एउटा सौभाग्य भन्नुपर्छ जागिर पकाउँदै मैले मध्यपूर्बको सुन्दर र बिकसित् देश -यहुदी राज्य इज्राएलको लगभग सबै भाग घुमिसकेको छु। मलाई यो मौका प्रदान गर्ने मेरी पछील्ली अन्नदाता चिपोरा तलोर संग म सदा सदाको लागि आभारी रहनेछु। उनकै कृपाले गत मार्च महिना मा अर्को एउटा अर्थपूर्ण भ्रमणको सुयोग जुर्यो। मार्च को २९ तारिख हाम्रो पूर्व योजना मुताबिक याहूदिहरुको महत्वपूर्ण धार्मिक पर्ब "पेशाख" को अवशरमा हामी लाग्यौँ उत्तरी इज्राएलको एक रमणिय मरुभूमिय पर्यटकिय स्थान "मिज्पे रमोन" तिर। जहाँ हाम्रो चार दिने बसाइ हुनेथियो इज्राएलको प्रसिद्द होटेल 'इस्रोटेल' को एउटा साखा "इस्रोटेल इन" जो चिपोराले चाडको खचाखच लाई ध्यान राख्दै लग्भग ४ महिना पहिलेनै रिजर्भ गरिराखेकी थिन्।
सुरुमा म त्यती खुशी थिईन यो भ्रमण् लाई लिएर । मरुभूमिको पनि के भ्रमण् गर्नु त्यै उराठ ढुङ्गे बगर जस्तो त हो नि भनेर मलाई त्यती फूर्ती लागेकै थिएन। यो एकहप्ते लामो पर्बको खुशीयालीमा चिपोरा र उनको भतिज रामी भने खुशीले दंगदास थिए। सामान प्याक गरिओरी दिंउसो तिर हाम्रो गाडी लाग्यो उक्त स्थान तिर। होटेल पुगेपछी केही रमाइलो लाग्यो। मरुभूमिको छेउमा शान्त बातावरणमा उभिएका सुबिधायुक्त होटेलहरुको ताम्झाम ले मलाईकेही रमाइलो लाग्यो।त्यो दिन पर्बको सुरु दिन भएकोले हामी बस्ने होटेलको बाहिर भित्र खचाखच पाहुनाहरु भरिभराउ थिए। हामीले आ आफ्न सामान आफ्ना कोठामा लगेर मिलाइसकेपछी एक छिन् सबै जना आराम गर्न पल्टियौँ । बेलुकी ८ बजे तल डाइनिङ्ग हल मा झरेपछी मलाई लाग्यो यो कुनै होटेल नभएर मेरो घर छेउको कृष्ण मन्दिरको जात्रा हो। बिस्तारै भिड पन्छाउँदै हामी आफ्नो नम्बरको टेबल घेर्न पुग्यौँ। एकैछिनमा सबै ब्यबस्थित भएर बसेपछी हाम्रो तिर पुरोहित भने जस्तो याहूदीहरुको धार्मिक गुरु 'राब' (जसको दुईतिर कन्चेट बाट कपालको लामो घुमुर्के लुर्को झुण्डिएको थियो, ट्टुपीको थेक्लो छोप्ने सानो गोलाकार टोपी टाउकोमा थियो,सेतो कमिज र कालो पाइन्टमा सजिएर एक खालको कालो किनारा र सेतो भुइँ गरेको बर्को जस्तो दुबै काँधमा राखेका) ले लामो पाठ गरे अनी धार्मिक रिवाज अनुरुप सुकेको पाप्रो जस्तो रोटी बिबिध सलादहरु संग वाइनको चुस्की संगै खान थाले। मैले पनि त्यसै गरेँ। स्वाभावत: म धार्मिक सहिष्णुता भएको सुन्दर देश को नागरिक भएरपनी होला मलाई फरक धर्मका रितिरिवाजहरु मा घुलमिल हुँदा अलग्गै आनन्द र ज्ञान प्राप्त गरेझैँ लाग्छ। काश्! हाम्रोमा अहिले धर्मको आडमा तेरो र मेरो भन्दै बितण्डा मच्चौन खोज्नेहरुले पनि यस्तै समभाब राखिदिए भाईचाराको बिस्तार हुन्थ्यो होला।
यसरी धार्मिक रिवाज अनुरुप निक्कै लामो बिधी गर्दै मिठा मिठा परीकारले त्रिप्त भइसके पछी त्यो भब्य डाइनिङ्ग हल छोडेर हामी आफ्नो कोठा फर्कियौँ । चिपोराका काकी भतिज गफिन थाले ,म एक कप कालोकफी सुर्क्याइसकेर सुटुक्क आफ्नो कोठामा पसेँ ,ध्रुबचन्द्र गौतम दाई को उपन्यास "घुर्मी" मा हराउंदै कतिबेला फुस्सै निदाएछु।
भोलिपल्ट बिहान याने कि ३० मार्चको सुर्योदय आलस्यपूर्ण भएर आयो, किन कुन्नी मलाई कता कता खल्लो लगिरहेको थियो यो बिहान,मनमा कुरा खेलाउँदै कफिको सुर्को तान्दै थिएँ मोबाईल को रिङ्गग ले ध्यान तान्यो। रिसिभ बटन थिच्नासाथ् सुनेँ," मम्मी आई लब यु!! हजुर के गरिरनुभाको?? हामी त आज टि भि मा भुइँचालोको फिल्म हेरिराको।" छोरा र बाबुको यस्तै अरु निकैलामो गन्थन र बेलिबिस्तार सुनेपछी एकाएक मैले शरीरमा शितको थोपा थोपा गालामा बोकेर मुस्कुराइरहेको गुलाफको फूल झै स्फुर्ती महसुस गरेँ। दुई दिन देखी परिवार संग कुरा गर्न नपाएको नियास्रोले पो रहेछ मेरो आलस्यता बढाएको। कफीको कप रित्याइसंगै सबैजना तयार भएर लाग्यौँ सबैभन्दा ठुलो ज्वालामुखिको मुख desert crater view हेर्न भनी। यात्राको सुरुवात त्यहा गेट कै अफिस बाट हुने भयो। चिपोरा ले टिकट किन्दै थिईन् एउटी सुन्दरी गोरिले केही पर्चा र नक्सा संगै एउटा बडेमानको प्लास्टिकको थैलो थमाइन् मेरो हातमा र सोधिन् हामी सँग सलाई, लाइटर छभने त्यही अफिसमै राख्नुहोला र अनिवार्य प्रतिब्यक्ती ५ लिटर पिउने पानी बोक्नुहोला पनि भनिन्। पानी त पिउनलाई हो त्यह मरुभूमिको तातोमा तर सलाई भए लैजान किन नपाउने र यो भाङ्रे झोलाकिन?? अनी चिपोराले प्रस्ट्याइन ,,त्यहा बिभिन्न भौगोलिक, प्राकृतिक मह्त्व राख्ने किटपतङ्ग ,चिज्बिज हुन्छन्। भूलबस् या जानिजानी ति चिजमा आगोलागेर नष्ट हुन नपाउन\ भनेर सलाइ निषेध गरिएको रहेछ अनी केहीपनी फाल्तु चिज जताततै फ्याक्दा उक्त पर्यटकिय स्थलको स्वच्छता घट्ने मात्रै नभएर सोभा पनि बिग्रिने हुँदा पर्यटकहरुलाई उक्त झोला बोकाइँदो रहेछ कि आफुले फाल्ने सबै फाल्तु चिज त्यही झोलामा हालेर बोक्दै हिँड्ने अनी जहाँ पुगेर फोहरका कन्टेनर भेटिन्छन्\ त्यही लगेर बिसाउने। मैले त्यसबेला आफु काठमाडौं हुँदा कसैका पर्बाह नगरि भान्छाको घुर्यानको पोको झ्यालबाट बिसर्जन गर्ने गरेको सम्झेँ र लाज र ग्लानिले भुतुक्क हुँदै आँफैँलाई धिक्कार्दै सोचेँ एकछिन तिनै अब्यबस्थित फोहोरका थुप्राभित्र हराइरहेको हाम्रो सभ्यताको अन्योल भबिस्य । हरे! मेरो बुद्दिको गरिबि!!(हाम्रो चेतको गरीबी!!)।
उक्त महत्वपूर्ण ठाउँको स्थानिय नाम "माख्तेस रमोन" रहेछ। अन्दाजी ४० किमी लम्बाइ र ९ किमी चौडाइ मरुभूमिको छातीमा पसारिएको उक्त क्राटर समुन्द्री सतह बाट १०३७ मिटर उचाइको 'माउन्ट रमोन' छिचोल्दै इजिप्सियन किनारा छुन पुग्दोरहेछ। भुगर्भसास्त्री हरुको अध्ययन अनुसार करीब २२० मिलियन बर्ष पहिले को शक्तिशाली उत्पातपूर्ण ज्वालामुखिका कारण बन्न पुगेको उक्त क्राटर प्रागएितिहासिक चट्टानिक जैबिक अबशेष ,रङ्गिन स्यान्ड्स्टोन,बिबिध खनिजपदार्थ का कारणले अत्यन्त महत्वपूर्ण रहेछ।
स्वाभावत: बाटमा भेटिएका प्र्त्यक आकर्शण लाई मैले फटाफट क्यामेरामा कैद पनि गर्दै रहेँ। कुशल काष्ठकर्मिले आकार दिएको काठको टुक्राझैँ देखिने ति लाखौं बर्ष पहिले रहस्यात्मक ज्वालामुखिले बनाएका काला चिल्ला प्रिज्मी ढुङ्गा, त्यस्ता ज्वालामुखिद्वारा निर्मित बेजान ढुङ्गाका चेप चेपमा अदभूत साहसि झैँ टाउका उठाएर मुस्कुराइरहेका बिभिन्न जातका सुन्दर झारफूलहरु,कतैकतै साना खोल्ची जस्ता ठाउँमा त्यो खडेरिको छातीमा स-साना पानीका तालहरु जहाँ अचम्म लाग्ने प्यारा चराचरहरु पानीको चिस्यान संगै चिर्बिर चिर्बिर गर्दै नाचिरहेका अनी ढुङ्गाका धार टेक्तै हिँडिरहेका झुण्डझुण्ड पर्यटकहरुको हातमा त्यही अघिका भाङ्रे प्लास्टिकका थैलामा भरी भरी फाल्तु चिजबिज हेर्दै म आत्मादेखी फुरुङ्ग पर्दै अगाडि बढीरहेँ कहिले चिपोराको हात समाउंदै कहिले फोहोरको थैलो रामिको हातमा थमाउँदै ।
कती खेर आधादिन घर्कन लागेछ,हामी मोडियौँ होटेल तिर दिउंसोको खाना खान भनी। बिहान् देखिको थकाई र स्वादिलो खानाको आनन्दमा एकछिन सबैजना आ-आफ्ना बिस्तारामा फालियौं। तर म बेचैन् थिएँ एकछिन पछीको मेरो उत्सुकताको योजना 'स्न्यापलिङ्ग' सम्झेर। कतिबेला जानु जस्तो हुंदैमा मेरो रेस्ट आवर बित्यो। त्यसपछी लागियो त्यतै। पहाडी मुलुकमा जन्मिदैमा पहाडमा उपलब्ध सबै अवस्था र चिजबिजहरुको उपभोग सबैले कहाँ गर्न पाएकाहुन्छन र! मेरो पनि त्यस्तै कथा थियो। जीवनमै प्रथम पटक स्न्यापलिङ्ग गर्दै थिएँ। अग्लो चट्टाने ढिस्को बाट मुन्तिर हेर्दा मुटुनै चिसो भयो। अनी मैले पहिलो पटक १५ मिटर मात्रैको गर्ने भएँ। टाउकोमा हाडे ह्याट लगाएर कम्मरमा डोरिको लुर्को बाँधेपछी स्न्यापलिङ्ग् सम्बन्धी सामान्य जानकारी दीइँदोरहेछ। त्यो सकेपछी म माथि बाट गाईड ले भने बमोजिम एक हातले डोरी अड्याउँदै अर्को हातले अड्कल्दै दुबै खुट्टाले ढुङ्गे चट्टानटेकेर शरीर पछाडि धकेल्दै तल तल झर्न थालेँ। आधाआधी झरिसकेपछी माटो खानेको खोपिल्टो जस्तो आयो जहाँ खुट्टाले भर गर्ने ठाउँ भेटिन मैले। डरले निली हुंदै चिच्याएँ माथि बाट के के भन्दै थियो गाईड्ले तर म भने तिरिमिरी भिसकेको थिएँ । कसो कसो हातबाट आँफैँ डोरी खुकुलो भएर झरेछ र म पनि तलतिर हुत्तिएँ ,लाग्यो आजलाई छोरी बाँची । तल भुइँमा टेकिसकेपछी खुशी र घमन्डले नाक फुल्यो ,कतै सगरमाथा नै पुगेर आएँहुँला जस्तो।
घामको डुबाइ संगै हामी फर्कियौं होटेल र खाना संगै दिनको बिँट मारेर सबै लाग्यो आ-आफ्नो बिस्तारा तिर। आदत अनुरुप हिजोकै बाँकी "घुर्मी" च्यापेर म पनि सुस्ताएँ । केही पेज पनि पढिनसकी निदाएछु।
हाम्रो भ्रमण् को तेस्रो दिन याने कि ३१ मार्चको बिहान अबेर गरी आँखा खुलेछन मेरा। म उठ्दा त चिपोरा र रामी अगी नै उठेर पहिलो लट को कफी सुर्क्याइसकेछन्। म पनि हतार हतार तयार भएँ ,कफी संगै हल्का खाजा पेटमा पुर्याएपछी हामी लाग्यौँ अर्को एउटा महत्वपूर्ण यात्रा तर्फ। उक्त दिन हाम्रो मरुभूमिमा जीप ट्रिप जाने योजना थियो। योजना अनुसार हामी तयार भएर तोकिएको ठाउँमा पुग्यौँ। हामी तीन जना, एउटा रसियन अदबैँसे जोडी, दुजना इज्राएली बाबुछोरी र टुर गाइड ड्राइभर गरी जम्मा ८ जनाको हाम्रो टोली एउटा थोत्रो जीपमा भरिएर लाग्यो सन्सारकै ठुलो क्राटर हेर्न मरुभूमिको छातीतिर। ढुन्ङे गेग्र्यानका अचम्म लाग्दा प्राकृतिक आकृतिहरु,मरुभूमिको छातीमा फाट्टफुट्ट देख्न सकिने अचम्म लाग्दा बिशेष प्रकारका चराहरु,ढुङ्गे चेपमा कतैकतै मुस्कुराइरहेका सुन्दर फूलहरु,खरबौँ बर्ष पहिले प्रकृतिमा आएका उथलपुथल स्वरुप ज्वालामुखिबाट निर्मित काला पत्थरी पहाडहरु,त्यो उजाड गेगरको छातीमा कहीँ कतै देखिने स-साना पानी भरिएका खोपिल्टाहरु, साना थुम्का चिरिएका चेप बाट देख्न सकिने बिभिन्न खनिजका पत्रे सम्पदाहरुले मरुभूमिलाई पनि जीवन दिरहेको देख्दा मैले हरेक दृष्यहरुमा आफ्नै देशको कुनाकन्दरा खोजिरहेँ ,,हामीसँग यस्ता कतिकती छन् सम्पदाहरु तर उत्खनन् र सम्भारको अभाबमा बेखबर कुहीइरहेकाछन् हाम्रो गरीबिलाई अझै गहिरो खोँचमा पुर्याउँदै। बाटाघाटा बिहिन सुनसान मरुभूमिमा कतैकतै भेटिने अन्य टुर जीप बाहेक बेलाबेलामा ति बेचल्ति बाटाका खाल्टाखुल्टिमा जीप उफ्रिँदा हामी सबै हाँडिका मकै झैँ उचालिँदै पछारिन्थ्यौँ र थोत्रो जीपको छानै उड्ला जसरी एकैमुष्ट हाँस्थ्यौँ।
रमाइलापलहरु कती छिट्टै सकिन्छन् ,घाम टक्कै टुप्पी माथी उक्लिसकेछ । दिउसोको झन्डै दुई बज्न लागेको संकेत घडीले दिएपछी हामी फर्कियौँ होटेल। मरुभूमिको छाती नाप्नुमात्रै होइन जीपको घम्साघम्सी उफ्राइले दिएको थकानमा साबिक भन्दा ठुलै भाग खाना खाएपछी लखतरान भएर सबै लड्यौँ आ-आफ्ना कोठामा पसेर। असाध्यै मिठो निदाएछु त्यो अलौकिक ठाउहरुको मनमोहक दृष्यावलोकन पछीको थकाईमा। बेलुकी खाना खान हलमा झरेपछी झनै रमाइलो भयो। दुई जोडी सुन्दरसुन्दरी नतर्कीहरुको फुर्तिलो नाचसंगै तत्काल हिट मानिएको इज्राएली मायाप्रेमको गीत "आनी ओहेबेत ओताख्" म तिमीलाई माया गर्छु -सुन्दै खाना खाइसकेपछी संधै झैँ चिपोराका काकी भतिज गफ चुट्न थाले। म सुटुक्क पसेँ बिस्तारामा कसैगरी "घुर्मी" पढिसकेर सुत्छु भन्दै। "घुर्मी" को अन्तिम पातो भेट्दा नभेट्दै म ओइलाएछु निन्द्रादेवीको काखमा।
हाम्रो टुरको अन्तिम दिन अर्थात अप्रिल १ बिहीवार छिट्टैनै आँखा खुलेछन मेरा तर चिपोरा र रामी भन्दा चाँही ढिलै नै। हातमा आएको मौकालाई गुमाउन हुन्न भन्दै मैले अन्तिम दिनको बिहान घोड्चढी कार्यक्रम बनाएको थिएँ। हतार हतार बिहानको खाजा सकेर हामी लाग्यौँ फार्म तिर। होटेल देखी अलिक तेर्सो सडक हुँदै निक्कै नै टाढा रहेछ घोडाको फार्म। त्यहाँ अफ्रिकी मुलुकमा पाइने अनौठा प्राणी 'अल्पाका' पनि देख्ने मौका पाएँ जो खासगरी तिनका भुत्ला ऊनका लागि प्रसिद्द रहेछ। होचाहोचा कदका झन्डै ठिकैको भैँसिका पाडा जस्ता तर घाँटी चाँहीँ अलिक बेसी नै लामा, बाख्राको जस्तो लाग्ने थुतुनो अनी ठाउँ बिराएर अन्तै उम्रेको हाम्रो दाँत जस्तो लामो लामो दाँत बाहिर निस्केका ति अनौठा "अल्पाका" हेर्दै लागियो घोडा तबेला तर्फ।
शायद जीबनमै प्रथम पटक घोडाको लगाम समात्न पुगेको क्षण डरले छाती ढक्क फुल्यो मेरो। घोडचढीको हाम्रो ग्रुपमा दुई जना गाईड गरी १० जना भयौँ। सबैलाई एक एक वटा घोडाको लगाम थमाइयो। मेरो भागमा परेको घोडा इज्राएलकै नामी दौडिने घोडा रे ! म रोमाञ्चित पनि भएँ र भित्र कता कता अध्यारो डर पनि लाग्यो ,,कतै नामी घोडाले कान्ला बाट फाल्दियो भने!! सुरुमा ति गाईडले सामान्य जानकारी गराउँदा रहेछन् घोडाचढी बारे। जस्तै: कसरी रोक्ने, कसरी अगाडि बढाउने या पछाडि तान्ने, गती बढाउने या घटाऊने, दाँया बाँया मोड्ने आदी। सुरुमा डर लागे पनि मैले एकै मिनेटमा मेरो भागको चुल्बुले घोडालाई हातमा लिएँ। तैपनी ढुक्क हुनको लागि म चाँही अघी अघी हिंड्ने गाइडसंगै हिँड्न थालेँ। मेरो चुल्बुले घोडाको नाम रहेछ 'एबो'। संगैको गाईडलाई एबो को अर्थ सोधेँ तर त्यसको खासै अर्थ रहेनछ। त्यतिकै राखेका रे उस्को नाम एबो। तर एबो लाई राम्रै थाहा रहेछ उसको नाम एबो भनेर। तेर्पाङ्गे उकालो लाग्न थाले पछी एबो अली सुस्त गतिमा मलाई पिठ्युँमा बोकेर अगाडि बढ्यो। बाँकी ८ ओटा घोडा र घोड्चढीहरु पनि हाम्रो पछी पछी लहरै आए। मैले एसो हेरेँ हाम्रो अघी दुइटा, पछाडि तिनओटा र दाँया बाँया दुई दुई वटा गरी जम्मा नौ वटा रांगा जस्ता डरलाग्दा कुकुर हामीसँगै हिँड्दै थिए एकै तालमा। हामी घोडा बिसाएर बस्दा ति पनि अडिन्थे , हिंड्दा हिंड्थे। मैले अचम्म मानेर गाईडलाई सोधेँ। उसले भन्यो ति कुकुर तिनै घोडा फार्मका रे। र सुरक्षाका बलिया र भरपर्दा सिपाही पनि पो रे। उस्ले यो पनि भन्यो "हेरी राख, अहिले हामी फार्म बाट पर लाग्दइ छौं ,जब हामी फर्केर फार्म तिर लाग्छौँ यि कुकुराहरु दुइटा बाहेक सबै पछी हिँड्छन र दुइटा चाँहीँ अघी अघी लाग्छन्। नभन्दै जब हामी घोडा मोडेर फार्म तिर लाग्यौँ ति कुकुर अगी गाईडले भनेझैँ दुइटा अघी र बाँकी हाम्रो पछी पछी हिंड्न थाले। कुकुरहरुको यो तालिमप्राप्त सैनिक झैँ इमान्दार ड्युटी देखेर मलाई अचम्म र रमाइलोपनी लाग्यो। लग्भग दुई घण्टाको हाम्रो घोडा दौडाइ सकेर होटेल तिर हतारमा फर्किंदा मेरो अनुहार खुशीले उद्दिप्त थियो, जीवनमा पहिलो पटक घोडाको पिठ्युँमा बसेर त्यती लामो शयर गरेकोमा मक्ख पर्दै। दिनको १ बज्नुअगावै होटेल छोडिसक्नुपर्ने हुँदा हतारोमा आ-आफ्ना सामान प्याक गरेर लाग्यौँ घरतिर। बाटभरी मैले त्यो मरुभूमिको छातीमा बरालिएका चारदिन सम्झिँदै आफ्नै देशको प्राकृतिक सम्पन्नतालाई आँखाभरी छापिरहेँ ,,हामीकहाँ यसको हज्जारौँ गुणा चित्ताकर्षक प्राकृति सुन्दर छटाहरु छन् तर कहिले यसैगरी सबैको ,खासगरी राज्यको चासो बन्ला र सदुपयोग होला!!!