//आँखा र लाज दुबै छोप//

//आँखा र लाज दुबै छोप//


आलस्यको चौकोशभित्र लामो बसाइ पछी
दैलो उघारेको बेला
करेसाबाट फूलको बेर्ना बेपत्ता!
सुनाखरिको बखान फलाक्दा फलाक्दै
आँखाले घुम ओढ्ला,
ध्राणशक्तीबिहीन् ठेउके नाकहरु!!!
आऊ एउटा स्वजिवी पलाँस रोप ।

भोकको लामो चित्कारपछी
सिस्नु फूलेकोबेला
फलामे चिम्टा बेपत्ता!
आस्वासनको कचौरो नियाल्दा नियाल्दै
सिस्नेफूल ओइलाउलान्,
आऊ साहसको अंकुसेले
मनको डालिमा विश्वाशको फूल टिप ।

फूलका बेर्ना चोरहरु,
फलामे चिम्टाचोरहरु
पैतालामा पत्थरी टाप ठोकेर
तिम्रो आगनमा शयर गर्न आउँदैछन्
साधुको परिधानमा
अब
तिम्रो कछाड च्यात्न
हे अलमस्तिहरु!!
सक्छौभने हत्केलाले
आँखा र लाज दुबै छोप!!!!

 
साहित्यसंसार