मलाई जैतुनको फूलले रुवाउँछ !!!

मलाई जैतुनको फूलले रुवाउँछ !!!
भूमध्यसागरिय बयली हावाको षोडशी स्पर्शमा
जैतुनका फूलहरु झर्न थाले पछी
अप्रिल महिनाको इजरायली भुइँ
सेतो खैरो फूलतन्नाले ढाकिएपछी
बैशाखे न्यानो घाम हिमालपारी कल्पिंदै
नयाँ बर्षको नयाँ उमङ्ग
पुरानो सपनाको शहरभित्र कतै फूटपाथमा बिस्कुन राखेर
निमेकमा पसिना सटही गर्दा
भक्कानिएर मन यसरी डाँको छोड्छ ..
यो सग्लो हृदय कती ठाउँमा चिरा पर्छ
प्रिये! ,,
जैतुनले आरु सम्झाउँछ
पैयुँ सम्झाउँछ
सम्झाउँछ तिमीसङ्गको पीडादायी बिछोड
मलाई जैतुनको फूलले रुवाउँछ
बुरुरु झर्ने य निर्दोश पातपातले रुवाउँछ !
कसम! मलाई जैतुनको फूलले रुवाउँछ !!!

टहल्छु कतै तिमीलाई बिर्सन
हराउँछु उसै आँफैलाई बिर्सन
जब फुटपाथमा कालो बिरालोले बाटो काट्छ
कतै धूपीको टुप्पोबाट काग च्याँट्ठिन्छ
थाहा छ यो संयोग हुनसक्ला
थाहा छ यो केही सत्य नहोला
तर मनमा भुकम्पले धक्का दिन्छ
कि कतै तिमी दुख्यौकी!
यो हेमन्तिय मग्मग शुवासले पिरोल्छ
यो सपना-शहरको हरेक रमझमले चिमोट्छ,
जब अक्टोबरको महिना क्लानितले रङ्गिन्छ
त्यो रङ्ग रङ्गले मलाई रुवाउँछ
त्यो हरएक पत्रपुष्पले मलाई हिक्का छुटाउँछ,
डलरमा साटेका हर सपना
तिनै कलानितका फिर्फिरे रातोपत्रमा लपेटेर
निलो आकाश हेर्दै टोलाउँदा
आँशु यसरी ओइरिदिन्छ ,,,,
हो प्रियतम!
मलाई कलानितले
तिम्रो निशानी सिम्रिक सम्झाउँछ
यो स्वप्नलोकको रमझमले
हाम्रा एकाँकीपलहरु सम्झाउंछ
उफ्फ्फ! मलाई यि हरएक झिलिमिलिले भक्कानो छुटाउँछ
यो बेफिक्री झुल्ने फूलपातले रुवाउँछ
साँच्चै ,,मलाई सबथोकले रुवाउंछ
हरेक बर्ष आइदिने यो नयाँ दिनले रुवाउंछ कि
म गन्न वाध्य हुन्छु हाम्रो बिछोड
यो हरेक पटकको गिन्तीले
चूरचूर बनाउँछ
मलाई यो सबथोकले रुवाउँछ ।।

कथा-- निला जीवित फर्की

कथा-- निला जीवित फर्की
दीप्स शाह
deepssanu@gmail.com
इजरायलिहरु भेट्हुँदा, बिदा हुँदा अङालो मारेझैँ गरेर गाला जोर्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनिहरुको यस्तो संस्कारले छक्क मात्र परिन निला सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नबिन(उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे निला सन् २००८ मा। मायालु लोग्ने र दुई लालाबाला छोडेर इजरायल उडेदेखी निलाको आँखा कैयौँ रात बन्द भएनन् त महिनौँ ओभाएनन् पनि। तर बानी शायद निरन्तरताको उपज होला। बिस्तारै अभ्यस्त हुँदै जान थालेकी निलालाई इजरायली हरुको यो अन्ङालो मार्दै गाला जोर्ने परम्पराको भूतले कस्तो घाँटी उँट्ठ्याए झैँ हुन्थ्यो। नेपालमा विवाहित महिलाले त्यस्प्रकारको स्पर्श भनेको लोग्ने बाटमात्रै अनुभब गर्नेहो। उमेर सङ्गै बाबा, दाजुभाइहरु पनि स्पर्शित अनुभब र सामिप्यबाट बिस्तारै अलग्गिँदै सूदूर लाग्ने संस्कार बाट आएको निलाले सुरुसुरुको त्यो अङ्गाले परम्पराबाट आजित भएर नबिनलाई पनि सुनाएकी थीई। निला भन्दा एक लेभल माथिको शिक्षा आर्जन गरेको नबिनले निर्धक्क भनेको थ्यो," ह्या! निला! तिमी कती ट्रडिस्नल थिन्किङ राख्छौ! त्यस्तो सामान्य कुरामा के नानाभाँती सोचेको त!" नबिनलाई नै पच्छ भने आ होस् न त! भनेर उसले आफुले स्याहार्ने इजरायली बुढीआमैका सन्तान कसैसँग पनि त्यो गाला जोर्ने र अन्ङालोमार्ने कुरामा आपत्ति जनाइन। अझै भनुँ बिस्तारै बानी पार्दै गई।
घर छोड्नुको पीडा कम गर्न कहिले ठुलो स्वरमा टिभी खोल्थी त कहिले इजरायली बुढीको नङ काट्दै , कपाल कोर्दै एक्लै मुस्कुराउन खोज्थी। एक एक दिन गन्दै क्यालेन्डर पल्टाउँथी। इजरायली तलबी सिस्टम अनुसार प्र्त्यक अङ्रेजी महिनाको १० तारिखमा तलब पाएको रात झनै सुत्त्दिनथी। हतार हतार बुढीआमैलाई खुवाइपियाइ गरी बिस्तारामा लडाईंदिएर आफ्नो बिस्तारामा थपक्क बस्थी र सय डलरको आठओटा नोट पल्टाइपल्टाइ हेर्थी र फेरी गन्थी अनी फेरी गन्थी। अनी सिरानीबाट नबिन र बच्चाहरुको फोटो निकालेर एक्लै वार्ता गर्न थालथी। "नबिन! आज तलब पाएँ नि। अब शनिबार तेलअभिब गएर ट्रान्स्फर गर्छु। हेर यही पैसाको लागि म यहाँ आएँ। हामी छुट्टीयौँ तर यही पैसा हात परेको दिन म कत्ती खुशी हुन सक्दिन। तिमीसङ्ग अलग्गिएर महिनाभरी यो बुढीको गु सोरेर कमाएको यो ८ पत्ता सयडलरको नोट ले तिम्रो सामिप्यता, तिमीप्रतिको प्यास बुझाउन नसक्दो रहेछ नबिन! म त यही ६ महिनामै कायल भैसकेँ ! आई मिसिङ्ग यु!" भन्दै हातको डलरको बिटो एकातिर पन्छाएर नबिनको फोटो भिजुन्जेल क्वाँ क्वाँ रुन्थी। खल्तिबाट मोबाइल निकालेर मिस कल दिन्थी। फोन पनि कती गर्नु एउटा कलिङ्ग कार्ड किन्यो ५० सेकेल जान्छ ,भनेको लग्भग नेपाली १००० रुपैयाँ । कार्ड किनेपछी सक्सक लागेर चुस्चुस कल गर्दागर्दै एकैदिनमा सकिन्छ। उफ्फ! एकहजार एकैदिनमा फोन गरेर सक्नु! त्यतिले त दुइटै बच्चाको एक महिनाको स्कुल फी तिर्न पुग्छ भन्दै कुँडिन्थी ।
बिस्तारै बानी पर्दै गयो । भनुँ पार्दै गई। भित्र भने हार्दिकताको ह पनि नहुने जस्ता लाग्ने यि इजरायलीहरु बाहिर भने कस्तो लोलोपोतो माया गर्छन्\। देखेर निला वाक्क हुन्थी। साँच्चै भनुँ भने घोर इर्श्या गर्थी। आफ्नोभने उता आफ्नै लोग्नेको हात समेत समातेर कहिल्यै बाटाघाटामा हिँद्न पाएको होइन। एसो कहिले कतै जान पर्यो भने घर बाट सङ्गै निस्केपनी दुइपाइला हिँडेपछी नबिन अगाडिअगाडी लम्किहाल्थ्यो र निला भने पछीपछी हराएको बाख्रो खोज्न निस्केको गोठाल्निजस्तो स्याँस्याँफ्याँफ्याँ गर्दै बुर्कुस्सिन पर्थ्यो । उसोत निलालाई हात समातेरै नभएपनी सङ्गैसङ्गै हिँड्न रहर कती हुन्थ्यो कती। तर समाज नै उस्तो होला र त खोइ लाज शरम केले के ले रोक्थ्यो त्यसो हुन र जहिल्यै सरदर ५ हातको दुरी नघटाइ बाटो नाप्थे। तर यहाँ लाज नभाका पात्तर हरु! चौबाटोमै उभिएर चुप्पाचुप्पी गर्छन्\ लौ! गालीगरे जस्तो गर्दै इर्श्याको आगो ओकल्थी र आफ्नो प्यारो, इमान्दार मायालु नबिनलाई सम्झिँदै आँखा भिजाउँथी। । अली अन्तरमुखी भएरै होला निलाका उस्तो धेरै साथीसङी पनि थिएनन्। उसकै घर पल्लोपट्टी दात्ती बाजे(कट्टर धार्मिक बाजे स्याहार्ने एउटी अधबैंसे रोमानियन आइमाइ सँग उसको मैत्री जम्न पुग्यो। तर निकै समय सम्म एकोहोरो। कस्तो कि रोमानियन आइमाइ 'सुलिना' भने हित्तचित्तको कुरो पनि गर्थिन् निलासँग तर निला भने उही सामान्य दैनिकी हलुका गन्थन गर्थी तर अन्तरंग कुरो खोल्दिनथी।
यस्तैमा आक्कलझुक्कल साथीहरुसँग कुराहुँदा कतिले यतै ब्वाइफ्रेण्ड गर्ल्फ्रेण्ड ब्यबस्था गरेका। कतिका इन्टर्नेट लभ पर्दैगरेको, कतिले आफ्ना लोग्ने श्वासनेलाई यतै झिकाउन लागेका कुरा सुन्दासुन्दा एकदिन बिचार गरी र नबिनलाई फोन लगाइ। अलिकती पैसो जम्मा गरेर अलिअली रिण अरु थपेर नबिनलाई पनि इजरायल झिकाउने, बच्चाहरुलाई मावलामा छोड्दिने, दुबै जोइपोइ मिलेर छिट्टो पैसो कमाउने र नेपाल फर्किएर हाइसोखको जीवन जिउने कल्पना, सपना र योजनाको बेलिबिस्तार निलाको मुखबाट सुनेपछी नबिनले लामो मौनता तोड्दै बिचार गरौँन त भनेको थियो। उसोत बाइक एक्सिडेण्ट मा भाँचिएको गोडा पनि अब त चल्ने भइसकेका थिए। समानता र स्व-हकका जती भाषाण सुने र छाँटेपनी यथार्थ जिन्दगीमा नबिन नेपाली समाजको लोग्ने मान्छे थियो। आफ्नो अशक्तता र श्वासनिको कमाइमा बाँच्नुपरेको पीडाले उसलाई भित्रभित्रै गलाइरहेको थियो। काम सुरु नै गरेपनी निलाको तुलनामा उसको कमाइ निकै कम्ती नै हुने पक्का थियो। मुखले केही ब्यक्त नगरेपनी उसलाई श्वासनी भन्दा आफु तल परेको हिनताबोधले खाइरहेको थियो। त्यसैले रातभरी दलिन गनेपछी भोलिपल्टै निलालाई फोन गरेर आफु तैयार रहेको जानकारी दिलायो। निला खुशी र बिस्मातको भुमरीमा एकैपटक उचालिएर पछारिन पुगेकी थिई नबिनको जवाफ सुनेर। जोइपोइ मिलेर छिट्टै पैसो कमाउन सकिने, इजरायली जोडीझैँ कुमा जोडेर भुमध्य सागरको पानी निल्याल्ने कल्पनागर्दा खुशीको सगरमाथा टेक्थी त बाबु आमाले दुबैले पैसाका लागि छोड्नुपरेको अभागी बच्चासम्झिँदा यसो नगरुँ भन्दै आँखाको कोश पुच्छ्थी। आखिर उसले यो सब छिट्टै नै यो बनबास टुङ्याउनको लागि गर्दै थिई। नबिनको हिनताग्रस्त मनोबिज्ञानसँग त ऊ पूर्णत: बेखबर थिई। आखिर खबर होस् पनि कसरी ! त्यही लोग्ने जो बि यड पास गरेको छ। त्यही लोग्ने हो क्याम्पसे राजनीतिमा नारिहकहितको आवाज गुन्जाउँदै हिँड्थ्यो र कहीँ न कहीं नबिनको त्यही उदारपन्थी सोच र फराकिलो बैचारिक दायरा देखेर नै उसले नबिनसङ्गको बैबाहिक यात्रालाई शहर्ष स्विकारेकी थिई। त्यही माथि अभाबको लडाईं सँग जुध्धै कत्रो विश्वाश गरेर आफुलाई बैदेशिक रोजगारमा जाने चाँजोपाँजो मिलाएको थियो नबिनले नै! यस्तो उदार, यती आधुनिक बिचार राख्ने समसोची लोग्नेले श्वासनिको कमाइ र लोग्नेको कमाइ भनेर साँध्सिमाना लगाउला भन्ने उसले सोचोस् पनि कसरी! नित्तान्त पैसाकै निम्ती दुई लालाबालालाई चटक्कै बाउआमाले नै छोड्न मनले नमानेपनी कुन्निकहाँनिर आभाबले ममतालाई ओभरटेक गरिसकेछ। सल्लाह अनुरुप नबिन निला गएकै म्यानपावरको दैलो चिहाउन पुग्यो । लाग्नेजती पैसा निला ले अनी इजरायलबाट साथीसङ्गीहरुसङ रिन सापट गरेर पठाउने भई। अब मन निचरेर निर्णय नै गरिसकेपछी ढुक्कले नबिनको भिसा लाग्ने दिन गन्न थाली। कम्सेकम लोग्नेको सामिप्यता त पाइनेभयो। एक्लै ४ बर्ष दु:ख गर्नुको साटो दुइजना मिलेर दुई बर्ष मै गर्यो अनी मजाले घर फर्क्यो। उसैपनी यि इजरायलीलाई मुखभरीको जवाफ दिनपनी उसको नबिन आइपुग्नुपर्ने थियो। शारिरिक् सामिप्यता बिना माया प्रेम नै नहोला जस्तो यि नकच्चरा नकच्चरिहरु सोध्छन् बेलाबेलामा,"आत लेबाद? एन्लाख खाबेर?(तिमी एक्लै? ब्वाइफ्रेण्ड छैन?" एख लिस्तदेर लेबाद? बाला बे नेपाल ,,आत लो रोच्च्सा पो एखात खाबेर? कसरी म्यानेज गर्नु? श्रीमान नेपालमा! तिमी यहीँ एउटा ब्वाइफ्रेण्ड चाहँदिनौ?"? )नाता र सम्बन्धमा शारिरिक सामिप्यता बिना इमान्दारिता नै हुँदैन क्यारे यि बिदेशीहरुको त उफ्फ्फ! निला गर्बिलो जवाफ दिन्थी रबाफको साथ," ओद कामा खोदेस बाली याबो पो! आनाख्नु लो ओसिम काखा । मेखाकिम ले बाल! के(ही महिनामै मेरो लोग्ने यहीँ आउंदैछ। हामी यस्तो गर्दैनौँ आफ्नो लोग्नेलाई पर्खिन्छौँ!" )पखेस्न ! नबिन आएपछी यि पातरपातर्नीलाई कसरी देखाउँछु आँखैअगाडी म्वाइ खाएर भन्दै मुर्मुरिन्थी।
दिन बित्न के बेर लाग्छ र! समयको कुदाइमा हामी जोडीनुपर्दैन। उसैले लतार्दै लगिहाल्दोरहेछ। अन्तत: नबिनले पनि पाइला टेक्यो बेनगुरियन बिमानस्थल इजरायलमा एक झल्मलाउंदो रातमा। निर्धारित भन्दा २ घण्टा पहिल्यै एअरपोर्ट पुगेको निला अधिर भई अराइभल गेटको बाहिर उंघिरहेकी थिई। जसै नबिन देखापर्यो। निला स्तम्भित भई। उसका गोडा एकाएक जमेर कक्रक्क परे। खुब इजरायलैलाई मनमनै इख्याउँथी नबिन आएपछी आँखैअगाडी म्वाइ खान्छु भन्दै तर आँखैसामु नबिन उभिएको त्यस स्वर्णिम पलमा उसका हातगोडा कक्रिए। वास्तबमै संस्कार भनेको दुइचार बर्षको बिदेशी हावापानीले कहाँ पखालिनेरहेछ र! हर्षले मोतीका दाना गालाहुँदै छाती भिजाउन पुगे तर उसले सोचेजस्तो झम्टेर म्वाइ खान उसको त्यो गढेको संस्कारले ,सिकाइले,भोगाइले खोइ के ले दिएन। बरु नबिन नै नजिक आयो र बिस्तारै काँधमा हात राख्दै भनेको थियो," निली! मोटाइछौ राम्ररी!" आँखा पुछ्दै निहुरेर पोइका गोडा छोइ। त्यती परिमार्जन भएछ उसको संस्कारमा नत्र त झपक्क निधारले पोइका गोडा छुने गर्थी नेपालमा। त्यसरात जोइपोइ रोएरै रात काटे। भेटेको खुशीमा। त्यसबखत सम्म गुमाएको त्यो सामिप्यताको यादमा, छोडेर आएका साना नानीहरुको सम्झनामा र बाँकी सम्भाबित उज्यालो भबिस्यको कल्पनामा जोइपोइका चार आँखा गोल्भेँडा बनेका थिए बिहान सम्ममा। निलाकी इजरायलको कोही नजिकको साथी भनेकै सुलिना थिई। उसैलाई भेटाइ भोलिपल्टै नबिनलाई लगेर। निलाले स्याहर्ने बुढीआमैका सन्तानले नबिन आएको खुशीमा एक सांझ घरमै बार्बेक्यु पार्टी समेत आयोजना गरे। सबै खुशी थिए। निला खुशीले उछालिएकी थिई।
नबिनको इजरायल आगमनसङ्गै निलाको अनुहारमा गुलाफ फक्रिएको थियो भने ओठमा लालुपाते। निलाको काम देखी करिब दुइघन्टा दुरिमा नबिनले पनि एक अशक्त् इजरायली बाजे स्याहार्ने काम सुरुगर्यो। निलाको कल्पना जस्तै जोइपोइका कमाइ र सामिप्यताले दिन बित्तै गए। कसोकसो छोराछोरीका याद पनि नबिनकै अनुहार नियाल्दै मन बुझाउँथी । सुरुका केही महिना नबिन हरेक हप्ता निलाकोमा आउने गर्थ्यो। रातभरी रोएर हाँसेर बच्चाहरुका सम्झना गरेर खुशी हुन्थे दुइजना। नबिन असल थियो। इमान्दार लाग्थ्यो। हरेक महिनाको तलब निलाकै हातमा गनिदिन्थ्यो। एक्दिन नबिनले अबदेखी हरेक हप्ता नभेटिने कुरा गर्यो। उसका अनुसार कामको केही दुरीमा नबिनले ओभर्टाइम पाएको रहेछ अर्को एक जना बाजे कुर्नुपर्ने रे ,त्यस्बापत ५०$ दिनेरे। निलाले आनाकानी गर्दै थिई। नबिनले सम्झायो। "हेर त्यतिका समय हामी एक्लाएक्लाई थियौँ र त भएकै थियो भने अहिले हामी कम्सेकम महिनामा त भेटिन्छौँ नि! हातमा आउनलगेको लक्ष्मी किन लत्याउनु!" लोग्नेको कुरो मनासिब् लाग्यो निलालाई। त्यसबेला देखी नबिन महिनामा एक्पटक तलब र ३ हप्ताको ओभरटाइमको पैसा समेत सबै एक एक हिसाब गरेर निलाको हातमा राख्न आइपुग्थ्यो। त्यही एकरातको माधुर्यताले महिना गन्दै बस्नथाली निला। निला सोच्थी अब केही बर्ष हो यो कहर जिन्दगी अनी त दु:खका दिन सकिने भए!+++++++
नबिन आएदेखी निला र सुलिनाको भेट्घाट पनि पातलिएको थियो .एक झिस्मिसे बिहान घरपछाडीको माख्सान(स्टोर रुम) मा बाजेको खितुल (डाइपर) को प्याकेट झिक्न जाँदा पर झाङ्गनिरको जैतुनको रुखमा छायाजस्तो झल्यकझुलुक गरेको देखी सुलिनाले। के रहेछ भनी अलिक नजिक जाँदा त्यहा निला थिई। जैतुनको हाँगामा डोरी बाँधेर आफ्नो घाँटि कस्न ठीक परेकी निलालाई देख्नासाथ सुलिना झम्टेर पुगी र निलालाई रोकी। उमेरमा आमाछोरी जस्ता लाग्ने सुलिना र निलाको आँखा जुध्यो। निलाको आँखा चम्किला नभएर राता राता थियो। नाक पनि आँखैजस्ता थिए रातै। 'लेट मि डाइ सुलिना! माइ लाइफ इज ओभर! आइ कान्ट लिभ विद आउट नबिन! हि लेफ्ट मि एन्ड माइ किड्स! हि डिसिभ मि!" निला चिच्याउन थाली। सुलिना हक्कबक्क परी। एक थप्पड गालामा बजाएर अनेक पटक नबिनको बारेमा सोधेपछी बल्ल निलाले बताई। सुरुमा निलाका कुरा सुलिनाले एकरत्ती पत्त्याइन। पत्याओस पनि कसरी! सकेसम्म आन्तरिक कुरा धेर नखोल्ने निलाले जतिपनी कुरागर्थी नबिनको तारिफ मात्रै गर्थी। जब नबिन इजरायल आयो तब सुलिनाले यकिन गरी कि नबिन निलाको तारिफ भन्दा अझै माथिको रहेछ। बरु टोलाएर घण्टौँ आकाश नियाल्ने तर मनको बह हत्तपत्त नपोख्ने निला आज यसरी एकाएक चुपचाप यो परदेशमा जीवन टुङ्ग्याउन लागेको देख्दा सुलिना स्वयँ थामिन नसकेर घुँक्क घुँक्क गर्न थालि। निलालाई कुनै जोर्जुलुम गरिन बस् रुन दिई। भारी मनको आधा भार आँशुमा बगाएपछी बल्ल निलाको मुखबाट शब्द निस्किन थालयो। सुन्दा कुनै चलचित्रको काहानी जस्तो लाग्ने यथार्थ निलाको मुखबाट सुन्दा सुलिनाका मुख ह्वाङ्गै रहे निकैबेर सम्म अचम्म अचम्मले। त्यतिमाथी निलाले भगवान मान्ने नबिन आफु इजरायल आएको केही महिनामै ओभरटाइम पाएको बहानामा निलासङ्ग्ग टाढिएको त खास कारण एकदमै घ्रिणित रहेछ निलाको अनुसार। नबिनको ओभरटाइम कुनै अशक्त बाजे हेर्नु नभएर एउटी इण्डियन केटी रहिछे जो एक अन्धी बहिरी इजरायली बुढी स्याहार्दीरहिछे। निकै धनी बुढी स्याहार्ने इण्डियन केटी हेर्नमा पनि अत्यन्तै राम्री रहिछे बिबाहित भएर पनि निला भन्दा जवान पनि रहिछे। भगवान जानोस् नबिनले उसलाई फसायो या त्यो मेघना नाम गरेकी इण्डियनले नबिनलाई फसाइ तर दुबइ एकअर्कामा फसिसकेका रहेछन्। निलाको विश्वाश कायम राख्न र मेघनाको बैंशालु भोक टार्न नबिन र मेघना दुबै मिलेर नबिनले बिताएको हप्तान्तमा ओभरटाइम मुताबिक को ५०$ मेघनाले दिने र त्यही पैसा नबिनले निलाको हातमा राखिदिने गर्दारहेछन जुन घ्रिणित सत्यसँग निला महिनौँ बेखबर थिई। हिसाब कत्ती तलमाथी नगरि ओभरटाइम समेतको पैसा एक एक हातमा राखिदिने नबिन सुरुसुरुमा त महिनाको एकपटक आउँदा निकै थाकेको हुन्थ्यो। बिचरा कामले गलेको होला भन्दै निला राती अबेर सम्म जैतुनको तेलले नबिनको गोडा मालिस गर्थी तर हरेकपटक जसो महिनान्तमा आउँदा पछीपछी निलाले केही फरक पन आउंदै थिई। बिशेष गरी शारिरिक सम्बन्धमा नबिनको रुची ठ्याम्मै हराएको थियो। कहिलेकाहीँ संका आएपनी बिचरा कामले भुतुक्क थाकेको छ। यस्तो सोच्दापनी मलाई पाप लाग्छ भन्दै बस्थी तर लोग्ने मान्छे न हो। बैदेशिक रोजगारमा भासिएपछी कसैका लोग्नेले ढोका दिएको त कसैका श्वासनीले जहाज डुबाएको। लोग्ने बिदेशमा श्वासनी नेपालमा मस्तिमा धुत।श्वासनी बिदेशमा त लोग्ने अर्कैसँग मस्त हुनेगरेका घटना त प्रसस्तै सुनिन्थ्यो तर लोग्नेश्वासनी दुइटै सँगैहुने अवशर पाएका, चित्त बुझ्दो कमाइ गरिरहेका र कुनै धोखाधडी व्यबहार नदेखिएको यस्तो अवस्थामा आफ्नै लोग्ने त्यसरी गिर्ला या कुनै केटी मान्छे शारिरिक भोक मेटाउनकै लागि कोही विवाहित लोग्नेमान्छेलाई ज्याला तिरेर अपनाउली भन्ने कुरा त निलाले सपनामा समेत सोचेकी थिइन। पहिले पहिले श्रीमान बिदेसिन्थे धेर र लोग्नेको पसिना घरमा बसिबसि परपुरुषमाथी उडाउने स्वास्नीहरुको बयान समाजका सबै भलाद्मीको मुखको मन्त्र थियो। अहिले श्रीमतीहरु पनि कमाउन निस्किन्छन र घरको लोग्नेलाई थाङ्नामा सुताएर ब्वाइफ्रेण्डसङ्ग झुत्तीने श्वासनीहरुको समाचार(चाहे त्यो कुन हद सम्म बधाईँचढाइ गरिएकै किन नओस्) प्रचार गरेर स्वाद लिनेको कमी छैन चाहे ति अनपढ गंवार जमात हुन् या बौद्दिक वर्ग! तर श्रीमतिकै नाकमुनी कसैसँग ज्यालामा सुतेर परिवार तथा समाजकै आँखामा छारोहल्ने नबिनहरुको खबर कस्ले राख्नु! चर्चा कस्ले गर्नु र किन गर्नु?? आखिर नबिन नबिन हो र यो समाजको लोग्ने मान्छे हो । त्यै काम निलाबाट हुँदो हो त यो समाज जिब्रो फड्कारी फड्कारी बडो स्वादले उक्त खबर डकार्थ्यो । +++++++++++
आखिर जिन्दगी न हो कुन मोडमा कस्तो तमासा देख्नु र भोग्नुपर्ने हो भन्ने कस्लाई थाहा! मान्छेको इमान्दारिता न त निधारमा खोपिएको हुन्छ न त व्यबहारमै झल्किनेरहेछ। आखिर बिपत्ती ढोल नबजाइ नै आउँदोरहेछ हठात् हठात्! जतिनै थाकेपनी महिनामा एकरात श्रीमती भेट्दा किन यस्तो उपेक्षा!! केही त पक्कै छ भनेर जासुसी गर्दा निलाले नबिनको त्यो पर्दाभित्रको ओभरटाइम उदाङ्गो पारीछे। पहिले त नबिन र मेघनाले आनकानी गरेछन् तर नखुस्किनु धोती खुस्किसकेपछी अन्तमा नबिन र मेघनाले एकसाथ घोषणा गरेछन् अब उप्रान्त उसले नबिन पाउँदिन। उसको लोग्ने पाउंदिन र पाउँदिन उसका लालाबालाको पिता!! त्यसबिहान निला यती रोइकी सुलिनाले उसका आँशु टिपेर राखेकी भए त्यसका सामु लालसागर सानो हुँदोहो। आफ्नी छोरी समानकी एउटी सफा मनकी केटी त्यसरी निरिह बनेर आफ्नै छातीमा टाउको जोतेर रोइरहंदा रोमानियामा जन्मेकी सुलिनाको मन कसैगरी थामिएन। दुबै अङ्गालो मारेर निकैबेर रोइरहे। लामो सुंकसुंक पछी निलाले आफुलाई केही हलुको पाइ। सँगइ मर्ने जिउने कसम खाएर जिन्दगी अगाडि बढाएको लोग्ने जसलाई ऊ भगवान मान्थी।जसले उसका गर्भमा बिज रोपेर दुई सन्तान जन्माउने सौभाग्य दिएको थियो त्यस्तो मान्छेको धोकामा आज कोही नित्तान्त पराइ कहाँकहाँ एउटी परदेशी जो सँग हिजो भेट भएको हो र शायद फेरी कहिल्यै नहोलापनी। उसैका छातीमा आडलगेर त्यसरी रुंदा आफुलाई निकै बिचरी निकै एक्ली पाइ।
टाउको उठाएर भनी," सुलिना! म अब बाँच्न सक्दिन! नबिन बिनाको जीवन म कुनै धनसम्पतीमा जोख्न सक्दिन। बाबुबाट त्यागिएका बच्चाहरुको उदास अनुहार म कसैगरी नियाल्न सक्दिन। म बाट ठुलो भूल भयो कि मैले नबिनलाई इजरायल ल्याएँ। म अब बाँच्दिन। मैले बच्चाहरुबाट उनका बाबु छिनेँ।," सुलिनाले मायाले मुसार्नुको साटो यसपाली एक गतिलो थप्पड निलाको गालामा बजाइ। निला उसैपनी केही सोच्न नसक्ने अवस्थामा थिई। यसबखत ति रोमानियन महिला एक भगवान बराबर भएर उभीईन निलाको अगाडि। सुलिनाले निकैबेर सम्झाइन् अझै भनुँ निलाका आँखा खोलिदीईन्। जिन्दगीको सत्य उद्घाटन गरिदीईन्। सही मानेमा बाँच्न सिकाइन्। जुन सत्य आज सम्म निलाले महसुस समेत गरेकी थिईन त्यो सत्य आज ति रोमानियनले आँखा अगाडि राखीदीईन्। निकै लामो सम्भाषपछी अन्तमा सुलिनाले भनिन्," हेर निला! जिन्दगीको अर्थ मर्नु होइन। मर्नु त सिद्दिनु हो, समाप्त हुनु हो। तिमी आज जीवनमा छौ। जो तिम्रा इच्छा र हातले चलाऊने र पाउने कुरो होइन। त्यसलाई भगवानको कृपा मानेर सदुपयोग गर। कोही आफ्नो जिम्मेवारी बाट भाग्यो भनेर तिमी पनि भाग्ने? कोही स्वार्थी भयो भनेर तिमी पनि हुने? कम्सेकम ति साना नानीहरुलाई सम्झ। यती राम्रो घरबार, परिवार छोडेर त्यस्तो स्वार्थी हुन सक्ने नबिनले तिम्रो समाप्तिपछी ति बच्चालाई हेर्छ? नहेरेको अवस्थामा तिनका हालत के होला, तिमी अनुमान गर्न सक्छौ? सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महान शब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ! नबिन गयो तिम्रो जिन्दगीबाट तर अरु सबै बाँकी छ। तिमी बाँकिछौ।" --------अरु के के भन्दै थिई सुलिना तर निलाको कानमा "...सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महानशब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ!" मात्रै गुन्जिरह्यो। झम्टेर सुलिनालाई अङालो मारी र निकै बेर गाला जोरेर अडिएपछी भनी," सुलिना! आज म प्रण गर्छु कि म अब गलत गर्नेछैन। म आफुमाथिको सबै जिम्मेवारी निभाउने प्रयास गरिरहनेछु। र सत्य सत्य! नबिनलाई बिर्सिनेछैन। म उसको प्रेम हुन सकिन । ऊ मेरो जिन्दगी हुनसकेन तर सत्य यही हो कि मेरा बच्चाको बाबु उही हो। मैले माया गरेको मान्छे उही हो। म भन्न सक्दिन कि जीवनको कुनै मोडमा नबिन फर्केर म कहाँ आउला । हो म अत्यन्तै क्रुद्द छु नबिनको यो निर्णयप्रती तर उसलाई घ्रिणा गर्न सक्दिन सुलिना! गाह्रोगारो छ म मेरो नबिनलाई म कोहिअरुसँग रमाएको हेरुँ तर कम्सेकम नबिन खुशी छ कतै। तिमी सही छौ! जिन्दगी यतिमै सकिएको छैन न त मेरो जिम्मेवारी टुङ्गिएको छ। तिम्रो यो गुण म् कहिल्यै भुल्नेछैन सुलिना! तिमी मेरी आमा हौ आमा! जसले जीवन दिन्छ । तिमीले आज मलाई मात्र बचाएकी छैनौ कि मेरा दुई साना नानीहरुलाई आमा दिएकी छौ। उनिहरुलाई भबिस्य दिएकी छौ र सहारा दिएकी छौ। धन्यवाद सुनिला! यतिबेला म सँग धेरथोर पैसा छ। गतिलो काम छ र शायद असरल्ल जिन्दगी छ तर मेरा बच्चा छैनन् साथमा। नबिन हुँदा सम्म म एक्लै छु भन्ने आभास थिएन शायद त्यही स्वार्थमा मैले बच्चाहरुलाई भुलेछु। या त कम्ती याद गरेछु। अब एक्लै भएं तिनका याद बेस्सरी आयो। म अर्को हप्ता नै नेपाल फर्किन्छु । तिम्रो यो गुन म तिमीलाई सँधै याद गरेर तिर्नेछु सुनिला!" यती भनेर निला साहसी अनुहार लिएर फर्की । सुलिना निला गएको हेरिरही।+++++++++++++++++
अगी निलाले बांधेको र झण्डैझण्डै निलाको जीवन समाप्त गर्न तम्सेको डोरी जैतुनको हाँगामा हल्लिरहेको थियो चिसो बतासको झोँकासङ्गै। सुलिना मुस्कुराइ; अन्तत: निला जिउँदै फर्की-……निला बाकसमा होइन जिउँदो सरिरमा नेपाल जाँदैछे। सुलिनाले डोरी एक झट्कामा तानी र पर हुत्त्याइदीई। पूर्व क्षितिजमा सुनौलो घाम मुस्कुराउने तर्खरमा थियो जसले निस्पट्ट अंधेरो रात छिचोलेरैपनी उज्यालोको अर्को अध्याय सुरुवात गरिसकेको थियो।

केगरौँ म ठट्टामजाक आफ्नैमान्छे रिसाएको बेला

केगरौँ म ठट्टामजाक आफ्नैमान्छे रिसाएको बेला
नियतिले उपेक्षाको भारी यतै बिसाएको बेला

पिठो खाउँकी हेरी बसुँ भोक सही तड्पिरहुँ कती
मकैसङ्गै घूनपनी सरोबरी पिसाएको बेला

स्विकारुँ कि नस्विकारुँ सम्झिएर पठाएको पत्र
आमन्त्रणमा अपमानको धर्साधर्सी मिसाएको बेला

तातो कत्ती हुन्न रैछ अगेनुमा आँफैँ पसेपनी
बियोगको सिरेटोले छातीछाती चिसाएको बेला

कस्कोभर पर्नु अनी कहाँटेक्नु जमीन खोजीखोजी
पाउ मुनी सुस्त सुस्त माटो यहाँ धसाएको बेला

वसन्तको बहारमै खडेरी यो कस्तो

14
वसन्तको बहारमै खडेरी यो कस्तो
घर जलाई हात परेको घडेरी यो कस्तो

दिन बिते आँखा चिम्ली चिसो साँझ ओर्ल्यो
जून बेची पर्खिएको अंधेरी यो कस्तो

घर भन्नु छानो ह्वाङ्गै ओत लाग्नु छैन
आफ्नै चिहान तम्तयार छ मझेरी यो कस्तो

मूल भन्नु मेटिएछन् भाईचारा र बन्धु
रगत कै धारो बग्ने पँधेरी यो कस्तो

सम्मान र सत्कारहरु बसाइँ सरिगए
आज्ञापालक कोहिछैनन् अटेरी यो कस्तो।

गजल

गजल

बदलामा हुन्न माया नाफाघाटामा गरिन्न
हाटबजारको किनबेच जस्तो बाटाघाटामा गरिन्न

समयले पुर्छ घाऊ प्रेमको मल्हम लगाइ
हिसाब फेरी पुराना घाउखाटामा गरिन्न

हृदयको प्रेमगंगा शान्त सौम्य जो बहन्छ
लेनदेन त्यो क्षणभरको ज्वारभाटामा गरिन्न

जब छुन्छ मनले मनलाई आँखाबाटै माया बग्छ
त्यसको परख कल्पनाको मनपाटामा गरिन्न

च्यातिएको मन बरु जोडीदिन्छ पिरतीले
समर्पणका मिठाकुरा धाँजाफाटामा गरिन्न
****
दीप्स शाह, इजरायल
deepssanu@gmail.com

इजरायलको 'हुला लेक' र बर्थडे सर्प्राइज

इजरायलको 'हुला लेक' र बर्थडे सर्प्राइज --यात्रा संस्मरण
Deeps Shah
कामको एकरसतालाई बदल्ने यो मेरो एक चतुर्याइँ हो। केही दिन सम्मको घरमै बसाइ भएपछी म झक्झक्याउँछु मेरी अन्नदाता 'चिपोरा' लाई! जसको घरेलु नाम 'चिता' । "चिता! डन्ट यु थिङ्क उइ नट गोइङ एनिहोएर फर लङ् टाइम? आई गेस उइ ह्याभ टु बि फ्रेस लिटिल बिट!" कहिले तुरुन्तै गन्तब्यको चाँजो मिलाउन लाग्छिन भने कहिले टार्छिन उसै। तर बेलाबेलामा आएआँप गए झटारो गर्न भने म छोड्दिन।
एक बिहानको मेरो चतुर्याइँले रङ्ग देखायो। हामी लाग्यौँ एक सुन्दर घमाइलो बिहानीलाई जिस्क्याउँदै एकदिनको घुमघाममा। मेरो जन्मदिनको उपहार स्वरुप भनेर चिपोराले मिलाइन् इजरायलको एक असाध्य सुन्दर स्थान' हुला लेक' को घुमघाम। अक्टोबरको सुन्दर बिहानिलाई सजाएको थियो कलिलो घामले। इजरायली आकाश सफा निलो थियो ठ्याक्कै मेरो नेपाली आकाश जस्तो। छरितो स्कर्ट र टि शर्ट शरीरमा उनेर चिपोरालाई थन्क्याएँ कारमा। मेरो ब्याग पहिलेबाटै तयार थियो सानो डायरि, पेन, पानीको बोतल, सनग्लास, मेरो पुन्टे क्यामेरा, एकपोको टिस्यु पेपर यिनै खिच्रिङ्ग मिच्रिङ्ग आदी ले। घरको मूलढोका ताला मार्दै थिएँ उता चिपोरको भतिजा ले कार स्टार्ट गरिहाल्यो। संधै झैँ पछील्लो सिटमा बसेँ। बिहानको कलिलो घाममा चकिलो बातावरणलाई नियालेर मलाई कहिल्यै पुग्दैन। छहराको पानीमा भर्खर नुहाएर डिलमा गोडा खसालेर बसेकी षोडषी झैँ लाग्ने प्रकृतिको बिहानी सौन्दर्य हेरेर अघाउने कुन मान्छे होला र संसारमा!! कारको हुइँक्याइसङ्गै बाहिरको स्निग्धता नियाल्न भनेर सन्ग्लासलाई पनि टाउकोमा टस्काएँ। कारले गती लीन थाल्यो। संधै झैँ चिपोराका काका भतिज गफिन थाले। बिहानी समय, स्कुल, अफिस, कामकाजी मान्छेको चाप रहने हुँदा सडक खचाखच थियो। निकैबेर पछी याद गरेँ हाम्रो कार मुल सडक बाट अन्तै मोडीइसकेछ। निकै बेर देखी याद गर्दै थिएँ। यो हाँगे सडक अगिको सडक भन्दा शान्त छ, ट्राफिक बत्ती एउटा पनि छैन र ठाउठाउमा सडक माथि लम्बेतन फलामे ह्याङ्गरमा के के झुन्डिएका छन् क्यामेरा जस्ता लाग्ने। निकैबेर त्यो देखेपछी मैले चिपोरालाई सोधेँ ,यो सडक यती शान्त कसरी ?? किन ट्राफिक बत्ती पनि छैन र यो ठाउठाउमा माथि झुण्ड्याइएको के हो?? चिपोराको उत्तर थियो," दिस इज पेएबल रोड,एण्ड दोज ह्याङिङ थिङ्स आर क्यामेरा।" उनका अनुसार त्यसबेला हामी बत्तिँदैगरेको सडक पैसा तिर्नुपर्ने सडक रे। जहाँ कुनै ट्राफिक क्रसिङ्ग र बत्ती छैन। छोटो र सिधा हुनेहुँदा हतारो हुनेहरु यही सडक प्रयोग गर्दारहेछन्। प्राइभेट सडक भनेपनी हुने त्यो सडकको ठाउँठाउमा मुल सडक छोडेर बाहिरिने हाँगे सडक थिए। त्यो सडक प्रयोगकर्ताले किलोमिटरको हिसाबले बिल तिर्नुपर्दो रहेछ। ति ठौठाउमा माथि झुण्ड्याइएका क्यामेराले गाडीको नबरप्लेटको फोटो सहित गूडेको किलोमिटरको गणना र हिसाबकिताब् रेकर्ड गर्दो रहेछ। र पछी बिल पठाउँदोरहेछ। कुरो सुनेर मलाई अचम्म लाग्यो। सडकमा गूडेको पनि पैसा तिर्नपर्ने?? सबैतिर त नपर्ने ,के छ यो सडकमा त्यस्तो खास्?? यि सबै सोधाईको जवाफ पाएपछी भने चित्त बुझ्यो मेरो। कुरो कस्तो रहेछ भने जनताको आवश्यकता र सुबिधा अनी पुँजी को लगानिको उचित तालमेललाई हेर्दै ठुलाठुला ज्वाइन्ट कम्पनीहरुले यस्तो बाटो निर्माण गर्दारहेछन् सरकारसङको निस्चित शर्त र मापदण्डमा । जुन बिना ट्राफिक झन्झट सजिलै र छिट्टै गन्तब्यमा पुग्न सकिने हुनाले हतारमा रहेकाहरु यही सडकबाट गूड्दा रहेछन र पैसा तिर्दारहेछन्। आजको यान्त्रिक समयका मान्छे न हुन् कस्लाई हतारो हुँदैन र? त्यसो र यस्ता सडक प्रयोगकर्ताको खाँचो हुने कुरै भएन। यसरी सडक निर्माण गरेपछी निर्माणकर्ता कम्पनिले उद्घाटनको २५ बर्ष सम्म प्रयोगकर्ताहरुबाट पैसा उठाउँदोरहेछ। र २५ बर्ष पछी उक्त सडक स्वत:: सरकारी सम्पत्ति हुनेरहेछ। क्या गज्जब! मलाई यस्तो तरिका मन पर्योि।
यसो गरिँदा १:पुँजिवालाहरुको पुंजिको उचित लगानी र सन्चालन,२: जनताले निस्चित रकम तिरेर बढी सुबिधा प्राप्त गर्न सक्ने, ३:देशको निर्माण कार्यमा टेवा पुग्दै दिर्घकालिन उपलब्धी पनि हुने।
खैर हामीमा यो पद्दती, लगानिको सुरक्षित बातावरण , दिर्घकालिन सोच र सरकारी संयन्त्रको चुस्त परिचालन् खासै भइनसकेको मुलुकमा यो त्यती प्रभाबकारी नहोला पनि। मेरो सोचको भुल्को भुल्किंदैगर्दा कारले हामीलाई हुला लेकको छेउमा पुर्याइसकेछ। कार पार्किङ गरेर टिकट किनिसकेपछी एउटा कभर्ड वागन (हेर्दा गल्फ कार जस्तो देखिने साधन) मा बसेर लाग्यौँ हुला लेकको सुन्दरता नियाल्न। टिकट काउन्टरबाट एउटा टि.भी रिमोट कन्ट्रोल जस्तो उपकरण पनि थमाइएको थियो हामीलाई.
हुला लेक उत्तरी इजरायलमा अवस्थित एक अती महत्वपूर्ण स्थान हो। जुन स्थान बिसौँ शताब्दीको सुरुवात तिर सम्म एक उपेक्षित ठाउँ थियो बिकराल मलेरियाको कारण। त्यसपछी सरकारी तवरबाट हुला लेक लाई पूर्णत: सुकाएर बिबिध औषधी किटनासक रसायनहरुको प्रयोगपछी मलेरिया मुक्त घोषित गरी सर्बसाधारणको लागि खुल्ल गरिएको अती मनोरम प्राकृतिक चित्ताकर्षक स्थल बनेको रहेछ। मलेरिया मुक्त घोषणापछी खेर्मोन को हिउँपहाडबाट पानी ल्याएर पुन: भरेपछी अहिले माइक्रो सिस्टम अनुसार लेक भित्र पानी जीबजनाबर, चराचुरुङ्गि , फ्लोरा-फाउना जस्ता स्थान बिशेषमा पाइने जीब-बनस्पतीका निमित्त पनि एक स्वर्ग बनेको रहेछ । समग्रमा हुला भ्याली भनेर चिनिने त्यो ठाउँ बिशेषगरी जाडो मौसमको सुरुवात सङ्गै जाडो छल्नका लागि युरोपबाट बथानका बथान चराहरु यहाँ आइपुग्दा रहेछन् र केही महिना यहीँ रहँदा रहेछन्। त्यसरी भेला भएका हजारौँ लाखौं चराहरुको बथानले कृषिबालिमा नोक्सान नपुर्याउन भनेर इजरायली सरकारले हजारौँ टन दाना गेडागूडी त्यहीँ भ्याली भित्रै उपलब्ध गराउनेरहेछ र त्यही मौकाको सदुपयोग गर्दै धेरै भन्दा धेरै प्रजाती चराहरुको एकमुस्ठ बसाइको अदभूत प्रदर्शनमा देशी बिदेशी पर्यटक पनि भित्र्याउँदोरहेछ। आफु त संसारकै सुन्दर प्राकृतिक हरियालिदेश बाट आएको न परेँ , प्रकृतिक सुन्दरता भनेपछी खान पनि भुल्ने मान्छे। खुशीले फुरुङ्ग हुँदै कभर्ड वागनमा सवारी चलिरह्यो। अगी काउण्टरमा दिइएको रिमोट कन्ट्रोल जस्तो उपकरणको पनि निकै पो काम रहेछ। भ्यालिमा घुम्ने एउटा ब्यबस्थित नक्सा र निर्दिष्ट दिशा रहेछ। र ठाउँठाउँमा नम्बर लेखेर बोर्ड राखेको रहेछ। घुम्दै जाँदा जती नम्बर लेखेको बोर्ड नजिक पुगिन्छ त्यो उपकरणमा त्यतिनै नम्बर थिच्दा आफु उभिएको स्थान ओरिपरि के के जीब पाईन्छन् , कस्ता बनस्पती पाईन्छन् र केके का लागि उपयोगी हुन्छन् जस्ता अनेक जानकारी रेडियोले झैँ फरर भन्दोरहेछ।
अचम्मका पानी हांस, बिभिन्न प्रजातिका चराचुरुङ्गि, पानी भित्र रहने एकखालको मुसा प्रजातिको जीब, परपर सम्म टाउको उठाएर टिल्टिल हावामा हल्लिरहेका सुनौला फूलपातहरुको अदभूत सुन्दरता नियालेर लग्भग आधा दिन घर्केपछि हाम्रो फिर्ती यात्रा सुरुभयो गलिलिको बाटो हुँदै। यतिबेला सम्म घुमघामको मज्जा सङ्गै भोकले साम्राज्य फिँजाइसकेको थियो। बाटोमा पर्ने एक ऐतिहासिक रेस्टुरेन्ट जसको नाम रहेछ 'चिकेन इन बास्केट' मा दिउसोको खाना खाएर यात्रा सुचारु गर्ने सल्लाह बमोजिम हाम्रो कार मोडियो त्यतै। जुन रेस्टुरेन्ट लग्भग इजरायलको स्वतन्त्रताकै ताका दक्षिण अमेरिकाबाट बसाइँ आएको एक धनाढ्य याहूदीले सुरुगरेको इजरायलको एक प्रसिद्द रेस्टुरेन्ट र घोडा फार्म रहेछ र उहिल्यै जवानीका दिनमा कहिले सुटुक्क जोडी त कहिले पारिवारिक रमाइलोमा चिपोरा धेरैपटक पुगेको र रमाएको रेस्टुरेन्ट पनि रहेछ। टेबल घेरेर बसेपछी मेनु लिएर वेटर आइपुगुन्जेल यती भनिभ्याइन उनले। निकै सफा, आकर्षक र ब्यबस्थित अनी खचाखच त्यो रेस्टुरेन्टको नाम त्यहा पाइने एक खाध्यपदार्थ सङ्ग जोडीएको रहेछ। साना साना भुरा कुखुराको सबेटा खस्रो पिठोमा मलेर डीप फ्राइगरेपछी सानो चिटिक्कको बांसको टोकरीमा राखेर ल्याइँदोरहेछ र त्यसको नाम रहेछ 'चिकेन इन बास्केट' । त्यही नाम नै रेस्टुरेन्टको नाम पनि रहेछ। सुन्दा रमाइलो लाग्यो र हामी तिनैजानाले खानाको मेन आइटम सङ्गै एक एक चिकेन इन बास्केट पनि अर्डर गर्यौँ। भोकले थाल खानु कि भात भएको बेलामा खाना आइपुग्यो अगाडि। खाना हेरेपछी त हामी तिनछक! चिकेन इन बास्केट त चिकेन इन डोको जस्तो पो रहेछ! एकै भागले तीन जाना त्रिप्त हुने जस्तो रहेछ तर हामी तीन को अलगलग बास्केटले राम्रै हंसायो । अझै मैले चिपोरालाई भनेँ पनी तिम्रो जवानीको पानीपंधेरो रेस्टुरेन्टको परिकारको मात्रा तिमीलाई थाहा थिएन त? पहिलाई भनु पर्थ्यो नि! उनको जवाफ थियो," लङ टाइम आ'म् नट हियर , सो आइ फर्गोट।"
साह्रै रमाइलो बातावरणमा खाना खाइओरी म फ्रेस रुममा पसेको त फर्किँदा टेबुल घेरेर दुई तीन वेटर वेट्रेस एक सानो थालिमा झिर्झिरे मैनबत्ती सहित सानो केक बोकेर "ह्याप्पी बर्थ डे! ह्यापी बर्थ डे!" भन्दै मलाई पर्खिरहेका रहेछन्। म एकछिन नभएको मौकामा चिपोराले मेरोलागी त्यो सर्प्राइजको बन्दोबस्त गरीभ्याइछिन्। एक्छिन स्तब्ध बनेँ र सबैलाई धन्यवाद भनें बिशेष चिपोरालाई। आफ्नाहरुबाट टाढा दूरदेशमा रहँदा पराइले देखाएको यो आत्मियताले साच्चै नै आँखा सजल भए र परम्परा नभएपनी मेरो खुशीको ख्यालगरी जन्मदिनको खुशीयालिमा परको मिठाइ पसलदेखी सुटुक्क केक किनेर मुस्कुराउँदै घर आउने मेरो राजाको अनुहार झल्झली त्यही झिर्झिर गरिरहेको मैनबत्तिको शिखामा कल्पिँदै एकछिन निक्कै भाबुक बनेछु। केक काट्ने र खाने कार्यक्रमको समाप्ती सङ्गै हाम्रो कार हुइँकियो घर तिर। बाटाभरी अगिको पैसा तिर्नुपर्ने रोड, हुला लेकको अलौकिक सौन्दर्यता, चिकेन इन बास्केटको चिकेन इन डोको साइज र सर्प्राइज बर्थ्डे विशको दृष्या मनभरी झिकिलमिलिक गरिरहे। मनमनै अंकित गरेँ,"मेरा महत्वपूर्ण घुमडुलको डायरिमा आजको दिन पनि उध्रित हुनेछ।"

गीत -फूलको रङ्ग चोरीचोरी

गीत -फूलको रङ्ग चोरीचोरी

फूलको रङ्ग चोरीचोरी तिमीलाई म सजाउँदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

नटिपिने जून तारा किन चाहियो तिमीलाई
नछुटिने मिठो माया सुम्पिदिन्छु संधैलाई
सरिताको धून खोसी तिमीलाई म सुनाउदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

फूलको रङ्ग चोरीचोरी तिमीलाई म सजाउँदिन.....

नभेटिने क्षितिजको रहर किन तिमीलाई
यो छातीको बिशालता तिम्रै त हो संधैलाई
नपुगिने गन्तब्यको कहानी म रुचाउँदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

फूलको रङ्ग चोरीचोरी तिमीलाई म सजाउँदिन ...

“त्यो आवाज मन्द छ तर सत्य छ”


“त्यो आवाज मन्द छ तर सत्य छ”


च्यातेर झन्डा लगौँटी लगाउनेहरु हो!!
झण्डाले लाज ढाक्तैन कसैगरी
टांगमुनी अल्झिनुको बिवशतामा
ऊ त आँफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ
नबिर्स! झन्डा हातमै उचालिनुपर्छ
अनी पो गर्बले फहराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ।

हृदयमा कोढ बोकेर हिँड्नेहरु हो!!
सुकिलो सुटले महामारी रोक्तैन कसैगरी
उसोर ज्ञानीहरु भन्छन्
महानगरको लुतोग्रस्त कुकुर कम्ती हानिकारक,
स्वस्थ हृदय बोकी गल्लिको कुनामा
छालाको लुतो क्वार्क्वार कन्याउँछ
नियतबस् अर्कोलाई सार्दैन
ल्याप्ल्याप चाटेर आँफैँ निको बनाउँछ।

जब सन्तुष्टीको तरंगले कम्पित
खुशीका झंकारले प्रफुल्लित
झुपडीका
सम्पन्न झ्याङप्वालले
स्वर्णभवनका बिपन्नतालाई जिस्क्याउँछ
लाज आँफैँ उम्रिनुपर्ने हो अत्तरी पहिरनको चमकमा
तर यस्तो नहुँदोरहेछ ,,
आँखापनी त बन्दीछन कालो शिशाभित्र!
हो त्यही अन्धकारमा
आँखा डुबेकोछ
हृदय कुहिएकोछ
झन्डा ध्यार्ध्यार्ती च्यातिएकोछ।

संस्कारको गरीबीमा
चिन्तनको दरिद्रतामा
स्वाँठहरुको जग्जगी छ
बदमाशहरुको चिच्याहट छ
त्यहिँनिर
भग्न आँगनको डिलमुनी
केही आँखामा चमक छ
सङ्गै गुन्जनपनी छ
स्वरमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ।

त्यो आवाज भन्दैछ
कि झण्डा हातमै उचालिनुपर्छ
अनी पो गर्बले फर्फराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ ।
त्यो आवाजमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ।

गजल

गजल by Deeps Shah
(घायलको तरही मुसायरामा आधारित)

पल्पल तड्पाएर रुवाएको पाप लाग्ला
जून हेरी वाचा कसम खुवाएको पाप लाग्ला

तिमीसँगै यो ओठको हाँसो पनि उतै गयो
लाली बनी केही क्षणलाई सुहाएको पाप लाग्ला

हाँगापात लछारेर जानुरैछ मोडिएर
कोपिलामै फूलको डाली नुवाएको पाप लाग्ला

तिमी गयौ जिन्दगीको जून मेरो डुबी गयो
अँधेरीमा आँशुधारा चुहाएको पाप लाग्ला

"मैले देखे भोगेको भिन्नता।

२६,जेठ २०६८ बिहीवार कान्तिपुर प्रवास, (कतार)मा छापिएको मेरो एउटा लेख (सम्पादनपूर्ब) यहाँहरुको निमित्त हाजिर छ।




"मैले देखे भोगेको भिन्नता।"

एका बिहानै दैलो उघारेर एसो बाहिर हेरेको, एउटा ठिटो घुर्रछर्रन बाइकमा आयो। बाइक साइडमा राखेर पन्जा लगाएको हातले सडक पेटिबाट केही टपाटप टिपेर बाइकको पछाडि बाकसमा हाल्यो अनी जसरी बत्तिदै आयो उसरिनै हुइँकेर गयो। घरकै छेउमा यो कृत्य केहीपटक देखेर पनि भेउ पाउन सकिन कि ठिटो बिहानै के टिप्न आउंछ!! एकदिन अलिक छिप्पिँदै गरेको बिहान पोस्ट अफिसतिर लम्किँदै थिएँ शायद उही ठिटो हुनुपर्छ छेउमै आएर बाइक अड्याउँदै "एक्स्क्युज मि!!" भन्यो। कुकुरहरु घुम्डुल गर्दागर्दै भ्याइदिने प्राकृतिक कृत्य (आची) जो सडकको पेटिमा सुकेर लडिरहेको थियो, ठिटो ले एकै झम्टामा टिपी भ्यायो मेरो चप्पलछेउ बाटै र अरु आची खोज्दै अन्तै हुइँकियो। बल्ल मलाई मेसो भयो ठिटोले हर बिहान घरको छेउमा के टिप्छ भन्ने। फोहरका थुप्रोमा निस्सासिँदै हिँड्ने मुलुकको प्राणी न परेँ म! हो फोहोरका थुप्रामा अनगिन्ती भबिस्य पुरिएर बेपत्ता हुने देशको नागरिक म । एसो भन्नुमा मलाई कत्ती हिच्किचाहट छैन, सत्य यही हो। परदेशमा कुकुरको आची टिप्ने काम गरिएको र त्यो पनि मै हुँ भन्ने उमेर र अवस्थाको ठिटोले!! अचम्मको घनले हान्यो मेरो टाउकोमा टन! टन! टन!! त्यसपछी याद भयो, सम्पन्न मुलुकका सभ्य प्राणी यिनिहरु ,यिनले लग्भग घरै पिच्छे कुकुर पाल्छन् आवश्यकता भन्दा शौख बेसी होला भन्छु म। तर प्राय: सडकका पेटी गल्ली सुकिला हुन्छन् ,,रहस्य बल्ल पत्तो लाग्यो। सम्पन्न र बिपन्न मुलुकमा हुने अनगिन्ती भिन्नता मनमा केलाउँदै अली पर पुगेको थिएँ। एउटी गोरिले घ्याच्च कार रोकी र च्याँठ्ठीई," स्लिखा!! मा आत ओसा?? आत लो मित्बएसेत काखा लाजोब काकी सेला केलेभ बा मिद्राखा!!"(एक्स्क्युज मी! तिमीले के गरेको?? तिम्लाई लाज लाग्दैन कुकुरको आची बाटोमा छोड्न?!) छेउमा एउटा लुरे कुकुर डोर्याइरहेकीले जवाफ फर्काइ," रएगा! आनी मेखाका ओद ,,बेताख आनी इज्रोक ओतो बा पाख्!"(पखन !अरु गर्छ कि भनेर पर्खेको, अवस्य म फोहरको डिब्बामा फ्याँक्छु नि!') अनी बुझेँ त्यो मोरो लुरे कुकुरले हिँड्दाहिँड्दै बाटइमा बिस्ट्याएछ र लुरेकी मालिक्नी नदेखेझैँ अगाडि लम्किछन् ,,त्यो कृत्य कार हांक्दैगरेकी ठिटिले देखिछ र झपारिछे। हुनसक्छ कसैले नदेखेको भए त लुरेकी मालिक्नी फुत्किन्थी नै तर अफसोस कसैले देख्यो र टिपेर अलिक परको फोहर बाकसमा फालिन।
म सरासर हुलाक पुगेर आफ्नो पोस्ट बक्स खोलेँ अनी भएजतिको कागजपत्री बोकेर फर्किएँ । तर मेरो मनमा कुकुरको आची बटुल्ने ठिटो, बाटोमा बिस्ट्याउने लुरे कुकुर, उसकी मालिक्नी र कारकी ठिटी पालैपालो झुत्ती खेलिरहे।
-जेल पोतेर कपाल चुच्याएको ठिटो जो कुकुरको आची टिप्ने काम गर्छ तर उसको अनुहारमा कुनै ग्लानी, शरम छैन। बिन्दास आफ्नो काम गरेकोछ ,,बाइकमा उडेको छ। कमाइ गरेको छ। के म नेपालमै यसरी कुकुरको आची बटुल्ने काम आत्मसम्मान पूर्वक गर्न सकुँला!! अहँ मुस्किल छ। हाम्रोमा काम काम नै हो भनेर कर्मप्रती सम्मान गर्ने सभ्यताको बिकास भएकै छैन। हामी धनमा अवस्य गरीब छौँ। सोचमा झन धेरै कंगाल छौँ।
-कारमा सुइँकेर आउने त्यो गोरी ठिटी जसले लुरेकी मालिक्निलाई झपारी ,के हाम्रोमा त्यसरी सही कुरोमा सही समयमा कुरा उठाउने हिम्मत कसैमा छ?? म आँफैंमा छ?? अहँ छैन। मलाई मात्र किन टाउको दुख्नु!! फेरी उसै अर्काको झापार खानु छ र! तैँ टिप्न त ,त्यती सफाइको चासो भए! भनेर कन्पारो तताइभने बित्थामा। किनकी हामी आफुकेन्द्रित छौँ । सबैको भलाई सोच्ने न त फुर्सद छ न संस्कार नै। फेरी भन्नै परेपनी अन्तै पुगेर अरु सँगइ उसका बद्ख्वाइँ गर्ने हो,, सामुन्नेमा बोल्ने हिम्मतको बिकास हामीमा भएकै कहाँ छ र!
-नम्र भएर आफ्नो गल्ति स्विकार्दै सफा गर्ने ति महिलाको झैं सभ्यता हामी देखाउँला!! म देखाउन सकुँला!! अहँ किन देखाउने!! त्यो बाटो त्यो गोरिको बाउको हो? त्यसलाई के मत्लब, चाहे त्यो पनि आफ्नो कुकुर ल्याएर हगाओस् ,,,नत्र आँफै सफा गह्रोस् न साह्रै टाउको दुखेको भए! --किनकी हामीमा सरसफाइ सामाजिक श्वासथ सम्बन्धी नियम अवस्य बनेका होलान् तर व्यबहारमा प्रयोग हुने परिपाटी कहिल्यै बनेन। अझै भनुँ श्वासथ जस्तो सबेदनशिल सवालमा सुधार आउन नागरिक स्वयँ सचेत र जिम्मेवारबोधी हुनुपर्छ ,,जहाँ एकले अर्कोलाई सचेत गराउँदै जाँदा नागरिकको सचेतताका अगाडि सरकारले तर्जुमा गर्ने हरेकखाले साना ठुला नितिनियम संधै सफलतम झुक्छन्।

ए बाबा! हामी त्यती अज्ञानी छौँ त! बाटघाटा, तालतलैया ,सार्बजनिक स्थलमा बिस्ट्याउँदा सबैको स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने पनि जान्दैनौ त! अवस्य जान्दछौँ तर एउटाले बिष्ट्याएको थुप्रोको छेउमा नाक थुनेर अर्कोले बिसर्जन गर्दै अली पर पुगेर सचेतनाको ढ्वाँग फुक्न उद्ध्यत छौँ हामी। कुकुरको बिष्टा टिपेर फाल्ने त निक्कै परको कुरा हो।
प्रसंग सानो हो तर बिकाशित र अभाबग्रस्त मुलुकमा हुने स-साना भेद मध्य यो एक भेद के तितो सत्य होइन र!!???

 
साहित्यसंसार