म तिम्रो परिभाषाको 'नैतिक' बन्न सक्दिन
त्यतिखेर लेखाइलाई पढाईले जितेको थियो अर्थात ज्यादा समय पढ्नमा खर्छ हुन्थ्यो लेखनमा यदाकदा मात्रै। बेलाबेला अल्छी लाग्दा कम्प्युटर खोलेर यताउता हराउथेँ । कुनैकुनै बेला कोही साथी भेट भइहालेमा च्याटमा केहीछिन गफिन्थेँ। यसरी कहिलेकाही गफिनेमा एकजना नयाँ मित्र पनि थिए जो नेपालमा बाग्लुङग घर भै तत्काल आएरल्याण्डमा कार्यरत थिए ,शायद अहिले पनि होलान्। उमेरले म भन्दा भाई थिए तर समकालिन सम्बोधनमा बोल्न रुचाउँथे। ति टाढाका मित्र एकदिन इन्टेरनेट मै भेटिएका थिए बडो मिजाजी शब्दमा मित्रताको हात बढाएका उनलाई मैले सहजै स्विकारोक्ती संगै साथी लिस्टमा आबद्द गरेको थिएँ। परिचयको केही दिनमै मैले आफ्नो साधारण जानकारी दिएको थिएँ र उनले पनि त्यसै गरेका थिए।
ति दुरका मित्रलाई मैले यसकारण पनि सम्मान गरेको थिएँ कि एक नयाँ जोस जाँगरको नेपाली युवा, जो पढेलेखेको छ, नयाँ सोच बिचार दृष्टिाकोण बोकेको छ। देश बिदेशको अवस्था देखेभोगेको छ, युरोपमा कार्यरत छ ,यस्ता मित्रबाट धेरै नयाँ कुरा जान्न सकिन्छ। ति मेरा मित्र अर्थात बिपिन (नाम परिवर्तन) संगको मित्रताको उमेर त्यसबेला सम्म त्यस्तै तीन या चार महिनाको हुंदो हो।
मलाई प्रस्ट सम्झना छ त्यो दिनको घटना अझै पनि। अघिल्लोदिन पुस्तक पसलबाट किनेर ल्याएको खालिद हुसेनको चर्चित उपन्यास "दी काइट रनर" मा बेपर्वाह हराइरहेको थिएँ । पढ्दापढ्दै आँखा थाकेर चिम्सा भएपछी खुइया गर्दै काखे कम्प्युटर क्लिक अन गरेँ ,बिपिन देखा परिहाले 'हाइ दीप्स!' भन्दै। निक्कै दिन भएको थियो बिपिन सँग कुरा नभएको। अभिबादन साटासाट गरिसक्ने बितिक्कै बिपिनले केही आदेशात्मक केही अभिभाबकिय हिसाबले भने," दीप्स! आज मैले तिम्रो hi5 प्रोफाइल हेरेको थिएँ,केही अप्ठ्यारा कुरा देखेर तिमीलाई सम्झाउन खोजेको।"
'अप्ठ्यारा कुरा?' मैले सोचेँ कुनै साथीले बदमाशी गरेर केही आपत्तिजनक तस्बिर या शब्द राखिदिएछ कि! बिज्ञानले दिएको बरदान् स्वरुप द्रुत्ततर समयको अलौकिक सुबिधा र सहजता संगै पाइलापाइला मा घट्नसक्ने दुर्घटनाका अनेकन त्रास पनि हामी संगै बुर्कुस्सीरहेको हुन्छ। त्यो हामीले स्वयँ चाहेर या नचाहेर हुने या नहुने पनि होइन। यही अवस्थाको कुटिल सदुपयोगमा निर्दोश मन र भाबना बोक्नेहरुका सादा स्वच्छ अनुहारमा हिलो छ्याप्नु छ्यापिनु साइवरीय दुनियाँमा केही गार्हो या नयाँ कुरा पनि होइन। यती हुँदाहुँदै पनि आजको युग साइबर-इन्टरनेट दुनियाँबाट न कोही भाग्न सक्छ न नकार्न नै। कसैले सकेको छैन मैले किन सक्थेँ।
हतारिंदै सोधेँ,"हँ के रहेछ र? निकै भो मैले त्यता हेरेको पनि पो छैन। कसैले केही आपत्तिजनक कुरा राखिदिएछ कि?"
"कसैले होइन। तिमी आँफैले राखिछ्यौ र पो मलाई अचम्म लाग्यो।"
"मैले आँफैँ राखेँ रे?!!"
'दी काइट रनर' मा रमिरहेको मन र आँखा केही छिनको थकान मेट्न मात्र कम्प्युटर छिरेको थियो तर अब कुरा लम्बिने नै भो।
"के भन्यौ बिपिन?? मैले आँफै राखेँ रे? कसैलाई हेर्नै अप्ठ्यारो हुने कुरा म कसरी राख्छु पब्लिक साइटमा?? म पागल त होइन नि!"
"आफ्नो फोटो एल्बम हेर न । थाहा भाईहाल्छ नि!"
हतार हतार hi5 फोटो एल्बम खोलेर हेरेँ उही मैले नै राखेका केही परिवारका साथीहरुका तस्बिर मात्रै थिए।
"यहाँ त मैले नै राखेका केही तस्बिर मात्र छन त ,,के छ यहाँ त्यस्तो अप्ठ्यारो कुरो?"
बिपिन पड्क्यो उता बाट," त्यहा को को केटामान्छेको फोटो पनि छन नि त। तिम्रो श्रीमान बाहेकका को हुन् ति केटा मान्छे ?? त्यही फोटोको कुरा गरेको क्या!"
"त्यहा केटाको मात्रै छ त तस्बिर?? केटीको पनि छन नि। तिनिहरु त मेरा साथी हुन्।ती मध्य कोही नेपाल मै छन कोही बाहिर तिर पढ्दै काम गर्दै छन्। फेरी ति तस्बिरमा त्यस्तो आपत्तिजनक के कुरो छ र??"
"केरे! तिमी त बडो गज्जब कुरो गर्छ्यौ दीप्स! एउटा केटी मान्छे भएर त्यो पनि तिमी त बिवाहित र बच्चाको आमा समेतले को को केटाहरुको तस्बिर आफ्नो एल्बममा राख्नु आपत्तिजनक कुरो होइन?! के यो नैतीक काम हो त??"
'के यो नैतीक काम हो त?' वाक्य संगै म यसरी पछारिएँ बिपिन संगको मित्रतामा कि मलाई तत्क्षण बिस्वासै लागेन म एक पठित नवयुवक संग बात् गर्दै छु जसले देशबिदेशको बिबिध बातावरण संस्क्रिती कला र बिज्ञान देखेको छ। जो तत्काल भूगोलको अत्याधुनिक बिकशित् ठाउँमा कार्यरत पनि छ।
स्वाभावत: मलाई छिट्टो रिस उठ्छ तर पनि त्यसबेला सम्हालिँदै सोधेँ, "बिपिन! एउटा साथीले अर्को साथीको सम्झनाले सम्मानले मायाले तस्बिर संकलन गर्नुमा नैतीक अनैतीकताको सवाल कहाँ आउँछ?? फेरी बिबाह या बच्चाको आगमनसंगै एउटी महिलाको आम जिन्दगी, यावत मित्रता सबै सकिन्छ र? यसै पनि म नयाँ सोच राख्न चाहने, समयको सकारात्मक् परिवर्तन रुचाउने,दुइ अक्षर आर्जन गरेको एक स्वाभिमान र जिम्मेवार युवती हुँ। कोही साथीको तस्बिर राख्दैमा म गतिछाडा,अनैतीक या गैर्हजिम्मेवार त हुन्न नि। फेरी मैले गुमनाम केही गरेको पनि त होइन। साथीहरुको तस्बिर त पब्लिक फ्रेण्ड साइटमा राखेको छु जो मेरा परिवार या उनिहरुका आफन्त सबैले देख्न सक्छन। यसमा नैतीकताको सवाल कहाँ उठ्यो? यदी मैले त्यो ठाउँमा तिम्रो तस्बिर राखेँ भने तिमी के भन्छौ??"
मेरो लामो व्याख्या र सवाल पछी लामो उच्छ्वास तान्दै बिपिन बोल्यो,"दीप्स! जस्ट अ मिनट , वान्ना ग्लास अफ वाटर।"
यती तितो प्रश्न र बिचार सुनिसकेपछी बिदा माग्दै चुप लागेर बस्न सक्थेँ तर मलाई बिपिनको असली आधुनिक सोच जान्ने उत्सुकता अझै बढ्यो ,,म पर्खिरहेँ उसलाई।
"आम ब्याक"
"ओके गो अन"
"हेर दीप्स, साथीले साथीको तस्बिर राख्नु नराम्रो कुरा होइन तर तिमी त केटी मान्छे र अझै बिबाहित् पनि। कोही केटाले त्यसो गरेमा नराम्रो हुँदैन तर केटीले ,, !! तिमीलाई त्यस्तो सोखनै छ भने घरैमा एल्बम मा राख्न सक्छौ । यसरी पब्लिकमा राख्दा छबी बिग्रन्छ। मेरो तस्बिर भएकोभए यो कुरै आउनेथिएन नि। सबै साथी म जस्तो असल नै हुन्छ र? मैले त यो सबै तिम्रै भलाइको लागि भनेको हुँ,अन्यथा नलेउ।"
बिपिनको मेरो भलाइको चिन्ता र बिचार को यो बिराटता देखी सुनिसक्दा म अधैर्य जस्तै भैसकेको थिएँ । केटीमान्छेले या महिलाले के गर्ने के नगरने भनेर तोक लगाउने ऊ को हो? मित्रवत व्यबहार ,संपर्क-सञ्चार को चाहना, हार्दिकता र सम्मान जस्ता मानविय सम्बेदनाका कुरा प्रकृतिले नारीपुरुष दुबैका हृदयमा समान तवरले राखिदिएको छ भने त्यसलाई परीधिमा बाँध्ने ऊ को हो? अझै राख्नै थियो भने घरैमा एल्बममा राख्नु रे ,पब्लिकमा होइन रे। गल्ती नै हो भने त्यो त जहाँ गरिँदा पनि गल्तिनै भयो नि! फोटो राख्नु नै अनैतीक हो भने घरमा होस् या पब्लिकमा त्यो समान अपराध होइन र? कि घरमा याने कि पर्दा पछाडि जे पनि ठीक ,बाहिर आए बेठिक?? नारी पुरुष (यदी दुबै मान्छे नै हुन भने) को छबी बिग्रनु र नबिग्रनुको मापन पब्लिकमा देखिनु र अन्धकारमा कुहिनुमा समान हिसाबले हुन्छ? उसको तस्बिर राखेको भए केही नहुने रे, किनकी ऊ आँफै चाँही 'असल' साथी रे। आफुले आँफैलाई 'असल' देख्नु र अरुलाईखराब देख्ने अधिकार कस्ले दियो उस्लाई?? ऊ आँफैँ यसबेला कोही परस्त्री संग च्याट गर्दै छ , यो चाँही उसकै 'अनैतिकताको' परिभाषा भित्र पर्दैन??
वकालत,खण्डन,प्रतिबाद को कती कती ओइरो मनभरी हुँडरिँदै थियो तर त्यसबेला ऊ संग बहस गर्नुको अर्थ नै देखिन। मैले भनेँ," बिपिन! भोली तिम्रो जीवनमा आउने कोही नारी,जन्मिने छोरीचेलीहरुलाई तिमीले दिने संस्कार,शिक्षा, परीधि र बातावरण यही नै हो?? यदी हो भने तिमी कती हद सम्म आफुलाई समझदार् सभ्य आधुनिक शिक्षित युवा मान्छौ अठारौँ शताब्दिका जिजुबाजे भन्दा??"
मेरो प्रश्न सकिन नपाउंदै बिपिन ओइरियो एकै श्वासमा,"दीप्स! हाउ डेयर यू टु कम्पेयर मि विद 18th सेन्चुरि'ज ग्र्याण्ड्पा? म भनेको एक शिक्षित,समझदार,सभ्य आधुनिक युवा हुँ,जसले आजको युरोपको हावामा श्वास फेरिरहेको छ यो कुरा तिमीलाई पनि थाहा छ। तर छोरी भनेको छोरी नै हो । उसले सिमा नाघ्न हुंदैन। म मेरो श्रीमती छोरी चेलीलाई यस्तो खालको छुट कदापी दिने छैन।"
यो पाली म लग्भग घाइते नै भएँ उसको औपदेशिक भाषणले। सिमा नाघ्ने छुट त कसैलाई छैन, हुनुहुँदैन । छोरीलाई मात्र किन लाग्ने यो नियम? कती सजिलै उसले भनिदियो कि उसले यो खालको छुट दिने छैन , मानौं ति नारी जातिका मान्छे हुनुको हक उसका खल्तिका दक्षिणा हुन् जसलाई ऊ आफ्नो इच्छा अनुसार दान गर्नेछ। मलाई आफ्नो आँखाको कोश रसाएको आभास भयो, एक नयाँ पुस्ताको आफुलाई आधुनिक, शिक्षित र सभ्य भनाउने युवा मगजले आजको समयमा पनि नारीलाई लिएर बनाइराखेको धारणा र मानसिकता देखेर। लाग्यो के फरक छ यो शिक्षित बिपिन र अशिक्षित जीवन बाँचेर अस्ताएका जिजुबाजेको मानसिकतमा??? उसको जिन्दगीमा आउने कोही नारी र स-साना चिचिला कोपिला छोरीहरुको सम्भाबित जन्जिरयुक्त जिन्दगी सम्झेर तत्क्षण सहानुभूतिको लामो श्वास फ्याकेँ।
निकै लामो मौनता पछी बिपिनले ३ बज हानिसकेछ र भन्यो," दीप्स ! आर यु देयर??"
मैले शब्द बटुलेर यतिनै भन्न सकेँ," बिपिन! म तिम्रो 'असल' मित्रको कित्तामा उभिन तिम्रो परिभाषाको 'नैतिक' बन्न सक्दिन र कोही अनैतिक ब्यक्ती संग मित्रता राखिरहन तिमीजस्तो नैतिकवान आधुनिक युवालाई सुहाउँदैन पनि। तसर्थ दिस इज माइ लास्ट वर्ड टु यु । गूड्बाइ!!"
लामो खुइया पछी 'बिपिन' नाम म्यासेन्जरबाट डिलिट गरेँ र पल्टाएँ 'दी काइट रनर' को अर्को पन्ना।
म तिम्रो परिभाषाको 'नैतिक' बन्न सक्दिन
दिप्स शाह on 2:16 AM