जिन्दगीनै आँफैमा एक सिङ्गो नाटक होइन र?

नेपाली बिषयको किताबमा भएको "टिका" नामक नाटक पढाईसकेर नन्दलाल सरले भोली सबैले एक एक वटा नाटक लेखेर ल्याउने उर्दी कक्षामा जारिगर्नुभए अनुरुप भोलिपल्ट सबै मध्य केहीले लेखेर ल्याएछन जसमध्ये मेरी सहपाठी इन्दिरा रेग्मिले लेखेको "छोरीको कर्म" नामक नाटक उत्कृष्ट ठहरियो। छोटो प्लटको समसामयिक नाटक भएको हुँदा सोही नाटक अर्को आउने हप्तान्तमा बिध्यालयमा मञ्चन गर्नुपर्ने भन्ने सरको आदेश र सल्लाह बमोजिम धुमधाम संग तयारीमा जुट्यौँ। अहिले सम्झिँदा हांसो लाग्छ । दुइजना पुरुष पात्र र तीन जना नारी पात्र रहेको उक्त लघुनाटकमा एउटी बिधुवा आमा र उसकी जवान छोरी जसको बिहे भैसकेको, एक प्रौढ जोडी र तिनिहरुका एक जवान छोरा जो अर्की जवान केटीका पती हुनुपर्नेमा हामीले ति पुरुष पात्रका भूमिकामा कुनै पुरुषनै यानेकी कक्षाकै कोही छोरामान्छेलाई अभिनय गर्न नदिने भयौँ यो कुराले ठुलै खल्बली मच्चेको थियो उसबेला । नाटकमा कसैकी स्वास्नी बनेर अभिनय गर्न त्यसबेला सम्म हाम्रो सोच त्यती फराकिलो भइसकेको थिएन रहेछ कि त्यो अभिनय सम्झिंदा पनि हामी लाजले रातोपिरो हुन्थ्यौँ । निकै बखेडा गरिसकेपछी हामीले निधो गर्यौँ कि सबै पात्र केटीहरुले नै अभिनय गर्ने तर केटाको भेष धारण् गरेर। अन्तमा प्रस्ताब पारीत भयो । घरमा गएर आफुले नाटक अभिनय गर्ने र निर्देशन् समेत गर्ने खबर सुनाएपछी सबैभन्दा धेरै मेरो बाबा खुशी हुनुभयो र मलाई यती बेर काखमा बसाल्नुभयो ,,,सम्झिँदा अहिलेपनी आँखा डम्म भरिन्छ। कक्षामा मलाई नै धेरै बोल्नुपर्ने, झैझगडा समेत गर्न तम्सिनुपर्ने, हक्की स्वाभाबकी थिएँ म शायद यहिकारण उक्त नाटकको निर्देशन देखी सबै कामको जिम्मेवारी मैले पाएँ। र जीवनमै पहिलो पटक म आँफै पनि एक बुढी र कर्कशा सासुको भूमिकामा अभिनय गर्ने भएँ । एक हप्ता लगाएर हामीले सक्दो राम्रो रिहर्शल गर्यौँ र मञ्चको लागि आवश्यक सामान, पहिरन सबै आफुआफुमै बांड्फाँड गर्यौँ घर घरबाट ल्याउनकोलागी। घर गएर पनि म राती अबेर सम्म एक्लै आफ्नो सम्बाद बोल्दै रिहर्सल गरिरहन्थेँ र बाबा ले बिच बिचमा सिकाउनुहुन्थ्यो। तर आमाले भने मन पराउनुहुन्नथ्यो। छोरीले यो सब गर्नुको कुनै अर्थ छैन, लाज पच्छ र छाडा हुन्छन भन्ने बिचार आमा राख्नुहुन्थ्यो। अनी बाबाले हपार्नुहुन्थ्यो आमालाई,"छोरिलाई पनि आँफै जस्तो गँवार बनाउन चाहन्छेस??" शायद यही कारण हुन सक्छ म मेरो बाबा रहुन्जेल सबैभन्दा बाबाकै प्रिय थिएँ र अहिले सम्झनामा मात्रै पनि म सबैभन्दा बेसी बाबालाई नै माया गर्छु । आमाले जे भन्नुहुन्थ्यो सबै अशिक्षाको कारण हो भन्ने कुरो म बाबा बाटै बुझ्ने गर्थेँ तर पनि आमाले चाँही आफुलाई माया नै गर्नुहुन्न जस्तो मात्र लाग्थ्यो त्यो मेरो बच्पना सोचाइ थियो जो अहिले बुझ्छु।
स्कुलमा नाटक मञ्चन गर्नुपर्ने दिनको अघिल्लो साँझ घरमा पुगेर पनि म त्यही नाटककै बिषयमा सोचिरहेको थिएँ। तर त्यो दिन बाबा काम बिशेषले अलिक अबेर घर फर्किनुहुने हुँदा थप रिहर्शल आमाको अगाडि सम्भब थिएन ,मैले केही उपाय सोचेँ र अंध्यारो पर्खन थालेँ। बिस्तारै अंध्यारोले छोप्तै गएपछी सुटुक्क घरदेखी अलिपर्तिर परालको थुप्रो छेउ गएँ र त्यहीँ एक्लै आफ्नो सम्बाद सम्झिँदै रिहर्सल गर्न थालेँ अंध्यारोमै। कतिखेर ढिलो भैसकेछ मलाई त पत्तै भएनछ ,,निकै अबेर भैसकेपछि पो मलाई झस्का लाग्यो अब आमाले मार्नुहुन्छ ! बाबा पनि अैपुग्नुभएको छैन। आमाले खोजी पनि गर्नुभएन किनकी बाबा नहुँदा म प्राय यताउता हराउनेगर्थेँ आमाको खप्की बाट बच्नको लागि। आमा जतिबेलै पनि भान्छाको काम गर, सिक्नुपर्छ भन्नुहुन्थ्यो जो मलाई कहिल्यै दिलचस्पी लागेन जबसम्म साँच्चैको जिम्मेवारी परेन म आँफैलाई। त्यो दिन पनि त्यस्तै भयो ,बाबाको खोकी आवाज नसुनुन्जेल घर जान्न भन्दै परालको थुप्रोनिर छेलिएर बसिरहेको थिएँ कतिबेला फुस्सै निदाएछु। निक्कै राती त के भनु तर गाउँघरतिर त अझै पनि साँझ परेपछी रात त्यसैलाई भनिन्छ ,,सहरको झैँ लम्बेतन साँझ अनी बल्ल रात हुने भन्ने मानिदैन। भनुं बेलुकिको ९ जती बज्नुभनेको रात नै हुन्थ्यो हाम्रोलागी, एक्कासी कल्याङ्बल्याङ सुनेर आँखा उघारेछु त टर्च बोकेर बाबा आउनुभएछ मलाई खोज्दै अनी पछीपछी आमा,दाई भाई अनी छरछिमेकी पनि। बाबाले मलाई देख्नासाथ काखिमा च्यापेर सोध्नुभयो म त्यहा परालमा सुत्नाको कारण अनी मैले भनेँ भोली नाटक मञ्चन गर्नुछ , म आँफै निर्देशक पनि भएकोले मैले त सबैभन्दा राम्रो अभिनय गर्नुपर्छ र त्यसकोलागी धेरै रिहर्सल पनि गर्नुपर्छ तर आमाले भान्छाको काम लगाउनुहोला भनेर म यहाँ आएको । मेरो मुखबाट यती फुत्किनसाथ बाबाले आमालाई यसरी झम्टनुभयो ,,,मैले त्यो उमेर सम्म बाबा कसैसँग त्यती हिंसात्मक भएर रिसाउनुभएको देखेकै थिईन ।
निर्दोश आमाले खप्की खानुपरेको देखेर मलाई निक्कै ग्लानी भयो र बाबालाई आफु आँफैखुसी त्यहा गएको र आमाले केही नभन्नु भएको बताएँ। अनी घर पुगेर सबैजन खाना खाइओरी सुत्यौँ । भोलिपल्ट स्कुल जानेबेलामा बाबाले निक्कै बेर मायाले सुम्सुम्याउँदै नाटकको राम्रो प्रदर्शन गर्नु अनी बेलुकी घरमा फर्केर सबै बेलिबिस्तार लगाउनु भन्दै सम्झाउनुभयो। खुशीले फुरुङ्ग पर्दै स्कुल तिर लागेँ । पौने घण्टाको उकालो बाटो पार्गर्नुपर्ने त त्यसदिन खुशीले गर्दा एकै निमेषमा पुगे जस्तो भान भयो। दिउसो २ बजे मात्र कार्यक्रमको समय तोकिएको हुंदा त्यस अघिको कुनै पिरियड पढ्ने मुडनै थिएन ,जसोतसो समय आइपुग्यो।
तन्नाले बारेर बनाइएको स्रिङ्गार कक्षमा निक्कै घम्साघम्सी पर्यो् अभिनयका लागि तयार भएर निस्किन । केटी मान्छे लाई केटाको भेषमा बाहिर निकाल्न र निक्लिन त्यतिखेरको हाम्रो मिहिनेत आज सम्झिँदा रमाइलो लाग्छ। मेरी मावली चेली र सहपाठि रमा पन्त अली पोक्ची र मोटी पनि भएकिले उसलाई ससुरा बाजे बनाइयो। कुन्नी कस्को ढाकाटोपी थियो तर उस्को लामो कपालको गुजुल्टो टोपी भित्र नअटेर कोच्दा कोच्दा हांसेर झन्डै मर्यौँ सबै। मञ्चमा कपाल फुस्काइस भने!! भनेर मैले सजग गराएँ उस्लाई। अनी अर्को जवान छोराको अभिनय बसन्ती रुपाखेतीले गर्ने भै । बाँकी म सासु बनेँ। इन्दिरा रेग्मी बुहारी बनी अनी इन्दिरा पण्डित मेरी सम्धिनी बनिन। एउटी बिधवा ले छोरी अन्माएर पठाइसके पछीको एक्लो बेसहारा अवस्था र बिहे गरेर घरजम गरिसके पछी छोरीले चाहेर पनि आफ्नी आमालाई देखभाल गर्न नमिल्ने ,नसकिने र गर्न खोजेको अवस्थामा उस्ले घर परिवारबाट पाउने ताडना र त्यो अवस्थामा उता बुढी आमाको देहान्त हुने एउटा बियोगान्त बिषय थियो उक्त नाटकमा। कुममा फाटेको चौबन्दी चोली र खाँडिको फरियामा म साँच्चैको कर्कशा सासु देखिएकी थिएँ रे उसबेला। उसमाथि दम को रोगी बनेर घ्यार घ्यार गर्नुपर्ने थियो। साँच्चै नै एक दमदार प्रस्तुती रह्यो हाम्रो त्यो पहिलो मञ्चित नाटक अनी मेरो प्रथम निर्देशन् पनि। अहिले ति सबै मेरा सहपाठि पात्रहरु साँच्चैको बिहेवारि भएर गृहस्थी सम्हाल्दै छन् तर सासु ससुरा बनिसकेका चाँही छैनन्। त्यो प्रस्तुति पछी मेरो तारिफ पनि ह्वात्तै बढ्यो सबैतिर बाट । शिक्षकहरुले अनेकन अड्कल गर्नुभयो मेरो कलाकारिताको भबिस्य सम्बन्धी। खुशीले आकाश चुम्दै म ओरालो बाटो कुदेर घर पुगेँ तर त्यो खबर घरतिर अघी पुगिसकेछ। सबैले बाहिरै सोध्न थाले नाटकको कुरा । हतार हतार घर भित्र पुगेर किताबको झोला र फरियाचोलिको पोको एकातिर फ्यालेपछी दौडिँदै बाहिर सबैलाई बेलिबिस्तार लगाउन थालेँ। बेलुकी अबेर सम्म घर नै फर्किन। साँझ घर फर्किँदा बाबा खाटमा सुतिरहनुभएको रहेछ। यतिबेला सम्म घर नफर्केकी अनी आजको कार्यक्रम कस्तो रह्यो बेलिबिस्तार पनि नलाएकी भन्दै बाबा त्यो दिन नराम्रो झोक्किनुभयो जुन रुप मैले सम्झनाहुनेगरी पहिले देखेको थिइन । म चाँहीँ हौसिँदै सबै भन्न खोजिरहेको थिएँ बाबाको मुड खराब देखेर मलाई रिस उठिहाल्यो। अनी रिसाएर केही भन्दिन भन्दै चोटामा गएर रुँदै बसेँ। बाबाले अलिक बेसी नै पुल्पुल्याउनुभएको थियो मलाई शायद ,अरु सँग भन्दा बाब सँग बेसी नाक बज्थ्यो मेरो अहिले सम्झिँदा। बेलुकी अबेर सम्म बाब मेरो टाउको सुम्सुम्याउदै के के भनिरहनु भयो ,मलाई फकाइरहनुभयो ,मैले धेरै पढेर केही गरेर देखौनुपर्ने, आफ्नै मिहिनेतमा बाँच्नुपर्ने र ति सब गर्नकालागी म सँग पर्याप्त प्रतिभा रहेको ,,मात्र मैले सदुपयोग गर्न जान्न र सक्नुपर्ने कुराको निक्कै निक्कै उपदेश दिनुभयो तर म भने अझै रिसले फुलिरहेको थिएँ ।मैले त्यो दिनको नाटकको विवरण भोलिमात्रै भन्छु भनेँ अनी अलिक अबेर भएपछी बाबा टाउको दुख्न थालयो भन्दै आफ्नो कोठातिर लाग्नुभयो । म पनि सुतेँ। अरु सबै अगिनै सुतिसकेका थिए।
भोलिपल्ट चैते दसैं परेको हुनाले स्कुल जानुनपर्ने थियो र अलिक अबेर सम्मै सुतेँ। उठेर तल भान्छमा झर्दा बाबा अझै सुतिरहनुभएको रहेछ ,बिस्तारइ बाबाको कोठामा पसेँ । बाबाले अझैपनी टाउको दुख्न कम नभएको भन्दै निधारमा भिक्स लगाइदेउ भन्नु भयो। म अरु भन्दा बेसी नै बाबा सँग झ्याम्मिने हुनाले खाना पछी बाबालाई दाँत कोट्ट्याउने सिन्का ठीक पार्ने, बाबाको बिस्तारा मिलाउने, ढलोटको टुटिवाला करुवा टलक्क टल्काएर बाबाको शिरानीछेउको स्टूलमा पानी राख्ने देखी स-साना काम मैले नै गर्नुपर्थ्यो। त्यसबेला पनि एक्छिन त भिक्स दलेर मालिस गरेँ अनी अल्छी लाग्यो। हिजोको नाटकको विवरण सुनाउदै यहिबसेर मलाई भिक्स दलिदेउ भन्नु भयो तर मैले झर्किँदै "दवाइ खानुस् न बाबा! भिक्स्ले पनि निको हुन्छ त?? अनी निको भए पछी म म सबै भनुला नि अहिले मलाई अल्छि लागिराको छ भन्दै उठेर बाहिरतिर कुदेँ। जसरी दिन बढ्दै गयो त्यसरी नै बाबालाई सारो टाउको दु:खन थालेछ, निकै बेर साथीहरु सँग रमाइलो गरेर घर फर्किंदा बाबा अझै बिस्तारामै हुनुहुँदो रहेछ सबै जना बाबा नजिकै बसेका रहेछ्न्। अनी एक छिनमा माथी गाउंबाट ठुलो बाबाहरु पनि आउनुभयो। त्यसबेला सम्म बाबा बोल्नै नसक्ने भैसक्नुभएको रहेछ। चैते दसैंको खुशी निमोठेर बाबालाई हतारहतार हस्पिटल लैजानुभयो सबै मिलेर। बिहान सम्म मैले भिक्स लगाइदेको निधार टल्किँदै थ्यो अझै तर यतिखेर बोल्न पनि नसक्ने भएर अरुबाट बोकाइएर हस्पिटल जानुभएको हेरिरहेँ अनी म पनि बाबा सँग जान्छु भनेर कराएँ तर मलाई कस्ले जान दिनु! त्यसपछी बाबा कहिले हस्पिटलबाट फर्किनुहोला र मैले अभिनय गरेको नाटकको बेलिबिस्तार लगाउँला भनेर पर्खिरहेँ ,,बिडम्बना !! त्यसपछी मैले कहिल्यै पनि त्यो उल्लासको विवरण बाबालाई दिन सकिन र अब कहिल्यै पनि सक्नेछैन । त्यसरी हस्पिटल लगिएको मेरो बाबा कहिल्यै फर्केर घर आउनुभएन। बाबा त उहिराती नै मैले खेलेको नाटकको ब्रितान्त सुन्न नआउनेगरी गैसक्नुभएछ।
बाबा यसरी जानुभयो ,,त्यसपछिका कुनै पर्व,खुसिका क्षण,प्रफुल्लता मेरालागी कहिल्यै आएनन् । बाबा बिनाको कुनै रमाइला पलले मलाई रमाइलो दिन सकेनन्। दुइचारजाना निरिह प्राणीले भरिएको सानो कुटी देख्थेँ मैले आफ्नै घरलाई बाबाको अनुपस्थितिमा। यसरी मेरो जिन्दगीको खाता बाट उल्लासको सिङ्गो अध्यायनै मेटिएर गयो बाबाको अस्त सङ्गै । सम्झिँदा यस्तो लाग्छ ,,की त्यसबखत सम्म म आफ्नो खुशी रमाइलो उल्लसित क्षण गन्दै निर्दोष मन बाँचेको थिएँ तर त्यसपछिको जिन्दगी मैले आफ्नो लागि कम अरुको लागि बेसी बाँचेको हुँला किनकी मलाई राम्रो थाहा छ त्यस्पछि जीवनमा कुनै त्यस्तो क्षणको महसुस गरेको सम्झना छैन जो अन्तरात्मादेखी स्वतस्फूर्त,पिडा रहित तनाबरहित आल्हादित भएर बिताएको हुँला। त्यसयताका हरेक अगिल्लो पाइलामा अभाब, दु:ख, जिम्मेवारी ,कर्तब्य ,सजगता यस्तै यस्तै केहीले अंचेटेकै छ । प्रत्एक अघिल्लो पाइला जिम्मेवारिको बोझले अझै गर्हुङ्गो भएकै छ।
म तेर्ह बर्ष पार गरिसक्दा समेत त्यती कट्टर पारम्परिक परिवारमा जन्मेर हुर्केर पनि म "छोरी' हुँ या छोरी दुर्बल, निरिह हुन्छ भन्ने मैले महसुस गरिन त्यसो हुन मेरो बाबाले कहिल्यै दिनुभएको थिएन। मानसिक तिक्ष्णता र ज्ञानको दायरामा छोरा र छोरी बराबर हुन्छन भन्ने अमुल्य ज्ञान र सत्योत्घाटन मलाई बाबाले नै गराइदिनुभएको थियो तर बाबाको अस्त पछी बिस्तारइमैले ति सब तितो सत्यको सामना गर्नुपर्योण।त्यसपछिका हरेक अप्ठ्यारामा मैले बाबाको मुहार र प्रेरणा सम्झेरै पाइला चालेँ र जिन्दगीलाई नजिकबाट नियाल्ने कोशीस गरेँ। जन्म र मृत्यु् सास्वत सत्यहो जो संसारका सबैले एक पटक ढिलो छिटो आत्मसात गर्नै पर्छ। मुटु भन्दा प्यारा आफन्त गुमाउदाको पिडा सामना गर्नै पर्छ तर आफुलाई परेको बेलामा भने त्यो दुर्दान्त घटनाको भागी सृस्टिममै आफु पहिलो हुँ जस्तो लाग्दोरहेछ। कती नाटकिय तरिकाले पुराना पात झरे झैँ हाम्रा आस्रय गुज्रेर हामीलाई आँफैँ जिन्दगीको तारे भिर पारगर्न समयले लगाउँदो रहेछ।
अहिले त म उसबेलाको जस्ती सानी चक्चके बच्ची रहिन। म आँफैँ आमा भएर सन्तानको माया र जिम्मेवारी के हो बुझ्दै छु। जिन्दगीको रथमा आफ्नहरुलाई बसालेर तान्दै र तानिँदै छु। मलाई थाहा छ बितेर गएका आफन्तहरु कहिल्यै फर्कन्नन् न त समय नै फर्कन्छ।,मेरो बाबा पनि अब कहिल्यै साक्षात मेरो अगाडि आउनुहुन्न। मलाई काखमा राखेर माथा मुसार्दै माया, आस्रय र आशिर्बाद दिनुहुन्न। बाबाको हरेक वाणी सम्झेर जिन्दगीको पथ टेक्दै आज जहाँ उभिएको छु ,फर्केर हेर्दा कुनै त्यस्तो चमात्कार नै त गर्न सकेकोछैन न त बाबाको म माथिको सपना र कल्पना अनी भरोसा नै पूर्णरुपले पूरा गरेको छु तर पनि जीवनमा पाएका स-सना खुशीका झिल्काहरु जस्तो: आफ्नो गाउँ मै एस् एल सि गर्ने दोस्री छोरी हुँदा या १०+२ गर्ने प्रथम छोरी हुंदा, आँफैले कखरा सिकेको बिध्यालयमा प्रथम पटक शिक्षिका भएर उभिंदा होस् या गाउँभरिकै छोरी मध्ये प्रथम स्नातक गर्ने छोरी हुँदा या त त्यो गाउंबाटै पहिलो छोरी मान्छे पत्रकारिता गर्दाको क्षण होस् अनी या त बाँच्नुको कहरमा अल्झिँदै चारोको खोजिमा आज मुग्लान भासिनुपर्दाको तिक्त क्षण,,सर्बप्रथम यि हरेक अवस्थाको समुख पर्दा बाबालाई नै सम्झिएँ र सम्झिएँ जिन्दगीको त्यो कालो दिन ,, हरेक दु:खद भन्दा बेसी स-साना खुशी-प्राप्तिको क्षणमा बाबाको कती धेरैकमी महसुस गरेकोछु कि,,लाग्छ यो भन्दा अफसोस जीवनमा अरु नपर्ला कि!
बाबले कती रहर गर्दा पनि मैले मेरा खुशीका कुरा सुनाइन, बाबाले अनुरोध गर्दपनी निधारमा भिक्स लगाइदिइन त्यो दिन जो अब मैले जीवनको सबैभन्दा ठुलोप्राप्ती भेटेको दिन पनि कुनै मुल्यमा त्यो क्षण त्यो अवस्था र त्यो अलौकिक सानीन्ध्यता प्राप्त गर्न् सक्दिन । म बुझ्ने भइसकेको छु कि म जान्दछु रुनु समस्या को समाधान होइन र पिडाहरुको औषधी पनि होइन तर पनि ब्यस्त जीवनको एक पल एकान्त भेट्ने बितिक्कै कतै सुटुक्क एक्लै बसेर बेफिक्री रोइदिन मन लाग्छ । कुनै बेला यती धेरै रोएको हुन्छु समय बितेको पत्तै हुँदैन ,,भन्छन रोएर आशु नै सुक्छ तर मलाई यो विश्वाश लाग्दैन। आशु कहिल्यै सुक्दैन रहेछ। कहिले पस्चातापमा ग्लानिले कोतरिएर रुन्छु त कहिले अभिसाप अनुभुत गरेर रुन्छु। हाँस्नलाई सिमित झिल्काहरु छन यहाँ त रुनलाई अनेक बहाना भेटिन्छन्। बुझ्दाबुझ्दै पनि धेरै पटक यस्तो लाग्छ ,,की हिंड्दाहिंड्दै कुनै मोडमा कतै बाबा भेटिनुहोला र म त्यो मेरो जिन्दगीको प्रथम अभिनित र निर्देशित नाटकको ब्रितान्त बताउँला अनी बाबाको टाउको आफ्नो काखमा राखेर भिक्स लगाएर मालिस गरिदिउँला ,,मलाई जन्माउनुभएको हुर्काउनुभएको ,पढाउनुभएको र स्वावलम्बन बाँच्न सिकाउनुभएको अनी जिन्दगीको सत्य बुझाउनुभएको ऋण तिरुँला यस्तै यस्तै दिवास्वप्न देख्छु । त्यसै दिन मैले मञ्चन गरेको नाटकको पटाक्षेप झैँ जिन्दगीको मञ्चमा जुन नाटक अहिले अभिनय गर्दैछु ,मलाई थाहा छ कुनैपनी बेला यसको पनि पर्दा लाग्न सक्छ तर ,,,तर पनि त्यो दिनको नाटकको सम्झनाले मलाई यसरी पोल्छ ,,मैले किन उसै दिन बाबालाई सबै सुनाइन!! मलाई चिच्याएर भन्न मन लाग्छ कि बाबा!! हजुरलाई नसुनाएको नाटक को ब्रितान्त पछी मैले जिन्दगीको साक्षात मञ्चमा बाहेक कुनैपनी कृतिम मञ्चमा कुनै नाटक मञ्चन गरिन,, र शायद गर्ने पनि छैनहोला। के मैले बाँचिरहेको यो जिन्दगीनै आँफैमा एक सिङ्गो नाटक होइन र?

 
साहित्यसंसार