//म कतै जाँदैछु/

//म कतै जाँदैछु//
यो बिचित्रको शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
यो मेरै स्वनिर्णय हो,
म जानै पर्छ ,अहिलेलाई छुट्टीनै पर्छ \
छातीमा मुट्ठी ठोकेर ।
आकर्षण बाहेक अरु केही छैन,
सोचमा कतै समानता छैन,
अलग अलग आँखाका हेराइ..
तिमी रङ्गमा रम्न मात्रै खोज्छौ
रङ्गिन अवयव बुझ्दै बुझ्दैनौ,
उफ् !!!!!!!!
तिम्रो आकर्षण मेरो गालाको लाली मात्र हो,
डराउँदा म निली हुन्छु,
अत्तालिँदा पहेंली हुन्छु,
रिसाउँदा राताम्य हुन्छु,
,,,यी सबै रङ्गै त हुन् ...
तिम्रो सरोकार बजारे लाली पोत्नु संग हो,
कलेटी ओठ को प्राक्रित निल्डाम संग होइन\
त्यसैले ,
यो रमझम को रित्तो शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
तिमी उदार देखिन्छौ तर होइन,
म पुलकित हुन खोज्छु तर सक्दिन,
तिमी भन्छौ"तिमिलाई सम्पूर्ण स्वतन्त्रता दिन्छु"
मानौँ मान्छे हुनुको मेरो हक तिम्रो खल्तिमा बन्धक छ,
अहँ म मान्दिन ,मान्नै सक्दिन
यो अघोषित निरंकुसता,
यो कालो पर्दाले मेरो दृष्टि छेक्छ,
उफ् !!!!!!!!!!
त्यसैले,
यो खोक्रो आडम्बर को शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
माया गर्नु बाहेक अरु सबै फरक
तिमी धर्सो टेकेर बिस्तारै,, छल्दै
घुमाउदै बृत्त बनाउछौ जहाँ फेरी म अघोषित बन्दी हुन्छु,
निकास बिनाको कालो मुस्लो ले मलाई अझै पोल्छ,
त्यही धर्सो तानेर पर ,,,पर क्षितिज छुन तिमी रोक्छौ \
उफ्!!!!!!!
त्यसैले ,
सुन् को पहेँलो छानो तिमीलाई छोडि,
यो सम्भ्रान्त शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
बिछोड को भयानक काल्खण्ड पछी ,,,
तिमी आउने छौ मलाई भेट्न
एउटा नयाँ सोच बोकी ,पुरै बद्लिएर ..
त्यहा, जहाँ म पर्खिरहेको हुनेछु
एैतिहासिक पुनर्मिलन ,,
जहाँ तिमी अली तल झर्नेछौ,
म अली माथी उक्लिनेछु,
अनि एउटै धरातल टेकेर बराबरि उचाइमा
आकाश को निलो रङ्ग छोएर
प्रकृतिको हरियो छामेर,
माटोको रङ्गमा लाप्पा खेलेर
मुटुको रातो रङ्ग अनी तातो सामिप्यतामा हराउनेछौँ ,,
त्यतिबेला सम्मको लागि ,
मुटुमा ढुङ्गा राखी,
यो बिचित्र को शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर ।।।।

 
साहित्यसंसार