ति दिनहरुमा म भागीभागी हिँड्थेँ। भरसक मान्छेका सामु नपर्नु परे हुन्थ्यो जस्तो लाग्थ्यो। हुनपनि कसले बाँकी राखेनन् मलाई त्यो प्रश्न सोध्नलाई। जस्को मुखमै पनि एउटै प्रश्न हुन्थ्यो "श्यामि! भनन! किन? त्यो घटनाको कारण के थियो??"
घर, छिमेक, मेलापात, स्कुल, कलेज,जताततै सबै सबैले यती सम्म हैरान बनाउथेकी कुनैबेला त भाउन्न भएर बान्ता नै होला जस्तो हुन्थ्यो। जस्ले पनोइ त्यही प्रश्न गर्थ्यो जुन प्रश्नको जवाफ म आँफै संग थिएन। म आँफै अध्यारो गुफामा थिएँ र खोज्दै थिएँ त्यही प्रश्नको जवाफ तर मलाई थाहा छैन भनेर कसैले पत्याउदैनथिए। कसैले पनि विश्वाश गरेनन्। हरेकक्षण म आँफै सुन्यतामा सोधिबस्थेँ "हे भगवान! के हुन सक्थ्यो त्यो घटनाको कारण??"
आज झन्डै दशौँ बसन्तले फड्को मारेर समय कहाँ पुगिसक्यो। समय सङ्गै त्यो घटना र कारणको जिज्ञासा पनि सबैले भुलिसकेहोलान् । जिन्दगीको अपत्यारिलो यात्रामा मेरै जीबनमा कैयौ उतारचढाब आयो गयो, जीवन बाँच्ने घुम्ती र गोरेटो पार गर्ने यो दश बर्षको अवधिमा अन्य कैयन घटना घटे बिलाए। कैयन उतारचढाब स्मृ तिपट बाट सदाको लागि मेटिएर गए। तर त्यो डरलाग्दो घटना ,भयङ्कर आँधी,त्यो बिनाशी तुफान र त्यसले छोडेर गएको प्रश्न ले यतिका समयपछी सम्म पनि मलाई सताइरहेकै छ। र त्यही प्रश्न सङ्गै ति दिन त्यो बातावरण एकनाशले मेरो मथिङ्गलमा घुमिरहन्छ। निसास्सिएको मनले फेरी उही पुराना कुरा र उही प्रश्न दोहोर्याइ दोहोर्याइ अगाडिअौछ।
S.L.C पछिका बिध्यार्थीलाई त्यती बेला हाम्रो तिर फुकेको साँढे भन्ने चलन थियो। अझै पनि भन्छन होला। स्कुले तन्मयता,पावन्दी, गुरुहरुको निर्देश र निगरानी बाट उम्केका ति सुरुका दिनमा साच्चैनै हरेकका अनुहारमा एउटा बेग्लै उत्साह, उल्लास र चन्चलता देख्न लायकको हुन्थ्यो। घरदेखी ५ रुपैयाँ भाडा को दुरिमा पहिलो दिन ११ क्लासको उपस्थिति जनाउन जाँदा मैले खैरो रङ्गको कुर्ता सलवार लगाएको थिएँ। त्यो ठाउमै प्रथम पटक १०+२ सन्चालनमा आएको हुंदा अझै विद्यार्थी युनिफर्मको टुङ्गो नलागिसकेको अवस्थामा स्वतन्त्र लुगा लगाउन पाइएको थियो। पहिलो दिन हुन गैरहेको क्लास, थोरै डर, उमङ्ग सबै एकैपटक भुमरी खेल्दै थ्यो मनमा। हिच्किचाहट बोकेर कलेजको गेट भित्र पाइला राख्न साथ् जोड्ले खोकी लाग्यो ,पहिलो खोकिको तोड्मै बिडम्बना!! मेरो सुरुवालको इंजार पछाडिबाट झ्वाट्ट चुँडियो। आत्तिएर निली हुँदै कुर्ता बाहिरै बाट कुहिनोले सुरुवालको इँजार कमरमा अड्याएर हतार हतार एताउता कुर्ताको फेरोमा कतै सेफ्टी पिन छकी भनेर खोजेँ तर थिएन। मैले सोचेँ एकमनले घर फर्किउँ! तर कसरी?? म त एकपाइला पनि सार्ने अवस्थामा थिइन। पहिलो दिनको कलेज मेरो! म जड्वत उभीइरहेँ रसिलो आँखा लिएर।
अचानक कोही पछाडिबाट आएर सोध्यो ,
" तपाईं क्लास लिन आउनुभएको हो?"
झस्किँदै फर्केँ ,एउटी चन्चले आँखावाली केटी रहिछ हातमा चारवटा कपी किताब च्यापेकी । मैले उसको हो सङ्गै आफ्नो पिडा पनि सुनाइहालेँ एकै श्वासमै। लामो हाँसो हांसिसकेर उसले आफ्नो कुर्ताको भित्री फेरोबाट दुईटा लामा लामा सेफ्टी पिन झिक्दै भनी,
"नो टेन्सन!"
अनिउसैका आडमा च्यापिँदै सौचालय भित्र घुसेर ति सेफ्टी पिनका सहाराले सुरुवाल अड्याएर आफुलाई सेफ गरेँ । उसको नाम सन्जू रहेछ। पातलएे अग्ली लामो केश चन्चले आँखा र हमेसा ओठमा फैलिरहने उसको मुस्कानको कारण सबैका आँखा ऊ तिरै अडिन्थे।
त्यही सुरुको दिनको मेरो सुरुवालको इँजार र उसको सेफ्टी पिनले सुरु भएको हाम्रो मित्रताले तुरुन्तै बाट रङ्ग देखाउन थाल्यो। त्यही क्षणबाट हामी अत्यन्त नजिक भयौँ। मिलेर नोट गर्ने, एकको अनुपास्थितिमा अर्कोले कभर गर्ने, बिहान जो पहिले पुग्छ उसले अर्को लाई कलेजको गेट्मै पर्खिरहने, क्लासमा बस्दा सङ्गै बस्नुपर्ने, बाहिर जता निस्किँदा पनि हातमा हात गाँसेर हिँड्नुपर्ने,क्यान्टिनमा खाजा खाँदा पहिले एक भाग अर्डर गरेर एउटा प्लटेमा दुई तिर बाट खानु पर्ने, अनी अर्को भाग पनि त्यसै गर्ने,एउटै कपमा चिया पिउनुपर्ने ,,,तिन ताका हाम्रो मित्रताको त्यो रुप देखेर सबै छक्क पर्थे। मलाई थाहा छ कतिले त भित्र भित्रै इर्श्या पनि गर्थे। यती सम्म कि कहिले काही प्रस्नोत्तरको क्लासमा कुनै दिन उत्तर दिन नसकेको बेला गुरुहरुले समेत आज तिमी दुई जन अलग अलग बस भनेर सजाय दिनुहुन्थ्यो।
साच्ची भनु भने सन्जू बाहेक अरु कोही त साथी नै होइन या जरुरत नै पर्दैन भने झैँ लाग्थ्यो मलाई। हामी दुई बिच दु:ख सुख ,कल्पना, भविस्य का समेत कुरा हुन्थे। १०+२ सकेर काठमाण्डौ जाने, एउटै डेरामा बस्ने, जागिर खाने, सँगै मिलेर भबिस्यको खाका कोर्ने यस्तै यस्तै कुर हुन्थे हामी बिच । ऊ भबिस्यमा फेसन डिजाइनर बन्ने सपना बुन्थी। म समाजशास्त्र पढ्ने रहर गर्थेँ। तर हामी दुइको साझा रुची साहित्य थियो। सन्जू साहित्य पढेर आनन्द लिन्थी, म कहिलेकाँही लेखी पनि टोपल्थेँ।
छोटो अवधिमै सन्जू मेरो जीवनै अभिन्न अँग जस्तो बन्न पुगेकी थिई। हामी धेरै सँगै रुन्थ्यौं, हाँस्थ्यौँ, यस्तो लाग्थ्यो हामी पूर्व जनम देखिकै अभिन्न साथी हौँ।
फरासिली र सुन्दरताकी धनी अग्ली सन्जु कलेजको प्राङ्गणमा ठुलो स्वरले हाँस्दै गर्दा सबै केटाहरु फर्केर हेर्थे। कती केटीहरु जल्थे पनि। कुनै दिन ऊ या म क्लास नआउंदा अरुले सोधेर हैरान पार्थे। यस्तो कि हामी दुबैलाइ थाहा हुन्थ्यो एक अर्काको हरेक समस्या र कारण। पछी त हामीले एकजनाको काम परेको बेलामा दुई जनै नआउने गर्न थाल्यौँ। एक अर्का बिना क्लासनै शुन्य लाग्थ्यो। एक्दिन मैले जिस्किएर उसलाई भनेको थिएँ,"ओई! सन्जू! म अब बिहे गर्छु यार। केटाहरु घरमा आकोआकै छन् माग्नलाई।" यतिमै अध्यारो मुखलागएर त्यो दिन सन्जू निक्कै बेर रोएकी थिई। हामी सँगसङै मिलेर आफ्नो खुट्टामा उभिने, मिलेर भविस्य बनाउने भनेर तिमी अहिले नै बिहे गरेर मलाई एक्लै छोडेर जाने???" लामो बेरको सुँक्सुँक पछी सन्जूले यसरी मेरो बिहेको कुरोको प्रतिबाद गरेकी थिई।
एकदिन उसले भनी 'श्यामि! एकदिन मेरो घरमा हिँड न ! मेरो बाबा आमाले तँलाई खुब भेट्न खोज्नुभाको छ। "
त्यो दिन २०५७ साल मँसिर २३ गते शुक्रबार थियो। मैले आईतवार क्लास लिन आउँदा आमालाई सोधेर आउँछु भने। क्लासपछी घर जानेबेलामा म गेटको बाहिरै गाडी कुरेर बस्थेँ घर जानलाई। उसको घर चाँहीँ रोड काटेर धानको फाँटै फाँट झरेर तल खोल्ची तरेर जानु पर्थ्यो। मेरो गाडी नआउन्जेल म सङ्गै उभिरहन्थी ,अनी मात्र आफ्ना बाटा लाग्थी सँधै त तर त्यो दिन गेटमा पुग्नासाथ् मलाई फर्केर पनि नहेरी भनेकी थिई , "श्यामी! म गएँ है! आइतबार भेटुँला ।" मलाई थोरै अचम्म लाग्यो तर बाइ! भनेर उसलाई जाँदै गरेको हेरिरहेँ। फाँट बाट ऊ ओझेल परेपछी मेरो गाडी पनि आयो ,म घर तिर लागें। बेलुकी घरमा खाना खानेबेलामा आमलाई सन्जू को प्रस्ताब् सुनाएँ । पहिले त आमाले छोरी मान्छे अर्काको घरमा बासै बस्नेगरी किन जानु! भन्दै अन्कनाउनुभयो। हुन पनि मेरोपरिवारले सन्जूलाई कहिल्यै देखेको पनि थिएन। सिवाय मैले गर्नेगरेको उसको चर्चा र देखाएको फोटो बाहेक।
तर मेरो जिद्दी पछी आमाको तर्फ बाट सहमती आयो। त्यसपछी त खुशीले मैले खाना पनि मन गरेर खाइन। जसो तसो शनिबार याने कि २४ गते बित्यो। आईतवार २५ गते बिहान हतार हतार कलेजको लागि तयार भएँ। भरे सन्जूको घरमा रहँदा लगाउने लुगा पनि ब्यागमा कोचेर उत्सुकता साथ् कलेज लागेँ। घरबाट निस्किनै लाग्दा चोटा बाट आमा कराउनुभयो "भोली आउँदा सन्जू लाई पनि लिएर आइज नि!"
मँसिरको झिस्मिसे जाडो बिहान, एउटा राक्षसी चिसो हावाको झोँकाले बेस्सरी छिरल्यो मेरो कपाल जब म कलेजको गेटमा पाइला राख्दै थिएँ। सन्जू सँधै जसो त्यहा उभिएकी थिईन। मैले सोचेँ आज त म पो पहिले आएछु। त्यहीँ उभिएर उसलाई पर्खिँदै तल तल फाँटतिर आँखा कुदाएँ। अहँ ऊ आईन।
त्यतिकैमा क्लासकै एउटा केटो नजिकै आयो र भन्यो,"श्यामी! सन्जूले त हिजो स्युसाइड गरी रे नि हो??"
थाहै नपाई मेरो हात बज्रिएछ केटोको गालामा। ठीक त्यही बेला एक्जना गुरु आएर भन्नुभयो "श्यामी! कुरो यही हो , होसमा आउ!"
उनिहरुलाई लागेछ मैले थाहा पाएर पनि स्विकार्न सकिरहेको छैन।
म यो बकवास हो भन्दै चिच्याउँदै थिएँ, पछी पानीले निथ्रुक्क भिजेको अवस्थामा कलेजको प्राथमिक उपचार कक्षमा पाएँ आफुलाई।
अरुका अनुसार म रुँदारुँदै अचेत भएछु अनी साथीहरुले पानी पट्टी लगाइँदै राखेछन। चेत आएपछी मैले सन्जूको घरमा जान जिद्दी गरेँ ,जहाँ सोही दिन क्लासपछी जाने भन्ने सन्जूको र मेरो पूर्वयोजना थियो। आधी घण्टा धान खेतैखेत हिँडेपछी खोल्ची हुँदै जानुपर्नेरहेछ उसको घर। हामी ३ जान गुरु समेत ४३ जाना त्यता लाग्यौँ। सन्जू सबैकी प्यारी थिई त्यसैले पनि पुरै कलेज अत्यन्त मर्माहत थियो उसलाई गुमाउदा। म त शुन्यमा थिएँ ,सपनामा छु जस्तो लाग्दै थियो। बाटोको खोल्चिमा ३,४ टुक्रा काठ खरानीमाथी धुँवाउँदै थियो। सबैले मेरो मुखमा हेरेर खास्खुस गरे, त्यही खस्खुसको फुस्फुसमा मैले सुनिहालेँ कसैको मुख बाट "यहीँ हो उसलाई जलाएको। श्यामी लाई भन्नु हुँदैन।" म फेरी आकाश छेड्नेगरी चिच्यौँदै रुन थालेँ, मलाई लाग्यो त्यो खरानी मा लट्पटिउँ ,,,त्यहीँ म पनि जलुँ । साथीहरुको कब्जामा सम्हालिँदै सन्जूको घर पुग्यौँ। टन्न मान्छेहरु भिड लागेका, सबै रुँदा रुँदा थाकेका। मेरो तस्बिर मात्रै देखेको उसकी आमाले मलाई चिनिहालिन र चिलले चल्ल झम्टे जस्तो गरी मलाई छोप्दै सोधिन् "श्यामी! तिमी होइन श्यामी! तिम्री साथीले सबैलाई छोडेर टाढा गई! किन गई?? किन यो घटना घट्यो?? भन श्यामी ! तिमीलाई त थाहा छ अवस्य, किन श्यामी!!"
हो त! किन?? किन यो घटना घट्यो?? किन सन्जू मरी?? किन अचानक?? किन कहिल्यै मलाई केही भनिन?? सानो सानो कुरा देखी सुदुर भबिस्यको कुरा गर्थी म सँग उसले ,किन यही कुरो भनिन? सबैले हाम्रो मित्रता माथि इर्श्या गर्थे के सन्जूले हाम्रो मित्रता माथि विश्वाश गरिन?? यती क्रुर र अन्तिम निर्णय गर्नु अघी किन उसले मलाई ,उस्को जीवनको सबै भन्दा नजिकको प्यारी साथीलाई केही भनिन?? मैले कुनै दिन जिस्केर बिहे गर्छु भन्दा कती भाबुक हुँदै रोएकी थिई कि म उसलाई छोड्दैछु भनेर ,तर आज!! त्यती टाढा गई ,,कहिल्यै नफर्किने गरी! मलाई एक्लै छोडेर?? मैले सँधै सोच्थेँ हामी दुई बिच केही कुरो लुकेको छैन, तर उसले त्यस्तो सोचेको थीईन?? के थियो कारण?? किन मलाई पनि भनिन??
किन?? किन?? भन्दै म फेरी अचेत भएछु र यसपाली मलाई नजिकैको प्राथमिक उपचार चौकीमा लगेछन साथीहरुले । निक्कै बेर पछी होशमा आएपछी मलाई मेरो घरमा पुर्याइदिए।
त्यसपछी सबैले त्यही एउटा प्रश्न सोधेर मलाई हैरान बनाउथे । "श्यामी! तिमीलाई त थाहाछ त्यो कारण , किन भन्दिनौ??"
शिक्षक, साथी, परिवार, आफन्त सबैको आँखामा एउटै प्रश्न हुन्थ्यो मेरो सामु "किन?? किन गरी सन्जूले त्यस्तो?"' सबैले यही सोचेकि मलाई थाहा छ, म सँग त उसले अवस्य आफ्ना समस्या दु:ख बाँडी होली । तर अफसोश !! म आँफै अनभिग्य थिएँ । त्यो प्रश्नको जवाफ कहिल्यै कसैले जान्न नसक्ने गरी सन्जूले आफ्नै साथ्मा जलाएर लगिसकेकी थिई। हाम्रो छोटो समयमै अप्र्त्याशित मौलाएको मित्रताको कारण म माथिको सबैको त्यो प्रश्न जायज पनि थियो। मैले लाख पटक भनेँ कि म जान्दिन तर कसैले विश्वास गरेन। कसैले भने यो कती कप्टी केटी हो! चिसी! अब ऊ ता मरिसकी, त्यो कारण् भन्दा के हुन्थ्यो??" कोही भन्थे "साथीलाई दिएको वचन निभाएको होली!" तर सोच्न चाँही सबैले त्यही सोचेकि म जान्दथेँ त्यो किन को कारण। त्यसपछी अतिनै भएपछी म मान्छे देख्नासाथ तर्केर हिँड्न थालेँ। कैयन रातरात म अनिदो रहेँ। भोकै त कती बसेँ बसेँ। यती पिडा त मैले बाबा गुमाउदा पनि भोगिन कि!!उस्को मृत्युय ले म एकाँकी मात्र भईनकी सबैको आँखामा एउटी चिसो मनकी कपटी पनि बनेँ। हरपल म हावा सँग ,आकाश सँग ,शुन्य सँग सोधिरहन्थेँ "किन?? किन त्यस्तो गरिस सन्जू?? हेर! म आज कती एक्लो छु ,मैले हाँस्न भुलेँ तँ नहुँदा। कसरी सबैका ध्यान खिच्नेगरी हाँस्थ्यौँ हामी,, के थियो त्यस्तो समाधान ननिस्किने समस्या जसको लागि तैले चुपचाप जीवन चढाइस?? किन सन्जू किन???"
पुरै क्लासका विद्यार्थीहरुले युनिफर्मको कालो पेन्ट लगाउँदा उसैको रहरमा हामी दुइले मात्र कालो स्कर्ट लगाउने गर्थ्यौँ ,उसको बिदाइ पछी मैले कहिले त्यो कालो स्कर्ट फर्केर पनि आज सम्म हेरेको छैन। त्यही "किन?" दिमागमा घुमिरहँदा अगेनुमा हात घुसेको पत्तो नपाउँदा झन्डै सदाको लागि मैले हात गुमाइन, त्यही तर्कनामा एकदिन एउटा गोडामा लेडिज चप्पल र अर्कोमा जेन्स चप्पल लगाएर कलेज समेत पुगें। मेरै परिवार समेत डराए कि म अब पागल हुन्छु भनेर। तर सन्जूले म बाट ,दुनियाँ बाट टाढा जाँदा त्यो भयानक कारण आँफै सँग लगी। र मलाई सिर्फ त्यो "किन?" प्रश्न छोडेर गई। जसको जवाफ मैले अब कहिल्यै पाउन सक्नेछैन।
आज पुरा १० बर्ष हुन लाग्यो। सन्जू म सँग छैन तर उसको याद,ती मिठा क्षणहरु, त्यो कालो भयानक आँधिको दिन, त्यो सदाको लागि अत्यन्त क्रुर बिछोड,त्यसपछिका अन्त्यहिन बिरह र बेदनाका दिन हरु सबै सबै मेरो मन र मस्तिस्क बाट हट्न सकेको छैन।
अझै पनि एकान्तको अवस्थामा त्यो २०५७ मंसिर २३ गते शुक्रबार बिहान १०:३० बजे कलेजको गेट बाट हल्लिँदै भागेका उस्का प्यारा हातहरु र उस्को मन भित्र त्यो बेला गुम्सिरहेको उक्त भयानक घटनाको कारण अनी ,,,सदा सदाको लागि मलाई छोडेर गएकी त्यही प्रश्न "किन" अनुत्तरित बनेर मेरो आँखामा मनमा आइरहन्छ,,, बस् अनुत्तरित प्रश्न....\\
(सत्य घटना ,,उसबेला बाबाले मलाई बोलाउने नाम "श्यामी")
दीप्स शाह
.
दु:खान्त संस्मरण -अनुत्तरित प्रश्न
दिप्स शाह on 2:19 AM