जस्तो 'यस्को र त्यस्को' रे। कुनै हिन्दू रगत र मगजले दसैं हाम्रो मात्र हो भन्छ भने त्यसले उसका दसैं भकारीमा राखोस्। कुनै बौद्दमार्गिले ल्होसार मेरै मात्र हो भन्छ भने उसका ल्होसार उसैको पोल्टोमा बाँधोस्। कुन चाड कसले कुन जात र धर्मकाले बनायो भन्दै खोजेर मानबताबिच साँध सिमाना कोर्नु भन्दा सबै पर्ब सहभाब् र भात्रित्वपूर्बक मनाउँ। यदी धर्मले बिभेद निर्देश गरेको छ भने त्यसलाई मेटाउदै मानबता फैलाउँ । धर्म भन्दा ठुलो मानबियता हो र मान्यता भन्दा ठुलो भाईचारा हो। अबको साझा सवाल र सरोकार भनेको सर्बमुखी मानवताबादी हुनुपर्छ भने चाडपर्बको किन हदबन्दी र भगवण्डा?? यदी हामी सबै मान्छेजाती हौँ भने कुन पर्ब कहाबाट आयो ,कस्कस्ले मनाउने भनेर खोजी खोजी किन सिमा कोर्नुपर्योस?? मिलेर मनाउँ ,सबैको इज्जत गरौँ ,सम्मान गरौँ ।
केही बर्ष यता मेरो अधिक समय बौद्दधर्मी शेर्पा समुदायका मित्रहरु सँग ब्यतित भैरहेको छ । यो अवधिमा उनिहरुका बिहेवारी देखी ल्होसार जस्ता चाडमा मैले उल्लासपूर्ण सहभागिता जनाएको छु शेर्पा समुदायको बिशेष पहिरन बक्खु-आङ्गिमा । त्यसैगरि हाम्रा भनिने दसैं पर्ब पनि आफु मध्यको ठुलो बाट रातो अक्षता पाती लगाएर संगै मनाउँछौँ। म कती भाग्यमानी ! यती सहभाव बोकेका सरल मित्रहरु पाएको छु। हामीले कहिल्यै कसैको पर्बको साँधसिमाना कोरेका छैनौँ।
दसैं मेरो होइन र तेरो पनि होइन। हामी सबैको यो उल्लासमय दसैंलाई आफ्नो गच्छे र चाहना अनुरुप मानबताको गीत गाउंदै मनाउँ! आउँदै गरेको दसैंले बन्धूत्वमा प्रगाढता ल्याओस्। दसैं समानताको प्रतिक बनोस्।

 
साहित्यसंसार